चोरीतस्करीका गाडीको स्वरूप मिलाउने घरमा छापा

बुटवल, १२ असोज । चोरी र तस्करी गरिएका गाडीको स्वरूप मिलाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलका विभिन्न स्थानबाट चोरी र तस्करी गरिएका गाडीको इन्जिन र चेसिस नम्बर मिलाउने गिरोह पक्राउ परेको हो ।
पछिल्लो समय चोरीका गाडी नियन्त्रणमा रहेको प्रहरीले करिब तीन दर्जन सवारीसाधन नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाएको थियो । गत महिनाबाट प्रहरीले सञ्चालन गरेको अभियानमा प्रहरी कर्मचारी नै संलग्न भेटिएपछि केही आलोचित बनेको प्रहरी फेरि सक्रिय भएको हो ।
प्रहरीले बुटवल–५ चिडियाखोलामा भैँसीको मासुको कारोबार गर्दै आएका शरण शाहीको घरको तल्लो भागमा रहेको भूमिगत कोठा खानतलासी गर्दा २२ वटा गाडीका इन्जिन र ७ वटा गाडी भेटिएको हो । प्रहरीले शाहीले लामो समयदेखि आफ्नै घरको भुइँतलामा अवैध कारखाना सञ्चालन गरेको अनुसन्धानमा देखिएको बताएको छ । शाहीको कोठाबाट प्रहरीले गाडीका इन्जिन नम्बर, चेसिस नम्बर परिवर्तन गर्न प्रयोग गरिने अंक र अक्षर कुदिएका एक सयभन्दा बढी डाइ बरामद गरेको छ ।
प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शाही फरार भएपछि घटनाका सहयोगी भएको भन्दै शाहीकी पत्नी दीपालाई नियन्त्रणमा लिएर एक साताभित्र पतिलाई उपस्थित गराउने सर्तमा छोडेको छ । शाहीको घरमा प्रहरी अधिकृतसहित केही सिपाही नै राखेर आफ्नो निगरानीमा राखेको प्रहरी कार्यालयले बताएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दीपक थापाले शाहीले घर बनाउँदा नै घरको डिजाइन तस्करी गर्ने उद्देश्यले नै बनाएको हुन सक्ने देखिएको बताए । शाहीको घरको बनावट हेर्दा एकैपटक १५ वटासम्म जिप–कार राख्न मिल्ने देखिन्छ ।
शाहीको घरको भूमिगत कोठामा
लु १ ज ३६५, लु १ च १७०५,
लु १ च १४४४, लु १ ज ९९९,
लु १ च ११८५, वा २ च ७०९८ र एउटा नम्बरप्लेट नभएको अवस्थाका गाडी थिए । कुनै पनी गाडीमा इन्जिन र गियरबक्स नभएको प्रहरीको अनुसन्धान टोलीले जनाएको छ ।
शाहीको घरभित्रै विभिन्न सवारीसाधनका साथै सवारीसाधनमा प्रयोग भएका टायर, टायरका डिस र अन्य सवारीसाधनका पाटर््सलगायत लाखौँका मोटरपाटर््स तथा उपकरण फेला परेको प्रहरीको भनाइ छ । त्यस्तै गाडी काट्न प्रयोग हुने इलेक्ट्रिक वेल्डिङ मेसिन र अन्य उपकरणसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीले यस क्षेत्रमा हुने चोरीका गाडीको कारोबारको मुख्य थलो शाहीकै घर भएको हुन सक्ने अनुमान लगाएको छ ।
प्रहरीले बुटवल र आसपासका सडकमा गुडेका सवारीसाधन नियन्त्रणमा लिएको तर गाडीको स्वरूप तथा इन्जिन नम्बर र चेसिस नम्बर परिवर्तन गर्नेलाई भने चासो नगरेको आरोप लाग्दै आएका बेला प्रहरीले उपकरणसहित संलग्नलाई गिरफ्तार गरेको हो ।

प्रतिक्रिया