स्टसर सेमिफाइनलमा

टोकियो, १२ असोज । दुईपटककी विजेता मारिया सारापोभालाई पराजित गर्दै समन्था स्टसर पान प्यासिफिक ओपन टेनिसमा सेमिफाइनल पुगेकी छन् । पाँचवटा ग्रान्डस्लाम जितेकी रसियन सारापोभाविरुद्ध स्टसर ६–४ र ७–६ ले विजयी भइन् ।
दोस्रो सेटमा ५–३ को अग्रता लिए पनि स्टसरले खेल जित्न टाइब्रेकरसम्म पुग्नुपरेको थियो । नाडिया पेट्रोभा र साविक विजेता अग्निएस्का राड्वान्स्का पनि सेमिफाइनल प्रवेश गरेका छन् । पेट्रोभाले रोमाञ्चक खेलमा सारा एरानीलाई ३–६, ७–५ र ६–३ ले पराजित गरिन् । दोस्रो सेटमा ४–१ ले पछि परे पनि रसियन पेट्रोभाले सानदार पुनरागमन गरेकी थिइन् । सेमिफाइनलमा स्टसर र पेट्रोभाबीच प्रतिस्पर्धा हुने छ ।
पूर्वविश्व नम्बर–१ क्यारोलिन वोज्निएकीलाई हराउँदै पोलिस राड्वान्स्का सेमिफाइनल प्रवेश गरेकी हुन् । डेनिस खेलाडी वोज्निएकी ६–४ र ६–३ ले पराजित भएकी हुन् । अर्को सेमिफाइनलमा राड्वान्स्काले एन्जेलिक कर्बरको सामना गर्नेछिन् । कर्बरले शीर्ष वरीयताकी भिक्टोरिया अजारेन्काबाट वाकओभर पाएकी हुन् ।
सारापोभाले पछिल्ला ११ खेलमा दोस्रोपटक हार व्यहोरेकी हुन् । सन् २००५ र २००९ मा सारापोभाले यस प्रतियोगिताको उपाधि जित्न सफल भएकी थिइन् । ‘उनले स्थिर प्रदर्शन गरिन् । यस नतिजाप्रति म दु:खी छु तर यस्ता नतिजाबाट सिक्नुपर्छ र अगाडि सुधार गर्नुपर्छ,’ सारापोभाले हारपछि प्रतिक्रिया दिइन् ।
बेलारुसकी अजारेन्काले नाम फिर्ता लिएकी छन् । तेस्रो चरणमा इटालीकी रोबर्टा भिन्चीलाई पराजित गरेको एक दिनपछि अजारेन्काले यस्तो निर्णय लिएकी हुन् ।
बेलारुसी यी चर्चित स्टारले बिहीबार क्वार्टरफाइनलमा जर्मनीकी एन्जेलिक कर्बरविरुद्ध खेल्ने कार्यक्रम थियो । युएस ओपनको फाइनलमा सेरेना विलियम्सविरुद्ध खेलेयता पहिलो प्रतियोगिता खेल्ने क्रममा अजारेन्काले नाम फिर्ता लिनुको कारण अस्वस्थता रहेको बताएकी छन् । अजारेन्काले ब्लडप्रेसरमा समस्या भएको बताइन् । जापान ओर्लिएयता आफ्नो स्वास्थ्यमा समस्या उत्पन्न भएको अजारेन्काको भनाइ छ ।

प्रतिक्रिया