परीक्षामा सहभागी नगराएको भन्दै कलेज तोडफोड

विराटनगर, ९ असोज । यती मल्टिपल कलेज विराटनगरले बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई कलेजको शुल्क नतिरेको भन्दै अन्तिम वर्षको परीक्षा दिनबाट वञ्चित गराएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले आइतबारदेखि सुुरु भएको व्यवस्थापन संकायअन्तर्गत स्नातक तह
(बिबिएस) तेस्रो वर्षको परीक्षामा शुल्क नतिरेको भन्दै दीपेन्द्र चौधरीलाई परीक्षा दिनबाट रोक लगाएको हो । आइतबार बिहान परीक्षाका लागि प्रवेशपत्र लिन पुगेका चौधरीलाई क्याम्पस प्रशासनले शुल्क नबुझाए परीक्षा दिन नपाउने भन्दै प्रवेशपत्र दिएन । त्यसपछि परीक्षा केन्द्र तोकिएको विराटनगरकै अन्नपूर्ण कलेज गएर केन्द्राध्यक्षलाई आग्रह गर्दासमेत आफूलाई परीक्षा दिनबाट वञ्चित गराइएको चौधरीले बताए । उनले घरको आर्थिक अवस्था कमजोर भएका कारण आफूले कलेजको शुल्क समयमा तिर्न नसकेको बताए । उनले बिबिएस पहिलो र दोस्रो वर्षको पूरै शुल्क तिरे पनि तेस्रो वर्षको १० हजार रुपियाँ तिर्न बाँकी रहेको कलेजका क्याम्पस प्रमुख नीरज कोइरालाले बताए ।
कोइरालाले प्रवेशपत्र लिन आएका चौधरीसँग एक/दुई हजार मात्रै भए पनि लिएर आएमा परीक्षामा सहभागी हुन दिने बताए पनि सभ्य तरिकाले प्रस्तुत नभएको आरोप लगाएका छन् । ‘आंशिक रूपमा एक/दुई हजार मात्रै भए पनि लिएर आऊ, परीक्षामा सहभागी हुन दिन्छु भनेको थिएँ,’ कोइरालाले भने, ‘पैसा लिन जान्छु भनेर गएका तर साथी ल्याएर क्याम्पसमा तोडफोड गरे ।’
कोइरालाका अनुसार चौधरीले लिएर आएका नेविसंघका कार्यकर्ताले कलेजको प्रशासन कक्षमा तोडफोड गर्नुका साथै शिक्षक तथा कर्मचारीमाथि कुटपिट गरेका छन् । ‘म, कलेजका शिक्षक पर्शुराम घिमिरे र लेखा शाखाका प्रमुख विनोद निरौलामाथि हातपात गरे,’ उनले भने । तोडफोडबाट क्याम्पस प्रशासनको झ्यालका सिसा तथा टेबुल–कुर्सीमा क्षति भएको छ । सभ्य तरिकाले प्रस्तुत भएका भए एक/दुई हजार रुपियाँ नल्याए पनि कलेजले परीक्षा दिलाउँथ्यो तर उनीहरू असभ्य भएर प्रस्तुत नभएकाले परीक्षा दिनबाट वञ्चित गरिएको उनले बताए ।
कलेज तोडफोडमा संलग्न नेविसंघका कार्यकर्तामाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गराउन उजुरी दिने प्रक्रियामा रहेको बुझिएको छ । नेविसंघका केन्द्रीय सदस्य प्रमेश पोखरेलले चौधरीलाई परीक्षामा सहभागी हुन पाउने वातावरण मिलाइदिन आग्रह गर्न जाँदा कलेजले आफूहरूमाथि दुव्र्यवहार गरेको बताए । उनले भने, ‘आर्थिक समस्याका कारणले पढ्न नसक्ने विद्यार्थीलाई परीक्षामा सहभागी गराउन माग गर्दै गएको संघका पदाधिकारीमाथि नै क्याम्पस प्रशासनले दुव्र्यवहार गरेपछि घटना भएको हो ।’
शुल्क बुझाउन नसक्ने विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नपाइने उनको तर्क छ । आफूहरू सहज ढंगले कुरा गर्न जाँदा क्याम्पस प्रमुख कोइरालाले चौधरीले पढ्नै सक्दैन भन्ने जस्ता गैरजिम्मेवार कुरा गरेको पनि पोखरेलको आरोप छ ।
यसैबीच, नेपाल विद्यार्थी संघ क्याम्पस इकाइ कमिटीले यती मल्टिपल कलेज विराटनगरले बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी दीपेन्द्र चौधरीलाई कलेजमा सञ्चालन भएको तेस्रो वर्षको अन्तिम परीक्षामा सामेल हुनबाट रोक लगाइएको भन्दै भत्र्सना गरेको छ । सोमबार विज्ञप्ति प्रकाशन गर्दै विद्यार्थी चौधरीले क्याम्पसमा केही शुल्क नबुझाएको विषयलाई लिएर परीक्षामा सामेल हुनबाटै रोक लगाइएको भन्दै विरोध गरेको हो ।

प्रतिक्रिया