थ्री–स्टार र जावलाखेल पराजित

काठमाडौं, ७ असोज । अन्तिम १२ मिनेटसम्म एक खेलाडी बढी भएर खेले पनि थ्री–स्टारले एनसेलकप फुटबल प्रतियोगितामा शनिबार समूहको दोस्रो खेल खेल्ने क्रममा फ्रेन्ड्स क्लबविरुद्ध १–० ले पराजय व्यहोरेको छ  । यस नतिजासँगै पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनसँग बराबरीमा रोकिएको यस ललितपुरे क्लबको समूहचरण पार गर्ने चुनौती पनि कठिन बन्यो ।
पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबसँग ३–२ ले पराजित भएको फ्रेन्ड्सलाई जित दिलाउने क्रममा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । थ्री–स्टारका गोलकिपर किरण चेमजोङले लाइनमा डाइभ गर्दै हेडमार्फत भएको प्रहारलाई पन्च गरे पनि थ्री–स्टारलाई ‘पोजिसन’ नलिँदै प्रकाशले ४३आँै मिनेटमा गोल गरेका हुन् ।
त्यसअघि जगजित श्रेष्ठले प्रहार गरेको कर्नरमा वैकल्पिक खेलाडी विष्णु केसीले हेडमार्फत् बल प्रहार गरे पनि राष्ट्रिय टिमका गोलकिपरसमेत रहेका किरण बल नियन्त्रण गर्न सफल भएनन् । ८७औँ मिनेटमा फ्रेन्ड्सका कप्तान सागर थापा दोहोरो पहँेलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए तापनि त्यसपछि पनि थ्री–स्टारले गोलको खडेरी चिर्न सकेन । यसपछि विवादका कारण केही समय खेल रोकिएपछि दोस्रो हाफमा इन्जरीबापत नौ मिनेट थपिएको समयमा समेत राष्ट्रिय टिमका सदस्यको प्रभाव रहेको थ्री–स्टारले केही गर्न सकेन । अनिल ओझालाई लडाएपछि सागरलाई सोही खेलमा दोस्रोपटक कार्ड देखाइएको हो । सन्तोष साहुखललाई लडाएकोमा पहिलो हाफमा सागरले कार्ड पाएका थिए । इन्जरी समयको चौथो मिनेटमा सन्तोषले डी–बक्सभित्रबाट गरेको प्रहार साइडबारभन्दा टाढाबाट जान पुग्यो ।
दुई विदेशीसहित सन्तोष, विजय गुरुङ, अनिल ओझा, विराज महर्जन, सन्दीप राई, किरण चेमजोङलगायत नाम चलेका खेलाडी थ्री–स्टारको तर्फबाट ओर्लिए पनि विगतमा राजधानीका नकआउट प्रतियोगितामा राम्रो प्रदर्शन गरेको क्लबले जारी प्रतियोगितामा भने खराब प्रदर्शनसँगै उस्तै नतिजालाई निरन्तरता दियो । समूहको अन्तिम खेलमा थ्री–स्टारले एपिएफ र फ्रेन्ड्सले मध्यपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय टिमका कप्तान सागरसहित, जगजित, दीपक भुसाल र निराजन खड्कालाई भित्र्याए पनि यसअघिको पहिलो खेलमा पराजय व्यहोरेपछि फ्रेन्ड्स थ्री–स्टारलाई हराउँदै आफ्नो इज्जत जोगाउने प्रयासमा थियो ।
कप्तान सागर लयबाहिर कायम रहे पनि जगजित, निराजन र दीपकको प्रदर्शन भने यस जितमा उल्लेखनीय रहयो । विगतमा राम्रो क्षमता हुनुका बाबजुद ओझेलमा परेका मिडफिल्डर प्रकाशले निकै राम्रो प्रदर्शन गरे ।
विङ्गरका रूपमा खेलाइएका उनले निकै आकर्षक प्रहारहरू गरे भने उत्तिकै राम्रा क्रस पनि निकालिदिएका थिए । स्ट्राइकर दिवस गुरुङको फिनिसिङ कमजोर देखिएपछि गोल हुनु केही मिनेटअघि मात्र उनलाई निकालेर विष्णुलाई मैदानमा पठाइएको थियो । खेलमा सुरुआतदेखि विपक्षीलाई रोक्दै आक्रामक प्रदर्शन गरे पनि फ्रेन्ड्स विजयको कमजोर प्रहारपछि खेलमा पछि पर्नबाट जोगिएको थियो । डी–बक्सभित्र सन्तोषले अनमाक्र्ड देखिएका विजयलाई बल निकालिदिए पनि उनले बल प्रहार गर्न ढिलो गर्दा फ्रेन्ड्सका युथ गोलकिपर वीरेन्द्र चन्दले अगाडि आएर विपक्षलाई विफल बनाए । नेपाली यु–१६ टोलीका गोलकिपरसमेत रहेका वीरेन्द्र दोस्रो हाफमा केही राम्रो प्रहार आकर्षकरूपमा बचाउन सफल भएका थिए ।
शनिबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लब बौद्धसँग १–० ले पराजित हुँदै खराब सुरुआत गर्न पुग्यो । विगतको भन्दा कमजोर प्रदर्शन गर्नुका साथै ‘फल’ बढी खेलेको जावलाखेल दोस्रो हाफको इन्जरी समयमा पेनाल्टीमार्फत गोल व्यहोर्दै बौद्धलाई अंक सुम्पिन बाध्य भएको हो । यु–१६ राष्ट्रिय टोलीका विंगरसमेत रहेका सुमन लामालाई डी–बक्सभित्र लडाइएपछि इन्जरी समयमा बौद्धले पेनाल्टी अवसर पायो । वैकल्पिक खेलाडी गोविन्द थापाले पेनाल्टी प्रहार गर्दै बौद्धलाई रोमाञ्चक जित दिलाए । यसअघि निर्धारित समयमा बौद्धले राम्रो प्रदर्शन गर्‍यो ।
खेलको सुरुआतमै राज पौडेल गोल गर्ने स्थितिमा देखिए पनि गोलकिपरलाई बिट गरेको उनको प्रहार बौद्धका कप्तान तथा डिफेन्डर सुुसन लामाले क्लियर गरे । लगत्तै जावलाखेल प्रवीण कार्कीले राम्रो क्रस निकालिदिए पनि पुन: अग्रता लिनबाट चुक्यो । पहिलो हाफमा जावलाखेलले थप अर्को अवसर पनि खेर फाल्यो । राज पौडेलको क्रसमा डी–बक्सभित्र अनमाक्र्ड देखिएका कृष्ण शाक्यको फिनिसिङ कमजोर रहयो । दोस्रो हाफमा बौद्धका खेलाडीको प्रहार क्रसबारमा लागेर फर्किएको केही मिनेटपछि नै जावलाखेल लगातार दुई अवसरमा चुक्यो । राष्ट्रिय फुटबलकै उदीयमान स्ट्राइकर सुमनले करिब २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएपछि बौद्ध दोस्रो हाफमै अग्रता लिनबाट रोकिएको थियो ।

प्रतिक्रिया