बाँके लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’

नेपालगन्ज, ९ असोज । बाँके लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । लागुऔषधका कारोबारीले विदेशबाट लागुऔषध भित्र्याउने र यहाँबाट अन्य देशमा लैजान सजिलो नाकाका रूपमा बाँकेलाई प्रयोग गरिरहेको पाइएको छ ।

भारतसँग सीमा जोडिएका बाँकेका सीमावर्ती गाविसबाट मात्र होइन, मुख्य नाका जमुनाहबाटसमेत लागुऔषध भित्र्याउने र बाहिर लैजाने काम भइरहेको प्रहरी अनुसन्धानमा देखिन्छ । प्रहरी स्रोतका अनुसार बाँकेबाट लागुऔषध, चरेस भारत पठाइन्छ भने त्यहाँबाट सोही नाका प्रयोग गरी ब्राउनसुगर, ट्याब्लेट र इन्जेक्सन नेपाल भित्र्याइन्छ ।
जमुनाहा नाका हुँदै भारत लैजान लागेको चरेससहित सातामा कुनै न कुनै दिन नेपाली भरिया सीमावर्ती बजार रुपैडियामा पक्राउ पर्ने गरेका छन् । गत शनिबार मात्र एकै दिन पाँच नेपालीलाई २९ केजी चरेससहित रुपैडियामा भारतीय प्रहरीले पक्राउ गर्‍यो । ठूलो परिणामको चरेससहित पक्राउ परेका दाङका हर्क रावल, सरिता रोका, धनमाया घर्तीमगर, रुकुमका टेकबहादुर बुढामगर र रविना मगरलाई थप कारबाहीका लागि बहराइच जिल्ला कारागार पठाइएको छ ।
गत वर्ष यसरी भारत पठाइन लागेको झन्डै एक क्विन्टल चरेससहित ७० नेपालीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरिसकेको छ । जसमध्ये २८ महिला त अहिले पनि जिल्ला कारागार बहराइचमा सजाय भोगिरहेका छन् । पक्राउ परेका सबै नेपाली भरिया हुन् । केही पैसा दिन प्रलोभन देखाएर चरेस कारोबारीले महिला, वृद्धवृद्धालाई भरियाका रूपमा प्रयोग गरिरहेका छन् ।
नेपालगन्ज हुँदै मध्यपश्चिमका पहाडी जिल्लादेखि राजधानी काठमाडौंसम्म लागुऔषध ओसारपसार भइरहेको प्रहरी स्रोतले बताएको छ । त्यसैगरी, यहाँबाट भारत र तेस्रो मुलुकसम्म लागुऔषध जाने गरेको अनुसन्धानमा खटिएका प्रहरीले बताए ।
प्रहरीका अनुसार तस्करले रुकुम र रोल्पाबाट ल्याएको चरेस दाङको तुल्सीपुर र घोराहीमा भण्डारण गरेर राख्ने गर्छन् । त्यहाँबाट अनुकूल मिलाएर बाँकेको कुसुम र आसपासका गाविसमा पुर्‍याई भारतको बहराइच पुर्‍याइने गरिएको छ । त्यसैगरी, सुर्खेतको बाटो भएर चरेस तस्करी गर्दा कोहलपुरमा भण्डारण गरिने गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कोहलपुर भण्डारण गरिएको चरेसलाई नेपालगन्जसँग जोडिएको राँझा पुर्‍याई नेपालगन्ज हुँदै भारतीय बजार रुपैडिया पुर्‍याउने गरिएको छ । तस्करले पैसाको प्रलोभनमा पारेर सर्वसाधारणमार्फत चरेस भारतको बहराइचसम्म पुर्‍याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बहराइचबाट भारतको सिमला, गोवालगायत सहरमा तस्करी हुने गरेको दाबी गरेका छन् । चरेसको तस्करी गर्ने गिरोहका सदस्य रोल्पादेखि भारतको गोवा, सिमलासम्म परिचालित भएको प्रहरीको दाबी छ । लागुऔषधको कारोबार नियन्त्रण चुनौतीपूर्ण बनेको मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी पार्वती थापाले स्विकारेकी छन् ।
प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांकले पनि यस क्षेत्रमा लागुऔषधको धन्दा घट्ने भन्दा बढ्दै गइरहेको देखाएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो तीन वर्षमा यस विकास क्षेत्रअन्तर्गतका विभिन्न जिल्लाबाट दुई सय ८४ लागुऔषधका कारोबारी पक्राउ परेका थिए । आर्थिक वर्ष ०६६/६७ मा ६१, आर्थिक वर्ष ०६७/६८ मा ९१र चालु आर्थिक वर्षमा एक सय ३२ कारोबारी पक्राउ परेका थिए ।
लागुऔषध नियन्त्रणका लागि भइरहेका कार्यप्रगति सार्वजनिक लागुऔषधको सञ्जाल तोड्न कठिन भइरहेको मध्यपश्चिमकी प्रहरी प्रमुख डिआइजी पार्वती थापाले बताइन् । ‘लागुऔषध नियन्त्रणका लागि प्रचारात्मकदेखि कानुनी कारबाहीका काम गरिरहेका छौँ,’ डिआइजी थापाले भनिन्, ‘तैपनि नियन्त्रण गर्न कठिन भइरहेको छ ।’

प्रतिक्रिया