भुक्तानी नपाउँदा किसान आन्दोलित

रौतहट, ५ असोज । महमदपुर गरुडास्थित श्रीराम सुगर मिल्सलाई उखु बेचेका किसान तीन दिनदेखि आन्दोलित छन् ।
गत वर्ष चिनी मिललाई उखु बेचेका करिब २४ हजार किसानको २० करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेकामा मिल्सले भुक्तानी नदिएकाले किसानले मिल्स प्रांगणमा २ असोजदेखि भोक हडताल सुरु गरेका हुन् ।
उखु उत्पादक संघको अगुवाइमा उखु किसान सहभागी भोक हडताल रकम भुक्तानीका लागि दबाब दिन गरिएको हो । मिललाई बारा, रौतहट र सर्लाहीका किसानले उखु बेच्ने गर्छन् । गत वर्ष मिलले १८ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो र उत्पादित चिनी सबै बिक्री भइसकेको र गोदाममा समेत चिनी नरहेको अवस्थामा पनि चिनीमिलले भुक्तानी नदिएको उखु उत्पादक संघका अध्यक्ष जयनाथ यादवले बताए । गत वर्ष १६ फागुनदेखि १२ चैतसम्म क्रसिङ सिजन चलेको र सो बेला किसानले दिएको उखुको २० करोड रुपियाँ भुक्तानी बाँकी रहेको यादवले बताए ।
गरुडास्थित मिलले उखुबाट चिनी, मोलासेज तथा बायोप्रोडक्ट प्रेस मड उत्पादन गर्छ । रकम भुक्तानीसँगै किसानले मिलले उत्पादन गर्ने बायोप्रोडक्ट प्रेस मडलाई जैविक मलमा परिणत गरी स्थानीय किसानलाई सुलभ तरिकाले उपलब्ध गराउनुपर्ने तथा आर्थिक वर्ष ०६९/७० को क्रसिङ सिजन समयमै सञ्चालन गर्ने वा नगर्ने स्पष्ट पार्नुपर्ने माग राखेर आन्दोलन सुरु गरेका हुन् ।
‘बिहीबार दिउँसोबाट मिलका मजदुरलाई पनि काममा रोक लगाएका छौँ,’ अध्यक्ष यादवले भने, ‘भोक हडतालको तेस्रो दिनसम्म पनि व्यवस्थापनले कुनै वास्ता गरेको छैन ।’ परिश्रम गरेर फलाएको उखु मिललाई बेचेको पाँच महिना भइसक्दा पनि भुक्तानी नपाउँदा किसान आक्रोशित छन् । चिनी उत्पादन गरेर बजारमा बेचिसके पनि मिलले उनीहरूलाई भुक्तानी दिएको छैन । चाडपर्वका बेला सुरु हुन लाग्दा पनि मिलले भुक्तानी नदिएपछि तीन जिल्लाका २४ हजार किसान मारमा परेका छन् ।
भोक हडतालमा बसेकामध्ये उखु उत्पादक संघ रौतहटका यादवको अवस्था कमजोर हुँदै गएको छ । यादवलाई बुधबार रातिदेखि स्लाइन पानी लगाइएको छ भने अन्यको पनि शारीरिक अवस्था बिग्रँदै गएको छ । यता, मिल व्यवस्थापनले आन्दोलन तथा मागबारे उच्चाधिकारीलाई जानकारी गराइसकेको बताए पनि भुक्तानी कहिले हुने हो सोबारे स्पष्ट पारेको छैन ।

प्रतिक्रिया