संविधानसभा विघटन भएको चार महिनापछि प्रमुख दलहरूले राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधानसभाको नयाँ चुनावमा जाने सहमति गरेका छन् । तर, दलहरूबीच त्यस्तो सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद चर्किन थालेको छ । यही सेरोफेरोमा केन्द्रित भएर नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलासित खगेन्द्र पन्तले गरेको कुराकानी :
राजनीतिक निकासका लागि दलहरूको छलफलमा ब्यस्त हुनुहुन्छ । कहाँ पुग्यो सहमतिको प्रयास ?
अहिलेको संवैधानिक वा कानुनी जटिलतालाई अन्त्य गर्दै संविधानसभाको नयाँ निर्वाचनका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने हो । त्यसअघि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ । अहिले त्यही विषयमा छलफल प्रारम्भ भएको छ । अहिलेको सरकार हट्नुपर्यो, यसको सट्टा राष्ट्रिय सहमतिको नयाँ सरकार बन्नुपर्यो । अहिले त्यही विषयमा छलफल भइरहेको छ ।
राष्ट्रिय सहमतिको सरकार बन्नुपर्यो भनेर त सबै दलले भन्न थालेको त धेरै भयो । आखिर कुरा के मा अड्किएको छ ?
एमाओवादीको सत्तालिप्सा नै अहिलेको सबैभन्दा ठूलो समस्या हो । म छोटकरीमा त्यसको उदाहरण दिन्छु । पहिले माधव नेपालजीले राजीनामा दिनुभयो र संविधानसभा बचाउनुभयो । यो समस्या त्यतिबेला पनि आएको थियो । झलनाथजीले पनि राजीनामा दिनुभयो र संविधानसभा बचाउनुभयो । तर, बाबुरामजीले राजीनामा दिएर सरकार बचाउनुभन्दा संविधानसभा विघटन गरेर आफ्नो कुर्सी बचाउनुभयो । निर्वाचनको घोषणा त उहाँले गर्नका लागि गरेको मात्रै हो । संविधानमै व्यवस्था नभएको चुनाव हुन सक्छ भन्ने विश्वासमा चुनाव घोषणा गर्न सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र अन्य दलहरू त्यति मूर्ख छन भन्ने म पत्याउँदिन । १४ जेठको राती १० बजे जसरी सबै राजनीतिक दलहरूको छलफललाई छलेर, सहमतिको बाटोलाई छाडेर, संविधानसभाभित्र प्रवेश नै नगरेर जसरी सरकारले एकलौटी ढंगले निर्वाचनको घोषणा गर्यो, त्यसबाट एमाओवादी नेतृत्व सरकार छाड्न तयार छैन भन्ने प्रस्ट हुन्छ ।
यो सरकार रहेसम्म निर्वाचन त हुँदैन । सरकार हटेपछि मात्रै राजनीतिक र संवैधानिक संकटको समाधान गर्न बाटो खुल्छ । यो सरकारको सट्टा नयाँ राष्ट्रिय सहमतिको सरकार बन्नुपर्यो । त्यो सरकारले राजनीतिक र संवैधानिक संकट समाधान गर्न सक्छ । यो सरकार रहेसम्म दलहरूबीच विश्वासको वातावरण नै बन्दैन । हिजो (शुक्रबार)को वार्तामा केही सकारात्मक कुरा भएका छन् । मधेसी मोर्चा र एमाओवादीका तर्फबाट बैठकमा आउने साथीहरूले यही सरकार रहिरहनुपर्छ भन्ने हाम्रो मान्यता होइन, राष्ट्रिय सहमतिमै सरकार बनाउनुपर्छ भनेर भन्नुभएको छ ।
ब्यवस्थापिका संसद् छैन, राष्ट्रपतिले अहिलेको सरकारलाई कामचलाउ भनेर पत्र नै दिइसक्नुभएको छ । यस्तो अवस्थामा नयाँ सरकार गठनको प्रक्रिया के हुन्छ ?
