प्रदर्शन झन् व्यापक

जकार्ता : इस्लाम धर्मविरोधी फिल्म बनाएको भन्दै विश्वका इस्लामिक देशमा जारी अमेरिकाविरोधी प्रदर्शन झन् व्यापक भएको छ । आक्रोशित मुसलमान धर्मालम्बीले इन्डोनेसियाको राजधानी जाकर्तास्थित अमेरिकी दूतावासमा आक्रमण गरेका छन् । दूतावासमा अन्डा प्रहार गर्नुका साथै प्रदर्शनकारीले त्यहाँ फहराएको अमेरिकी झन्डा झिकेर फ्याँकिदिएका छन् । दूतावास प्रवेश गर्न खोज्नेलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर गर्नुपरेको थियो । विरोधकै बीच विभिन्न मुलुकमा अमेरिकी झन्डा जलाइसकिएको छ ।
इन्डोनेसियाली विद्यार्थीको आह्वानमा प्रदर्शन गरिएको हो । इन्डोनेसिया सबैभन्दा बढी मुसलमान धर्मावलम्बी भएको मुलुक हो । त्यहाँ शनिबार र आइतबार पनि प्रदर्शन भएको थियो । अमेरिकाविरोधी प्रदर्शनकै क्रममा अफगानिस्तानमा आइतबार दुईजनाको मृत्यु भएको थियो । अफगानिस्तान र पाकिस्तानका विभिन्न सहरमा सोमबार पनि अमेरिकाविरोधी प्रदर्शन भएका छन् । प्रदर्शनकारीले अमेरिकाविरुद्ध नाराबाजी गरिरहेका छन् । करिब चार दिनदेखि जारी अमेरिकाविरोधी प्रदर्शनका क्रममा विभिन्न देशमा ६ जनाको ज्यान गइसकेको छ ।
‘इनोसेन्स अफ मुस्लिम्स’ नामक फिल्म सार्वजनिक भएपछि मुस्लिम जगत्मा अमेरिकाविरोधी प्रदर्शनको लहर चलेको हो । प्रदर्शनकारीको आक्रमणमा परी गत साता लिबियास्थित अमेरिकी राजदूतको मृत्यु भएको थियो । ‘इनोसेन्स अफ मुस्लिम’ मा इस्लामको चर्को आलोचना गरिएको छ । साथै, मोहम्मदलाई जाली, स्त्रीलम्पट र बौलाहाका रूपमा चित्रण गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया