नेपालगन्जमा सुनसान रूपैडिहामा भिडभाड

नेपालगन्ज, ११ असोज । दसैँ र तिहार नजिकिएपछि नेपालगन्जसँग जोडिएको भारतको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्ने नेपालीको घुँइचो लाग्ने गरे पनि नेपालगन्जको बजार भने सुनसान छ ।

रुपैडिहाका हरेक पसलमा नेपाली ग्राहकको भिड लाग्ने गरेको छ । तर, नेपालगन्जका पसलमा भने ग्राहक अभावमा व्यापारसमेत हुन छाडेको छ । अहिले लत्ताकपडा तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने व्यक्तिले रुपैडिहा बजार भरिभराउ छ । रुपैडिहाको ठूलो मानिएको रामदूत कलाथ स्टोरका सञ्चालक रामचन्द्र अग्रवालले अहिले दैनिकजसो सयाँै नेपाली ग्राहक आइरहेको बताए ।
‘हमीलाई अहिले खाना खानसमेत फुर्सद छैन,’ अग्रवालले भने, ‘हाम्रा लागि त यो दसँै मात्र होइन महादसँै हो ।’ रुपैडिहा बजारमा करिब एक सय पसल छन् । जसमध्ये दुई दर्जनजति ठूला पसल रहेका छन् । एउटा पसलले एक दिनमा करिब पाँच लाखसम्म कारोबार गर्ने गरेको स्थानीय व्यापारी बताउँछन् । अन्य ठाउँभन्दा सस्तो मूल्यमा सामान पाइने तथा विश्वसनीय भएका कारण नेपाली ग्राहक नेपालगन्ज छाडेर यहाँ आउने गरेको व्यापारी अग्रवाल बताउँछन् । शान्ति डिपार्टमेन्ट स्टोर रुपैडिहाको अर्काे सबैभन्दा ठूलो पसल हो, जहाँ दैनिक १० लाखको बराबर कारोबार हुने गर्छ ।
नेपालगन्जबाट रिक्सा, टाँगा तथा साइकल र मोटरसाइकलमा ६ किलोमिटरको दूरी पार गरेर रुपैडिहा बजारमा किनमेल गर्न ग्राहक जाने गर्छन् । यहाँ दाङ, सुर्खेत, बर्दियाबाट पनि मालसमान किनमेल गर्न आउने गरेको व्यापारी बताउँछन् ।
नेपाली ग्राहकलाई आर्कषित गर्न रुपैडिहाका व्यापारीले राम्रो व्यवहार गर्दै आएका छन् । सोही कारण सँधै रुपैडिहामै सामान किन्न आउने गरेको स्थानीय गीता खनालले बताइन् । खनालका अनुसार सस्तो मूल्यमा सामान पाइने भएकाले यसक्षेत्रमा ग्राहकको आकर्षण बढेको हो ।
सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकबहादुर रानाले चाडपर्वक कारण किनमेल गर्न रुपैडिहा बजारमा जाने नेपालीको आवतजावत निकै बढेको बताए । उनले भने, ‘एकछिन पनि सडक खाली हुँदैन, भिडको भिड हुन्छ, ट्राफिक जाम भएर हैरानै हुन्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपालगन्ज व्यवसायी दामोदर आचार्यले सुरुदेखि नै नेपाली ग्राहक रुपैडिहा आउने बानी परेकाले किनमेलका लागि उतै जाने गरेको बताए । जसले गर्दा नेपाली ठूलो रकम बाहिरी जाने हुनाले त्यो रोक्न जरुरी रहेको उनको भनाइ छ । ‘नेपालगन्जमै गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने थाहा पाउँदापाउँदै रुपैडिहा जाने गरेको देखिन्छ,’ आचार्यले भने, ‘अरू त अरू सरकारी कार्यालयका हाकिम पनि त्यहीँ जाने गर्छन् ।

प्रतिक्रिया