रङ नम्बरले धुर्मुसलाई हैरानी

काठमाडौं, ८ असोज । करिब डेढ वर्षअघिको कुरा हो । सीताराम कट्टेल धुमुर्सले पोस्टपेड मोबाइल लिएका थिए । एक दिन एक्कासि उनलाई कसैले कल गर्‍यो अनि भन्यो, ‘सर, एउटा मोटरसाइकल भेटियो के गरूँ ।’ धुर्मुस अक्क न बक्क परे । अनि सम्हालिएर भने, ‘तपाईंले कसलाई फोन गर्नुभएको ?’ उताबाट उत्तर आयो, ‘तपाईं डिएसपी धानुक हैन ?’ धुर्मुसले आफू डिएसपी नभएको स्पष्टीकरण दिए । तर, यो प्रसंग त्यत्तिकै रोकिएन । डिएसपी धानुकलाई खोज्ने अरूले पनि धुर्मुसको मोबाइल बजाइरहे । ‘खासमा के भएको रहेछ भने ती डिएसपी र मेरो मोबाइल नम्बरबीच एउटा नम्बर मात्र फरक रहेछ, ९७ र ९८ को । मैले बोकेको मोबाइल ९८ वाला थियो । मानिसहरूले झुक्किएर ९८ थिच्दा मलाई फोन आउँदो रहेछ,’ धुर्मुसले कारण खोले ।
त्यही घटनाको भोलिपल्ट अर्को फोन आयो । एउटी महिलाको स्वर आयो, ‘डिएसपी साप, त्यो मान्छेले मलाई जाँड खाएर कुट्यो ।’ धुर्मुसलाई पनि जे त होला भन्दै जोक्स गर्ने सुर चढेछ त्यस दिन । अनि, डिएसपीकै शैलीमा भनिदिएछन्, ‘आज त्यसलाई छाड्दिनू, भोलि पनि त्यसै गर्‍यो भने ठीक पारौँला ।’ भोलिपल्ट फेरि ती महिलाले फोन गरिन्, ‘आज त झनै साह्रो गरी पिट्यो डिएसपी साप, लौ न केही गर्नुपर्‍यो ।’ त्यसपछिचाहिँ धुर्मुसले आफू डिएसपी नभएको बताइदिए । ती वास्तविक डिएसपीचाहिँ त्यति खेर काभ्रे जिल्लामा कार्यरत रहेको सुइँको धुर्मुसले पाएछन् ।
रङ नम्बरको यो शृंखला अहिले पनि जारी रहेको धुर्मुस सुनाउँछन् । भन्छन्, ‘अहिले पनि दैनिक
चार–पाँचजना उजुरीकै लागि फोन गरिरहेका हुन्छन् ।’ विशेष गरी डिएसपीका समकालीन साथीहरूले बढी फोन गर्ने गरेको उनलाई लाग्छ । ‘किनकि,
उनीहरू तँतँ र मम गरेर कुरा गर्छन्, म तिमीहरूको साथी होइन भन्दा पनि पत्याउँदैनन् ।’
एकचोटि कुनै विशिष्ट व्यक्तिको सवारी हुने दिन रहेछ । कुनै दैनिक पत्रिकाका पत्रकारले फोन गरेर सोधेछन्, ‘आजको सवारी अनि सुरक्षा व्यवस्थाबारे जानकारी दिनुपर्‍यो ।’ साह्रै भएपछि धुर्मुसलाई ती डिएसपी को रहेछन् त भनेर जान्न मन लागेछ । उनको खास नाम रवीन्द्रसिंह धानुक रहेछ । दिन त प्रहरी हेडक्वार्टरबाटै उनलाई ‘धानुकजी’ भन्दै फोन आएछ । आफू धानुकजी होइन भनेर हेडक्वार्टरलाई बुझाउन पनि गाह्रो परेको उनले सुनाए । एक दिन एक प्रहरीले नै फोन गरेर सोधेछन्, ‘साप, ५० हजार रुपियाँ दिन्छु भन्छ, के गरौँ ?’ धुर्मुसले ती प्रहरीलाई पैसा नलिन आग्रह गर्दै आफू डिएसपी नभएको बताएछन् । करिब पाँच महिनापछि धुर्मुसले आफ्नो समस्याबारे ती डिएसपीलाई फोन गरेर सुनाएका पनि हुन् रे † तर उनले कुनै वास्ता गरेनन रे †
ती डिएसपी काभ्रे जिल्लाबाट सरुवा भएर हनुमानढोकामा आएपछि फोन आउने क्रम अझ बढेको र यस्ता फोन राति बढी आउने धुर्मुस सुनाउँछन् । धेरै जसोले अपराधी छुटाइदिन अनुरोध गर्छन् रे † ‘कतिचोटि म फलानो माननीय मन्त्री बोलेको भन्दै नेताहरूको
पनि फोन आउँथ्यो, कोड भाषामा कुरा गर्थे, उनीहरू पनि अपराधी छुटाउन आग्रह गरिरहेका हुन्थे,’ धुर्मुस सम्झन्छन् ।
हुँदाहुँदा गायक रामकृष्ण ढकाल पनि झुक्किएछन् । धुर्मुसलाई फोन गरेर भनेछन्, ‘डिएसपी धानुक †’ उति बेला इटहरी महोत्सवमा धुर्मुस र ढकालसँगै थिए । धुर्मुसले सुनाए, ‘रामकृष्ण दाइको नम्बर मेरो मोबाइलमा सेभ थियो तर मैले म धानुक होइन, सीताराम हुँ भन्दा उहाँ चकित खानुभएको थियो, डिएसपी धानुकसँग उहाँको चिनजान रहेछ तर नम्बरचाहिँ मेरो सेभ गर्नुभएछ ।’
विभिन्न कोड प्रयोग गरिएका र प्रशासनिक रूपमा गोप्य र संवेदनशील फोन पनि आउने गरेको धुर्मुस सुनाउँछन् । आफूले रङ नम्बर डायल गरेको थाहा पाउनेहरूले उनलाई धुमुर्स भनेर चिनेपछि फेरि पनि फोन गरेर जिस्क्याउने गर्छन्, ‘तपाईं डिएसपी धानुक हैन ?’

प्रतिक्रिया