राष्ट्रिय सरकार गठन गरेर मुलुकको समस्या हटाउनेतर्फ राजनीतिक दलका शीर्ष नेताहरूले ध्यान नदिएपछि राष्ट्रपति डा. रामवरण यादवले नयाँ निर्वाचनका लागि अर्को सरकार गठन गर्न आह्वान गर्नसक्ने संकेत गरेका छन् । सहमतिका आधारमा सबै काम कुरा टुंग्याउन दलका नेताहरूलाई बारम्बार अनुरोध गर्दासमेत नटेरेपछि राष्ट्रपतिले आपैँm अग्रसर हुनुपर्ने महसुस गरेको बुझिन्छ । पछिल्लोपटक आइतबार चार ठूला दलका शीर्ष नेतासँगको भेटघाटमा राष्ट्रपतिले सहमतिका लागि पुन: अह्वान गर्दै अन्यथा आफूले अध्यादेश जारी नगर्ने अवस्था आउने बताए । आफूले बाधाअड्काउ फुकाउनुपर्ने आसय व्यक्त गर्दै भरसक नेताहरूले नै बाधाअड्काउ फुकाइदिनुपर्ने धारणा राष्ट्रपतिले राखे । वास्तवमा अहिले राजनीतिक संकट र संवैधानिक गतिरोध राष्ट्रपतिले हल गर्ने होइन । दलका नेताहरूले नै गाँठो फुकाउनुपर्ने विषय हो । तर, देश–दुनियाँ भाँडमा जाओस्, आफ्नो अडान नछाड्ने एनेकपा (माओवादी)को कार्यशैलीले जहिले पनि वार्तालाई असफलतामा टुंग्याउने गरेको छ । मुलुक डुब्न लागेको छ, राजनीतिक संकटबाट फाइदा उठाउनेहरूले जनतालाई अत्यन्तै दु:ख दिएका छन् । यो अवस्थामा पनि ठूला दलका शीर्ष नेताहरू सहमतिमा नपुगेपछि स्वाभाविक रूपमा राष्ट्रपतिले दह्रो कदम चाल्नुपर्ने अवस्था आएको छ । तर, राष्ट्रपतिले राष्ट्रिय सरकार गठन गर्न आह्वान गर्नुअगावै नेताहरूले राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्नु राम्रो हुन्छ । यो लोकतान्त्रिक पद्धतिको मर्मअनुरूप पनि हुन्छ । तसर्थ यसतर्फ दलका नेताहरू सक्रिय हुन जरुरी छ ।
प्रमुख दलहरूले सहमतिमा निकास नदिए नयाँ चुनाव प्रयोजनका लागि सहमतीय राष्ट्रिय सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्न सक्छन् । मुलुकलाई अनिर्णयको बन्दी बनाएर लामो समय राख्दा आइलाग्नसक्ने समस्याप्रति सचेत हुन जरुरी छ । तसर्थ, राष्ट्रपतिले कदम चाल्नुअगावै दलका नेता सहमतिमा पुग्नुपर्छ । राष्ट्रपति यादवले पछिल्लो भेटमा दलहरूले राजनीतिक निकासबारे छिट्टै सहमति नगरे आफूले केही दिनभित्र नेपालको अन्तरिम संविधान, २०६३ अनुसार सहमतीय सरकार गठन गर्नसक्नेतर्फ औँल्याएर आफू संकटप्रति गम्भीर रहेको जनाउ दिएका छन् । वास्तवमा राष्ट्रपति चिन्तित हुनु स्वाभाविक हो । यसलाई अन्यथा रूपमा लिनुहँुदैन । राष्ट्रलाई संकटको भुमरीबाट मुक्त गर्न वर्तमान सरकारले कुनै पहल गर्ने देखिँदैन । जहिले पनि अध्यादेश तयार गर्ने र राष्ट्रपति कार्यालयमा लगेर थुपार्ने कामले जनताले सुविधा पाउँदैनन् र यो लोकतान्त्रिक पद्धति पनि होइन । प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफँैले आकाश थामेको हुँदा छाड्नै नमिल्ने बच्कना तर्क प्रस्तुत गरेर कुर्सी नछाड्ने अभिव्यक्ति दिँदैछन् । वास्तवमा अहिलेको सम्पूर्ण समस्याको जड नै वर्तमान कामचलाउ सरकार बनेको छ । किनभने यदि चुनावमा जाने हो भने राष्ट्रिय सरकार नै पहिलो सर्त हो । त्यस सरकारले चुनाव गराउने काम गर्छ र निर्वाचित संसद्ले संविधानका विवादित विषय मिलाउँछ । पहिला नै विवादित विषय मिलाउने अनि मात्रै निर्वाचनमा जाने भन्ने वाहियात तर्क हो । यदि अहिले नै सबै विवादित विषय मिल्ने हो भने चुनाव के प्रयोजनका लागि गर्ने ? यस्ता कुतर्ककै कारण सहमित हुन नसकेको हो ।
आइतबार राष्ट्रपतिले नेताहरूलाई आफ्नो वचन पूरा गर्न र प्रतिबद्धताप्रति गम्भीर बन्न आग्रह गर्नुपर्दा स्वार्थको भकारी बोकेका नेताहरूलाई लाज लागेको हुनुपर्छ । तर, लाजले मात्र समस्या समाधान हुँदैन र अध्यादेशले मात्र मुलुक चल्दैन । तसर्थ, राजनीतिक संकट र संवैधानिक रिक्तता हटाउन दलहरूले छिट्टै एउटा निर्णयमा पुग्न जरुरी छ । अन्यथा, राष्ट्रपतिले बाध्य भएर संकटमोचनका लागि कठोर निर्णय लिनेछन् । वास्तावमा राजनीतिक संकटकै कारण विभिन्न खाले समस्या नेपाली जनताले भोग्नुपरिरहेको छ । सबैतिर भद्रगोलको स्थिति पनि यही संकटले ल्याएको हो । तसर्थ, वर्तमान राजनीतिक संकट हटाउन र संवैधानिक रिक्तताबाट मुलुकलाई मुक्त गर्न नेताहरूले छिटोभन्दा छिटो सहमति गर्नुको विकल्प छैन । साथै अनन्त कालसम्म शासन गर्ने उद्देश्यले पेस गरेका अध्यादेशहरू राष्ट्रपतिले पारित गर्नु पनि हुँदैन । यदि अब पनि नेताहरू सहमित गरेर आएनन् भने राष्ट्रिय सरकारका लागि राष्ट्रपतिले आह्वान गर्नु वाञ्छनीय हुन्छ । अब यही विकल्प मात्र बाँकी छ । अन्यथा मुलुक अन्धकारको खाडलमा जाकिने निश्चित छ ।
प्रतिक्रिया