जापानले चीनसँग क्षतिपूर्ति माग्ने

टोकियो : चिनियाँ प्रदर्शनकारीले चीनस्थित जापानी कूटनीतिक नियोगमा आक्रमण गरी क्षति पुर्‍याएको भन्दै जापानले चीनसँग क्षतिपूर्ति माग्ने भएको छ । केही दिनयता जापान र चीनबीच केही टापुको स्वामित्वलाई लिएर विवाद बढ्दा जापानी व्यापारीक प्रतिष्ठान र जापानी कूटनीतिक नियोगमा चिनियाँ प्रदर्शनकारीले आक्रमण गरेका थिए ।
जापानको मन्त्रिपरिषद्का मुख्यसचिव ओसामु फुजिमुराले बिहीबार भने, ‘केही दिनयता चीनमा रहेका हाम्रा नियोग एवं दूतावासमा चिनियाँ नागरिकले आक्रमण गर्दै आएका छन् । त्यसको क्षतिपूर्ति माग्ने योजना जापान सरकारले बनाएको छ ।’ उनले भने, ‘चीनका विभिन्न सहरमा जापानी कम्पनीमाथि पनि आक्रमण भएका छन् । उनीहरूलाई चिनियाँ कानुनबमोजिम कारबाही गरी ती कम्पनीलाई पनि चीन सरकारले क्षतिपूर्ति दिनुपर्छ ।’ गत साता चीनस्थित जापानी दूतावासमा चिनियाँ प्रदर्शनकारीले प्लास्टिकका बोतल एवं ढुंगा प्रहार गरेका थिए । आक्रमणका कारण दूतावासमा क्षति पुगेको समाचारमा जनाइएको थियो । ‘इस्ट चाइना सी’का दुई टापुसम्बन्धी विवादका कारण चीन र जापानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । दुवै देशले ती टापु–आफ्नो भएको दाबी गर्दै आएका छन् ।
यसैबीच, चीनका विभिन्न ५० सहरमा जापानविरोधी प्रदर्शन भएका छन् । प्रदर्शनकारीले जापानका केही व्यापारिक प्रतिष्ठान एवं रेस्टुरेन्टमा पनि आक्रमण गरेका छन् । यस्ता उत्तेजक काम तत्कालै रोक्न र दुई देशबीचको कूटनीतिक संवेदनशीलताका आधारमा अघि बढ्न जापानका पत्रपत्रिकाले चीन सरकारलाई आग्रह गरको छ । यता, चिनियाँ रक्षामन्त्रीले भने जापानका कारण नै यस्तो उत्तेजक व्यवहार हुन पुगेको बताएका छन् । (एएफपी)

प्रतिक्रिया