राजनीतिक दलहरूले सहमति कायम गरेर राष्ट्रपतिजीलाई सिफारिस गर्ने नै हो अहिलेको निकास । मुलुकको आजको राजनीतिक निकास भनेको राजनीतिक सहमति मात्रै हो ।
अनि, चुनावका लागि संवैधानिक र कानुनी अप्ठ्यारा फुकाउने भन्नुभएको छ, त्यसको प्रक्रियाचाँहि के हुन्छ ?
राजनीतिक सहमति भइसकेपछि संवैधानिक प्रबन्ध गर्न सकिन्छ भन्ने मलाई लाग्छ । किनकि हामीसित जुन अन्तरिम संविधान छ त्यसको मूल स्प्रिट, त्यसको कार्यदिशा भनेकै सहमतिसाथ अगाडि जाने र नयाँ संविधान ल्याउने भन्ने हो । जहाँनिर समस्या पर्यो त्यहाँनिर हामीले राजनीतिक सहमित गर्न सक्नुपर्छ । र, राष्ट्रपतिलाई सिफारिस गरिसकेपछि संविधानको बाधा अड्काउ फुकाउने धारा प्रयोग गरेर पनि हुन सक्छ, अध्यादेशबाट पनि निकास खोज्न सकिन्छ । यी मध्ये कुन बाटो उपयुक्त हो त्यो त प्राविधिक छलफलको विषय बन्ला । अन्तरिम संविधानमा सहमतिको व्यवस्था राखिएकै किन हो भने जबसम्म मुलुकले नयाँ संविधान पाउँदैन, तबसम्म समस्या आइरहन्छन् । त्यस्ता अप्ठ्यारा आउँदा राजनीतिक सहमतिका आधारमा राजनीतिक निकास दिने हो । अन्तरिम संविधान भनेकै राजनीतिक दलहरूको सहमतिको दस्ताबेज हो । त्यो कुनै लामो छलफल गरेर बनेको होईन, दलहरूको सहमतिका आधारमा बन्यो । र, प्रतिनिधिसभाले एकै दिनमा घोषणा गरेर लागू गरिएको हो ।
तपाईंहरूले भन्ने गरेको सहमति मुलुकले कहिलेसम्म पाउला त ?
ढिलो भइसक्यो नि, यत्रो चार महिना बितिसक्यो । जति ढिलो भयो मुलुकलाई त्यत्ति हानी हुन्छ । सिंगो राष्ट्रलाई घाटा हुन्छ । जति छिटो भयो त्यति छिटो गर्ने हो ।
दलहरूबीच यस्तै वादविवाद चलिरहने हो भने त कसरी सहमति होला र ?
सरकारको निर्णयका कारण राजनीतिक गतिरोध उत्पन्न भयो । संवैधानिक संकट खडा भयो । दलहरूको बीचमा अविश्वास पैदा भयो । आमनेपाली जनताले दु:ख पाउन थाले । अस्थिरता र अन्योल बढेर गयो । सरकारले जुन एकलौटी रुपमा निर्वाचनको घोषणा गर्यो, मूल कारण त त्यही हो नि समस्याको । त्यसकारण जसका कारणबाट समस्या उत्पन्न भयो, त्यहीँनेर सम्बोधन गर्नुपर्छ भन्ने हो हाम्रो भनाइ हो ।
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कुन दलले गर्छ र किन ?
स्वाभाविक रूपले अब नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्छ । किनभने संविधानसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा दुइटा सरकार बनिसके । एमाओवादीको नेतृत्वमा पनि दुइटा सरकार बनिसके । अब कांग्रेसले नै नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । यो पहिलेदेखि एमाले, एमाओवादी, मधेसी मोर्चाले पनि भन्दै आएको विषय हो । अब यो भनाइबाट कोही तर्सिन्छ भने त्यो नैतिकता विपरीत हो मेरो विचारमा ।
एमाओवादीले त सार्वजनिक रूपमै कांग्रेसको नेतृत्व स्वीकार गर्न सकिँदैन भनेर भनिरहेको छ त ?
राजनीतिमा नैतिकता भन्ने केही अंश हुन्छ भने त्यसलाई एमाओवादी नेताहरूले पनि मान्नुपर्ने हुन्छ । नैतिकता भन्ने एमाओवादीको डिक्सनरीमा छँदै छैन भने त मेरो भन्नु केही पनि छैन । कांग्रेसले नेतृत्व पाउने त स्वाभाविक अवस्था छ नि अहिले ।
सरकारको नेतृत्व लिने विषयमा त कांग्रेसभित्रै चर्को विवाद छ भन्छन नि ? पार्टीभित्रै विवाद भएका बेला अरूले कसरी नेतृत्व देलान र ?
त्यस्तो छैन, कुनै विवाद छैन पार्टीभित्र । जुन दिन निर्णय हुन्छ, त्यो दिन त हामी एकै घन्टामा नाम दिइहाल्छौ नि । हाम्रो कार्यसमिति नै बस्नुपर्दैन, तीनजना नेता बसेर नाम दिइहाल्नुहुन्छ ।
कांग्रेसले नेतृत्व गर्ने भए को हो त प्रधानमन्त्रीको उम्मेदवार ? सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा वा उपसभापति रामचन्द्र पौडेल ?
निर्णय नै नभईकन मैले नाम तोकेर किन बाहिर तरंग उठाउने ? दलहरूबीच जुन दिन निर्णय हुन्छ, त्यसदिन हामी नाम दिउँला भनेर भनेका छौँ । र, त्यो दिन एक घन्टामा दिन्छौँ ।
एक घन्टामा दिन्छौँ त कांग्रेसका सबै नेताहरूले भन्दै आएका छन् । अन्य दलहरूले नाम देऊ भनेर पटक–पटक भन्दा पनि तपाईहरूले विवादका कारण नाम दिन नसकेको होइन र ?
कहाँ भनेका छन र ? एमाओवादीले कहाँनिर भनेको छ ? कसैले भनेको छैन ।
एमाओवादीले त गैरराजनीतिक व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने नयाँ प्रस्ताव पनि ल्याएको छ नि ?
राजनीतिक दलहरू तिनका नेताहरू पूरै असफल भइसके भन्ने एमाओवादीको निष्कर्ष हो भने त्यो अलग कुरा हो । तर, मलाई त्यस्तो लाग्दैन । राजनीतिक दलहरू असफल भए भने त नेपालको राजनीतिक प्रक्रिया नै अगाडि बढ्दैन । संविधान नै बन्दैन नि † मलाई त्यस्तो होला जस्तो लाग्दैन ।
दलहरूबीचको छलफल र सहमतिमा एमालेको भूमिका कस्तो छ ? उसका कुरा र गतिविधि हेर्दा त सरकारको नेतृत्व गर्न फेरी दाउ हेरेर बसेजस्तो लाग्छ नि ?
हैन, अहिले कुनै ब्यक्ति विशेषलाई केही पनि भन्नु छैन । एमाले नेताहरूसित हाम्रो औपचारिक/अनौपचारिक जति पनि छलफल भएका छन, उहाँहरूले कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भन्ने विषय छाड्नुभएको छैन । उहाँहरूमाथि म शंका गर्न चाहन्न । पूरा विश्वास गर्छु ।
कांग्रेस र एमाओवादीले एक/अर्कालाई स्वीकार गर्न नसक्ने अवस्था आए हामी विकल्प दिन तयार छौँ भनेर त एमाले नेताहरू भनिरहनुभएको छ नि ?
छलछाम गरेर राजनीति अगाडि जान्छ र एमाले नेताहरूले त्यसो गर्नुहुन्छ भन्ने मलाई विश्वास लाग्दैन ।
तपाईंहरूले एमाओवादीको नेतृत्व नमान्ने र एमाओवादीले तपाईंहरूलाई दिन नचाहने अवस्था आयो भने अर्को कोही न कोही त अगाडि आउला नै नि ?
