रेडक्रसद्वारा कर्मचारी नियुक्तिमा अनियमितता

विराटनगर, ४ असोज । नेपाल रेडक्रस सोसाइटी मोरङका पदाधिकारीले कर्मचारी नियुक्तिमा मोटो रकम लिएका छन् ।

रेडक्रसले एक वर्षअघि नियुक्त भइसकेको कर्मचारीबाट समेत अहिले रकम असुल गरिरहेको पाइएको छ । क्षमता र प्रतिस्पर्धालाई लत्याएर आफन्त र कार्यकर्ता भर्ती गर्दै आएको रेडक्रस मोरङले उनीहरूबाटै प्रतिव्यक्ति १० हजार रुपियाँ लिएर मात्र नियुक्ति पत्र दिने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार हालै सुनसरी रामगन्ज बेलगछियाका विनोद उराउलाई दस हजार रुपियाँ लिएर प्राविधिक पदमा नियुक्त गरिएको छ ।
एक महिनाअघिदेखि रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रमा प्राविधिक पदमा काम गर्नथालेका काशीनाथ माझी र दीपक पण्डितले पनि १० हजार रुपियाँ दिएको स्रोतले जनाएको छ । त्यस्तै, एक वर्षका लागि नियुक्त भएका कर्मचारीले समेत नियुक्तिपत्र लिने बेलामा १० हजार रुपियाँ बुझाएको स्रोतको दाबी छ । एक वर्षअघि विनीता विश्वास, सुस्मिता विश्वास, पोषराज रेग्मी, मिनु राई, राजु राजवंशी, दीपेश राजवंशी, जितेन्द्र देवलगायतले नियुक्ति पाएका थिए ।
पाँच वर्षअघि लिखित र मौखिक अन्तर्वार्ताबाट छनोट भएका प्राविधिक आशाराम माझी र ओमप्रकाश मण्डलसँग पनि १० हजार रुपियाँ लिइएको छ । रेडक्रसले अस्थायी कर्मचारीसँग धरौटीबापत भन्दै प्रतिव्यक्ति १० हजार रुपियाँ लिएको र हालसम्म फिर्ता नगरेको पाइएको छ । रेडक्रसमा डेढ दर्जन अस्थायी कर्मचारी छन् ।
अस्थायी रूपमा कार्यरत भएकाले रकम तिर्न माग गरेपछि आफूहरूले तिरेको उनीहरू बताउँछन् । मानवीय सेवाका रूपमा कार्यरत रेडक्रसले प्रतिस्पर्धालाई तिलाञ्जली दिएर भनसुनका आधारमा जागिर दिनु स्वास्थ्य सेवाप्रति खेलबाड भएको रक्तदाता लवकुमार ताम्राकारको गुनासो छ । त्यस्तै, उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले रेडक्रसले रकम लिएर मात्र नियुक्ति दिने गरेको आफूले पनि सुनेको भन्दै त्यसो गरिएको भए गलत भएको बताए । ‘यो छानबिनको विषय हुनुपर्छ,’ उनले भने, ‘सरकारी निकाय प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यस विषयमा छानबिन गरी गलत क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्छ ।’
यता रेडक्रसका पदाधिकारीले भने आफूहरूले अवैध तरिकाले रकम नलिएको बताएका छन् । कर्मचारीले फट्याइँ गरेमा त्यसलाई क्षतिपूर्ति भराउन १० हजार रुपियाँ लिइएको भए पनि त्यो धरौटीका रूपमा मात्र लिएको दाबी गरेका छन् । रक्तसञ्चार सेवा अधिकृत विनोद मिर्धाले हालैदेखि मात्र त्यो नियम लागू भएकाले सबैसँग अहिले रकम नलिइएको बताए । ‘सबै संस्थाको आफ्नै नियम हुन्छ, त्यहीअनुसार हामीले मोरङमा बेग्लै नियम बनाएका हौँ,’ उनले भने, ‘कर्मचारीले जागिर छाडेपछि फिर्ता दिन्छाँै ।’
कर्मचारीसँग धरौटीबापत रकम असुल्ने नियम अन्य जिल्लामा भए/नभएको आफूलाई थाहा नभएको पनि उनले बताए । रेडक्रस मोरङका मन्त्री सुबोध सिंहले आफूहरूले गलत तरिकाबाट रकम नलिएको दाबी गरे ।
फ्रिज खरिदमा पनि उस्तै
रक्तसञ्चार सेवा विराटनगरले हालै खरिद गरेका दुई थान फ्रिजमा अनियमितता भएको आशंका गरिएको छ । प्रतिथान ६७ हजार पाँच सय रुपियाँमा खरिद गरिएको भनिएको एलजी कम्पनीका फ्रिज प्रयोग गर्नासाथ बिग्रिएपछि खरिद प्रक्रियामा अनियमितता भएको आशंका गरिएको हो । रक्तसञ्चारमा दातृसंस्थाले दिएका पुराना फ्रिज सामान्य मर्मत गर्दा पनि हुने अवस्थामा नयाँ खरिद गर्नु बेठीक भएको रक्तदाता लक्ष्मण पोखरेलले बताए । यसभन्दा अगाडि विदेशी दातृनिकायले दिएमात्र रक्तसञ्चारले फ्रिज लिने गरेको थियो । तर, यसपटक रक्तसञ्चारले आफूसँग पर्याप्त रकम भएको देखाउँदै ठूलो रकममा फ्रिज किनेको हो । फ्रिजको बजार मूल्यभन्दा पनि बढी रकममा खरिद गरिनुका साथै चाँडै बिग्रिएकाले अनियमितताको आशंका गरिएको हो । पब्लिक फोरमका अध्यक्ष ढुंगेलले खरिद प्रक्रियाबारे छानबिन गर्नुपर्ने माग गरे । फ्रिज किन्ने सिलसिलामा रक्तसञ्चार सेवाका प्राविधिक अधिकृत विनोदकुमार मिर्धा र रेडक्रस मोरङ शाखाका मन्त्री सुबोध सिंहबाट अनियमितता भएको आशंका गरिएको छ ।

प्रतिक्रिया