राहुललाई मोदीको व्यंग्य

पटना : भारतको मुख्य प्रतिपक्षी दल भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार भनी पश्चिमी सञ्चारमाध्यमद्वारा सर्वत्र चर्चा गरिएका गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले कंग्रेस आईका नेता राहुल गान्धीलाई गतिलो व्यंग्य गरेका छन् । मोदीलाई क्षेत्रीय नेताको संज्ञा दिँदै कंग्रेसले राहुललाई राष्ट्रिय नेताका रूपमा अघि सारेपछि मोदीले राहुलमाथि व्यंग्य गरेका हुन् । ठट्यौली पारामा उनले राहुल अन्तर्राष्ट्रिय नेता भएकाले इटालीमा उम्मेदवारी दिन पनि उनी योग्य भएको जिकिर गरेका छन् ।
राहुलकी आमा तथा कंग्रेस अध्यक्ष सोनिया गान्धी इटाली मूलकी भारतीय हुन् । राहुलका बाबु राजीव गान्धीले सोनियालाई इटालीबाट विवाह गरी भारत ल्याएका थिए । ‘कंग्रेस नेताले राहुललाई राष्ट्रिय र मलाई क्षेत्रीय नेताका रूपमा चित्रण गरेको मैले सुनेँ । गुजरातको क्षेत्रीय नेता हुन पाएकामा मलाई गर्व लागेको छ । तर, राहुल राष्ट्रिय नेता हुन् भन्ने भनाइसँग म सहमत छैन । उनी अन्तर्राष्ट्रिय नेता हुन् । त्यसैले उनले भारत र इटाली दुवै देशमा निर्वाचन लड्न सक्छन्,’ मोदीले भने । भजपा नेताले सोनिया गान्धीको राष्ट्रियतामाथि प्रश्न उठाउने गरेका छन् । निर्वाचनका बेला गान्धी परिवारको राष्ट्रियतामाथि प्रश्न उठाएर राजनीतिक लाभ लिन भाजपा अग्रसर भएको र यसै सिलसिलामा मोदीले यस्तो भनाइ राखेको अनुमान गरिएको छ ।
युवाको ठूलो जमातलाई सम्बोधन गर्दै मोदीले भने, ‘सन् २००४ मा कंग्रेसले एक करोड युवालाई रोजगारी दिने कसम खाएको थियो । भारत सरकारले जारी गरेको एक प्रतिवेदनमा देशभर सिर्जना भएका कुल रोजगारीका अवसरमध्ये गुजरातले मात्रै ७२ प्रतिशत अवसर दिएको उल्लेख छ । वाचा पूरा गर्न नसक्ने र जनतालाई ढाँट्ने कंग्रेसको यो कस्तो शैली हो,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया