भाङधतुरो नखाने महादेवको खोजी

तिजलाई नेपाली महिलाले सबैभन्दा ठूलो पर्वका रूपमा लिने गर्छन् । परापूर्वकालदेखि मनाउँदै आइएको यो पर्व आजभोलि भने महिनौँ दिनअगाडिदेखि तडकभडकका साथ मनाउन थालिएको छ । चेलीले माइतीसँग घरमा भोगेका भोगाइ र पीडा सिधै भन्न नसकेर गीतमार्फत अभिव्यक्त गर्ने र सो गीतमा नाचगान गरेर मनाइने चलन छ । तर, यो पर्व विस्तारै अचेल पार्टी प्यालेस गएर उत्ताउला गीत संगीतमा मनाउने परिपार्टीको सिकार बन्दै छ ।
सांस्कृतिक पर्व तिज भड्किलो बन्दै गएकोमा नायिका गरिमा पन्तलाई पनि राम्रो लागिरहेको छैन । ‘हाम्रो संस्कृति हो । यसलाई जोगाउने नाममा अहिले विकृति भित्रिन थालेको छ,’ पार्टी प्यालेसमा महिनौँअगाडिदेखि मनाइने तिज कार्यक्रमलाई लक्षित गर्दै भनिन् । आफूलाई थाहा भएदेखि नै तिज मनाउँदै आएकी पन्तले विगतभैँm यसपालि पनि तिज परिवारसंँग नै मनाउने सोचाइमा छिन् । खाली पेट आफूलाई धेरै बेर बस्न नहुने भएकाले पनि व्रत नबस्ने सोचाइ बनाएकी गरिमाको पूजाआजामा त आमाहरूसरह सरिक हुने सोचाइ छ  । त्यसो अविवाहित गरिमालाई यो व्रतबाट माहादेवजस्तो पतिको चाहना नभएको भने होइन । पतिका बारेमा उनको बुझाइ छ– महादेवजस्तो असल त होस् तर भाङधतुरो खाएर नांगै नाच्नेचाहिँ होइन ।
त्यसो त पूर्व मिस नेपाल सुगारिका केसी पनि तिज विशेष तरिकाले मनाउने सोचाइमा छैनन् । ‘काम भ्याईनभ्याई छ । काम धेरै भए पनि पर्वचाहिँ मनाउँछु,’ उनले भनिन् । गत साल तिजको सन्दर्भमा धेरै जिल्ला घुमेकी केसी यसपालि त एक दुईवटा कार्यक्रममा मात्र सहभागिता जनाउने सोचाइमा छिन् ।
तिज भड्किलो हँदै गएकाले यो अझ भड्किलो नबनोस् भनेर आफूले कार्यक्रममा सहभागितालाई घटाउँदै लगेको दाबी गरिन् । व्रत बस्ने, मन्दिर जाने र असल पतिको कामना गर्ने सोच भने उनमा पनि छ । उनको पतिको चाहना अरूको भन्दा भिन्नचाहिँ छैन । असल मान्छे होस्, कुरा बुझ्ने होस् । सानैदेखि नै यही चाहना गर्दै आएकी केसीको यस वर्ष त्यो चाहना पूरा हुन्छ भन्ने आस पनि छ मनमा । दरमा भित्रिएको यो पेयपदार्थ र माछामासुको संस्कृतिभन्दा भेजिटेरिएन ‘दर’ उनलाई उचित लाग्छ ।
गायिका माण्डवी त्रिपाठीले भने यस वर्षको तिजमा थकाइ मार्ने सोच बनाएकी छिन् । तिज आउनु धेरै अगाडिदेखि विभिन्न कार्यक्रममा भ्याईनभ्याई सहभागिता जनाइरहेकी त्रिपाठीले त्यही थकाइ मार्ने सोच सुनाइन् । दैनिक दुईवटा तिज कार्यक्रम भ्याउनु उनको दैनिकी नै बनिरहेको छ उनको । यस्ता कार्यक्रममा सहभागिता जनाउँदा रमाइलो पनि गर्न पाइयो भने गीत गाएबापत पैसा पनि पाइने कुरालाई भने सकारात्मक रूपमा नै लिने गर्छिन् । विवाहपछि मात्र व्रत बस्ने गरेकी माण्डवी तिजमा घरमै बस्न रुचाउँछिन् । दिदीबहिनीसँंग रमाइलो गर्न पाइने अवसर भए पनि खाली पेट जताततै हिँड्ने कुराले भने आफ्नै शरीरलाई हानी पुग्ने उनको बुझाइ छ । उनी पनि व्रत बस्छिन् तर अघिल्लो पुस्ताले भैँm केही नखाई होइन ।

प्रतिक्रिया