बिपी राजमार्गमा यात्रु ठगिए

काभ्रे, ३ असोज । बिपी राजमार्ग हुँदै सिन्धुली पुग्ने सिटी भिलेज यातायातले यात्रुलाई चर्को भाडा असुल्दै आएको छ । ट्राफिक प्रहरी र प्रशासनको लापरबाहीका कारण यात्रु ठगिएका हुन् । समितिले टिकट काटेरै ठगी गरिरहँदा पनि सम्बन्धित निकाय मौन छन् ।

बिपी राजमार्गमा पछिल्लो समय सिटी भिलेज यातायात, हिमाल–तराई यातायात र मध्यपहाडी समितिले काठमाडौं–घुर्मी बस सेवा सञ्चालन गर्दै आएका छन् । सिन्धुली, ओखलढुंगा, उदयपुरको सिमानामा पर्ने घुर्मीसम्म हिमाल–तराईका ७३, मध्यपहाडीका २० र सिटी भिलेजका ५० गाडी सञ्चालनमा छन् । सिन्धुली जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष ०६९/७० को दर्ता नम्बर ८७० मा दर्ता भएको सिटी भिलेजमा अधिकांश निजी नम्बर प्लेटका गाडी सञ्चालन गरिएको छ ।
सिन्धुलीका सहायक सिडिओ डा. डिजन भट्टराईका अनुसार निजी नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न पाउँदैनन् । सिटी भिलेजले निजी प्लेटका गाडीमा यात्रु बोकेको कतैबाट उजुरी नआएको भट्टराईले जानकारी दिए । ‘हामी अनुसन्धान गरी कारबाही गर्छाैं, निजी प्लेटका सवारीसाधनले यात्रु बोक्न मिल्दैन,’ उनले भने ।
सिटी भिलेजले काठमाडौंबाट घुर्मी पुग्ने प्रतियात्रु दुई हजार रुपियाँका दरले भाडा असुल्ने गरेको छ । काठमाडौंबाट घुर्मी एक सय ९२ किलोमिटर मात्रै छ । जबकि घुर्मी पुग्न अन्य समितिले ६ सय ८३ रुपियाँ मात्रै लिने गरेका छन् । प्रतियात्रु एक हजार तीन सय १७ रुपियाँ ठगिरहँदा सम्बन्धित निकाय मौन बसिरहेका छन् । टिकटमा उल्लेख भएका दाताराम दाईले प्रतिस्पर्धा हुँदा सुपर सिद्धबाबा यातायातका नाममा निजी नम्बर प्लेट राखेर सवारीसाधन चलाएको जानकारी दिए । पछि सिटी भिलेजसँग सिद्धबाबा गाभिएपछि आफूलाई जानकारी नभएको दातारामले जानकारी दिए । आइतबार दिउँसो काभ्रेको बनेपामा केही यात्रुले गुनासो गरेपछि सिटी भिलेजको ठगी सार्वजनिक भएको हो ।
सरकारले राजमार्गमा सिन्डिकेट खारेज गरेसँगै स्वतन्त्र रूपमा सञ्चालन भएका यस्ता सवारीसाधनले यात्रुलाई चर्काे भाडा लिएर ठगी गरिरहेका छन् । तर, अनुगमन नहुँदा यात्रुहरू समयमै गन्तव्यमा पुग्न चर्काे भाडा तिर्न बाध्य भएका छन् ।

प्रतिक्रिया