सिरहामा चिकित्सक अभाव

सिरहा : सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा दरबन्दीअनुरूपको चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य केन्द्र र अस्पतालसहित सात मेडिकल अधिकृतको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक मात्र चिकित्सक कार्यरत रहेकाले बिरामी मर्कामा परेका हुन् । औरही, मिर्चैया, भगवानपुर र नवराजपुरमा गरी चार प्राथमिक स्वास्थ्य केन्द्र रहेकामा चार र जिल्ला अस्पताल सिरहामा तीन मेडिकल अधिकृतको दरबन्दी रहेको भए पनि एक मात्र डाक्टर कार्यरत छन् । अस्पतालमा कार्यरत डा. दयाशंकरलाल कर्णले जिल्ला स्वास्थ्य कार्यालयको पनि जिम्मेवारी निर्वाह गर्नुपरेकाले बिरामीलाई झनै मर्का परेको छ ।
सदरमुकाम आसपासका करिब तीन दर्जन गाविसका एक सयदेखि एक सय ५० भन्दा बढी बिरामी दिनहुँ जिल्ला अस्पतालमा आए पनि एकजनाले राम्रोसँग हेर्न पनि नभ्याउने बिरामीका आफन्तले बताए । जिल्ला अस्पतालमा दुई चिकित्सकको दरबन्दी भएको पाँच वर्ष बिते पनि हालसम्म चिकित्सक नपठाएको अस्पतालमा कार्यरत कर्मचारी बताउँछन् । औरही, भगवानपुर र नवराजपुर प्राथमिक स्वास्थ्य केन्द्रको भौतिक संरचना तयार भए पनि चिकित्सक नहुँदा स्वास्थ्यकर्मीकै भरमा सञ्चालन हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका नायब सुब्बा राजकुमार दासले बताए । अस्पतालमा डाक्टर नभएपछि ग्रामीण क्षेत्रका बिरामी भारतीय बजार जयनगर, लौकहा, लदनियाँ, दरभंगा जान बाध्य छन् । प्रसूति व्यथा लागेका ग्रामीण भेगका महिलालाई नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा लैजानुभन्दा महँगो रकम खर्चिएर लहान, राजविराज, जनकपुर, भारतको दरभंगा लैजान यहाँका सेवाग्राही बाध्य छन् । गाउँमा चिकित्सक नहुँदा स्थानीय विपन्न, गरिब, दलित महिला घरमै परम्परागत रूपले प्रसूति गराइरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार तीन प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतका अलावा एकजना स्टाफ नर्सको दरबन्दी पनि रिक्त छ भने जिल्ला अस्पताल सिरहामा दुईजना मेडिकल अधिकृत, तीनजना स्टाफ नर्ससहित स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा समेत गरी ३२ ग्रामीण स्वास्थ्य कार्यकर्ता र १२ मातृशिशु कार्यकर्ताको दरबन्दी रिक्त छ । दरबन्दीका चिकित्सक नआएपछि अस्पताल विकास समितिमार्फत एक चिकित्सक करारमा नियुक्त गरेर काम चलाउन बाध्य भएको प्रमुख कर्णले जानकारी दिए । जिल्लामा ११ स्वास्थ्यचौकी, चार प्राथमिक स्वास्थ्य केन्द्र, ९३ वटा उपस्वास्थ्यचौकी र दुई सरकारी अस्पताल छन् । (सौस)

प्रतिक्रिया