नन्दुलाई सहयोग

काठमाडौ : करिब एक वर्षदेखि आन्द्राको क्यान्सर रोगबाट ग्रसित वरिष्ठ सहायक मुख्य प्रशिक्षक एवं नेपाल तेक्वान्दो संघका सदस्य नन्दकुमार राईलाई उपचारार्थ संकलित सहयोग रकम सोमबार हस्तान्तरण गरिएको छ । तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाको उपस्थितिमा विभिन्न संस्था एवं व्यक्तिबाट संकलित सहयोग रकम ४ लाख ४४ हजार ७ सय ३१ रुपियाँ सहयोग संकलन समितिका संयोजक श्याम डंगोलले प्रशिक्षक राईलाई हस्तान्तरण गरे ।
राईको उपचारनिम्ति सहयोग रकम संकलन गर्न नेपाल तेक्वान्दो संघले गत वर्षको १४ चैतमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्याम डंगोलको संयोजकत्वमा पाँच सदस्यीय सहयोग संकलन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यमा परलिता मल्ल, संगीना वैद्य, मीन न्यौपाने र दीपक विष्ट रहेका थिए ।
अमेरिकास्थित इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसनले २ लाख १० हजार ३ सय ७१ रुपियाँ हङकङ शाखाबाट ८४ हजार ९ सय ७० रुपियाँ, लन्डन शाखाबाट ७० हजार ८ सय ९० रुपियाँ र तेक्वान्दो प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूबाट ५२ हजार ५ सय रुपियाँ प्राप्त भएको डंगोलले जनाए । यसैगरी, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जीव रेग्मीले १० हजार, सदस्य सञ्जीव तुलाधरले १० हजार, सदस्य हरिश्वर पोखरेलले ४ हजार र सदस्य रवि थापाले २ हजार रुपियाँ राईको उपचारका लागि प्रदान गरेका हुन् । (सौस)

प्रतिक्रिया