हैन, कुनै पनि कुरा तथ्यमा आधारित भएर गर्नुपर्ने हुन्छ नि त । वस्तुपरक ढंगले नै विचार राख्नुपर्ला नि † कल्पनामा मात्रै दौडेर त हँुदैन होला । किन कांग्रेस नेतृत्वमा सरकार बन्दैन ? कसैले भन्न सक्ने आधार केही छैन । सरकारको नेतृत्व हामी लिन्छौँ भनेर न एमाओवादीले भनेको छ, न एमालेले भनेको छ । मधेसी मोर्चाले पनि भनेको छैन । उनीहरू कसैले पनि आफ्नो नेतृत्वको दाबी गरेकै छैन । स्वाभाविक रूपमा उहाँहरूकै भनाइबाट पनि कांग्रेसको नेतृत्व स्थापित छ ।
कांग्रेस नेतृत्वमा सरकार बनाउने विगतको सहमति त भत्किसक्यो भन्दै छ नि एमाओवादीले ।
विगतका ४/५ वर्षका सबै सहमति छाडौँ रे ल । छाडेरै कुरा गर्दा पनि ठाउँ त यहीँ छ नि † माओवादीले कसरी दाबा गर्न सक्छ सरकारको नेतृत्वको ? कुन नैतिकताले दाबा गर्न सक्छ ? वास्तवमा एमाओवादी पार्टी त जनताको नजरमा दण्डित पार्टी हो, जसले निर्वाचनको घोषणा गर्यो तर, निर्वाचन भएन । जसले निर्वाचनको घोषणा गर्यो र संविधानसभा विघटन भयो, संविधान बन्न पाएन । समग्र देशको राजनीति अवरुद्ध भयो । यस्तो दुर्घटना गराउने माओवादी नेतृत्वले फेरि पनि मै निर्वाचन गराउँछु भन्नु बहुत ठूलो आश्चर्यको कुरा पो हुन्छ त । उहाँहरूले दाबी पनि गर्नुभएको छैन । प्रचण्डजीसित पनि मेरो कुरा भएको छ, बाबुरामजीसित पनि भएको छ । मैले बुझेसम्म उहाँहरूले आफैँ दाबा गर्ने कुनै लक्षण देखाउनुभएको छैन ।
आफूले दाबी नगरे पनि तपाईंहरूले गर्नुपर्छ भनेर पनि त भनेका छैनन नि ?
त्यो त परिस्थितिले भनाउँछ नि उहाँहरूलाई । मलाई त कस्तो लाग्छ भने हामी चुप्प लागेर बस्यौ भने पनि प्रधानमन्त्री कांग्रेसले पाउने अवस्था छ ।
नेपालको राजनीतिमा सँधै प्रभाव पार्ने छिमेकी मुलुक भारतको भूमिका चाहिँ कस्तो छ नि अहिले ?
नेपालका राजनीतिक दलहरूले छलफल गरेर निकास निकाल्दा भारत, चीन, अमेरिका, युरोप सबैको समर्थन हुन्छ । मैले बुझेको त्यही हो । अब हामी मिलेर केही गर्न सकेनाँै र सक्दैनाँै भने त्यसको दोष अन्ततिर फाल्छौँ । त्यो कुरा मलाई पटक्कै उपयुक्त लाग्दैन । आजका दिनमा पनि हामीले एउटा राजनीतिक सहमति गर्यौँ भने त्यो निर्णयमा ताकत हुन्छ । र, त्यो निर्णय कार्यान्वयनमा हाम्रा सबै मित्रराष्ट्रहरूले समर्थन गर्छन् भन्ने मलाई लाग्छ ।
तपाईंहरूको पार्टीभित्रको विवाद के हुँदै छ ? कहिल्यै निको नहुने रोग जस्तो भयो है कांग्रेसको आन्तरिक विवाद ?
हैन, कुन चाहिँ पार्टीमा विवाद हुँदैन ? एमाओवादीमा छ, एमालेमा छ, सबैमा छ । फुटेर गएको माओवादीमा त विवाद छ । विवाद भएर फुटेका दुवै माओवादीमा विवाद छ । कुरा के मात्रै हो भने त्यसलाई कसरी व्यवस्थित गर्ने ? हामी आउने चुनावमा सिंगो पार्टी एक भएर जान्छाँै । सर्वसम्मत ढंगले उम्मेदवार तय गर्छौँ । सबै नेता/कार्यकर्ता एकस्वरमा जनता माझ जान्छौँ ।
प्रतिक्रिया