पुलिसविरुद्ध बौद्ध क्लबको बराबरी

काठमाडौं, ९ असोज । राजधानीमा जारी एनसेलकप फुटबल प्रतियोगितामा बौद्ध क्लबले नेपाल पुलिसलाई सोमबार १–१ ले बराबरीमा रोकेको छ । पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गरेको बौद्धका लागि पुलिसविरुद्ध अंक दिलाउने क्रममा सुविन श्रेष्ठले बराबरी गोल फर्काएका थिए । पहिलो हाफको इन्जरी समयमा पछि परेको बौद्धका लागि सुविनले ५२औँ मिनेटमा डी–बक्सभित्र अनमाक्र्ड स्थितिमा हेडमार्फत गोल गरेका थिए ।
६७औँ मिनेटमा पुलिस दोस्रोपटक अग्रताको नजिक पुगे पनि मिडफिल्डर योगेश श्रेष्ठले डी–बक्सबाहिरबाट गरेको सशक्त प्रहार बौद्धका गोलकिपर रञ्जित गुरुङले आकर्षक डाइभ गर्दै बल साइडबारभन्दा बाहिर फालेका थिए । जावलाखेलविरुद्धको खेलमा पनि प्रभावशाली प्रदर्शन गरेका रञ्जितले ७६औँ मिनेटमा पुन: राम्रो बचाउ गरे । पर्वत पाण्डेले गरेको कर्नर प्रहारमा उनीद्वारा कठिनरूपमा क्लियर भयो । राष्ट्रिय लिग र ए डिभिजन लिगविजेता पुलिसविरुद्ध बौद्धले सुरुदेखि नै राम्रो प्रदर्शन गरेको थियो । थ्री–स्टारका पूर्वस्ट्राइकर सुविनसहित कप्तान–डिफेन्डर सुसन लामा, यु–१६ राष्ट्रिय टोलीका विंगर सुमन लामा, गोलकिपर रञ्जित र बुद्ध लामाको गतिलो प्रदर्शनबाट प्रेरित बौद्धले खेलको पहिलो मुभ आफूले बनाएको थियो ।
१२औँ मिनेटमा पुलिसका डिफेन्डर रोशन कार्कीले कठिनरूपमा क्लियर गर्न खोजेको बल रिबाउन्ड हँुदा सुविनले गरेको सशक्त प्रहार साइडबारको नजिकैबाट गएको थियो । ३३औँ मिनेटमा पुलिसका पर्वतले गरेको राम्रो प्रहार बौद्धका गोलकिपर रञ्जितले विफल तुल्याए । ३८औँ मिनेटमा बौद्धका सुमनले ड्रिबलिङ गर्दै पुलिसका दुई डिफेन्डरलाई कटाएर बायाँ खुट्टाले गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिरिन पुग्यो । ४३औँ मिनेटमा पुलिसका रविन श्रेष्ठले राम्रो क्रस निकाले पनि जुमानु राई बलसम्म नपुग्दै बौद्धका गोलकिपर रञ्जितले क्लियर गरिसकेका थिए । ४०औँ मिनेटमा घाइते भएका रञ्जितले दुई मिनेट थपिएको पहिलो हाफको इन्जरी समयमा दुईवटा संकट सामना गर्नुपर्‍यो । तर सिटी बज्नु केही सेकेन्डअघि व्यहोरेको संकट भने उनले सामना गर्न सकेनन् । पर्वत पाण्डेले इन्जरी समयमा गरेको कर्नर प्रहारमा जुमानुले हेड गर्दै बललाई गोलपोस्टको दिशा दिए पनि रञ्जितले त्यसलाई बाहिर पठाएका थिए । लगत्तै पाण्डेले नै गरेको कर्नर प्रहारमा दीपेन्द्र पौडेलले हेडमार्फत गरेको प्रहारलाई यसपटक भने रञ्जितले गोल हुनबाट रोक्न सकेनन् ।
विगतमा राम्रो प्रदर्शन गर्नुका बाबजुद नतिजा आफ्नो पक्षमा पार्न नसक्ने टोलीका रूपमा परिचित बौद्धले यसपटक भने अर्जुन श्रेष्ठको प्रशिक्षणमा राम्रो प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा पुलिसले सरस्वतीलाई हराएको थियो । अन्तिम खेलमा पुलिसले जावलाखेल र बौद्धले सरस्वतीको सामना गर्नेछ । समूहमा पुलिस र बौद्ध दुवैको समान चार अंक छ । जावलाखेलको एक अंक छ भने सरस्वतीले खाता खोल्न सकेको छैन ।
यता सोमबार नै भएको अर्को खेलमा पुकार गहतराजको निर्णायक गोलमा बाँसबारीलाई २–१ ले पराजित गर्दै हिमालयन शेर्पाले पहिलो जित दर्ता गर्‍यो । पहिलो खेलमा पराजित हिमालयनका लागि पुकारले दुवै गोल गरेका थिए । खेल बराबरीतर्फ धकेलिरहेका बेला पुकारले ८२औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई सदुपयोग गर्नबाट पुकार चुकेनन् । बाँसबारीका सुवास लिम्बूले डी–बक्सभित्र गणेश खड्कालाई लडाएपछि हिमालयनले जितको गोल्डेन अवसर पाएको थियो । दोस्रोपटक अग्रता लिएलगत्तै हिमालयनले अर्को राम्रो प्रहार गरे पनि बाँसबारीका गोलकिपर अजित प्रजापतिले आकर्षक बचाउ गरे । गणेशले डी–बक्सभित्र निकालिदिएको क्रसमा दिनेश कार्कीले हेडमार्फत गरेको सुन्दर प्रहार अजितले सफल हुन दिएनन् । दोस्रो हाफको इन्जरी समयमा बाँसबारी बराबरीमा आइपुग्ने स्थिति देखिए पनि हिमालयनका गोलकिपर विनय श्रेष्ठले विपक्षीलाई निराश पारे । फ्लान्कबाट देवराज श्रेष्ठले निकालेको क्रसमा डी–बक्सभित्र रहेका विशाल तामाङले बल फ्लिक गरे पनि टाइट एंगलमा गएको बल विनयले सुन्दर बचाउ गर्दै गोल लाइट कट्न दिएनन् । १४औँ मिनेटमा हिमालयन राम्रो मुभमा देखिए पनि गणेशले तालमेल मिलाउन सकेनन् । तर २४औँ मिनेटमा भने हिमालयनले अग्रता लिएर छाडयो । पुकारले डी–बक्सबाहिरबाट गरेको सशक्त प्रहार बाँसबारीका गोलकिपर अजितले गोल हुनबाट रोक्न सकेनन् । अजितले राम्रो डाइभ गरी बल रोक्ने प्रयास गरे पनि त्यो विफल भयो । ३१औँ मिनेटमा हिमालयन अर्को पनि गोल गर्ने अवसरमा देखिएको थियो तर गणेशको पासमा १० यार्डबाट जाङ्बु शेर्पाले गरेको प्रहारले गोलपोस्टको फ्रेम समात्न सकेन ।

प्रतिक्रिया