एनजिओका कामप्रति उप–राष्ट्रपति रुष्ट

काठमाडौं, ६ असोज । उप–राष्ट्रपति परमानन्द झाले गैरसरकारी संस्था (एनजिओ)का कामप्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै ती संघ/संस्थाहरुलाई आफ्नो उत्तरदायित्वप्रति समीक्षा गर्न आग्रह गरेका छन् ।
उनले गैर सरकारी संघ/संस्थाका आलोचना सुनिएकाले आगामी दिनमा त्यसको समीक्षा गरेर अघि बढ्नु पर्ने सुझाव दिए । ‘छरिएर रहेका सामाजिक संघ संस्थाका कामकाजको दोहोरोपन हटाउने, समन्वय गर्ने र सहयोग परिचालन गर्ने काममा समाजकल्याण परिषद् अझ बढी क्रियाशील हुनु पर्छ,’ उनले भने ।
३३ औं सामाजिक सेवा दिवसका अवसरमा समाज कल्याण परिषद्ले आज काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा उनले मानिस सामाजिक प्राणी भएकाले प्रत्येक काम, कर्तव्य र क्रियाकलाप समाज सेवातर्फ उन्मुख गराउनु पर्ने बताए ।
उनले समाज सेवामा लाग्नेहरुको पर्वकै रुपमा सामाजिक सेवा दिवस विकसित हुँदै गएको उल्लेख गरे ।
उनले सामाजिक संघ/संस्थाले आफ्ना कार्यक्रम मुलुकका स्थानीय तहसम्म सर्वसाधारणलाई महसुस हुने गरी विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘सामाजिक सेवा दिवसको अवसरमा आत्मसमीक्षा गरी परिषद्ले भावी रणनीति बनाउनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया