सैनिकबाट बलात्कृतलाई १५ हजार दिएर घर फर्काइयो

पाँचथर, १ असोज । सैनिकबाट बलात्कृत भएर न्याय माग्न आएकी एक महिलालाई सेनाको बेसक्याम्पले १५ हजार रुपियाँ दिएर घर पठाएको छ । जिल्लाको फाक्तेप गाविस–५, जौबारी निवासी अस्मिता चेम्जोङलाई गत शुक्रबार बिहान एक सैनिकले बलात्कार गरेका थिए । ४५ वर्षीया अस्मिता चार छोराछोरीकी आमा हुन् ।

बिहान १० बजे बजारबाट सब्जी लिएर फर्कंदै गर्दा आर्मीको लुगा लगाएका व्यक्तिले आफूमाथि जबर्जस्ती गरेको पीडितले बताएकी छन् । विष्णु दल गणअन्तर्गत रविबजारमा रहेको नेपाली सेनाको बेसक्याम्पबाट आएको गस्ती टोलीका एक सैनिकले बलात्कार गरेको खुलासा भएको छ । सैनिकको नाम र ओहोदा भने खुल्न सकेको छैन ।
पीडितका अनुसार गस्ती टोलीका अन्य सैनिक केही पर छलिएर बसेका बेला ती सैनिक उनीसित कुरा गर्न आएका थिए । पहिले आºनो नाम तथा परिवारबारे सोधेको उनले बताएकी छन् । ‘तिम्रो नाम के हो ? श्रीमान् छन् कि छैनन् ? छोराछोरी कतिजना

छन् ?’ जस्ता प्रश्न सोधेर सैनिकले कुरा सुरु गरेका थिए । उनले सबै कुरा साँचो–साँचो बताइन् । त्यसपछि सैनिकले विस्तारै उनको शरीर सुम्सुम्याउन थाले । प्रतिकार गर्न खोज्दा सैनिकले धम्क्याएको उनी बताउँछिन् ।
‘हाम्रो नियम यस्तै छ, कराइस् भने गोली हान्छु भन्दै धम्क्याए,’ पीडित महिलाको भनाइ उद्धृत गर्दै उनका देवर पर्ने देवेन्द्र चेम्जोङले सौर्यसँग भने, ‘म चिच्याएँ तर कोही पनि सहायता गर्न आएन ।’
बलात्कारपछि पीडितले नजिकै रहेको फाक्तेप प्रहरी चौकीमा तत्कालै मौखिक उजुरी दिएकी थिइन् भने बेलुकी ६ बजे लिखित उजुरी दिएकी थिइन् । प्रहरी चौकीका हवल्दारले उजुरी लिएर सेनाको मामला भएकाले आफूले केही गर्न नसक्ने भन्दै इलाका प्रहरी कार्यालयमा त्यसलाई ‘फरवार्ड’ गरिदिने बताएका थिए । इलाका प्रहरी कार्यालयले बेसक्याम्पमा ताकेता गरेपछि पीडितलाई शनिबार बेसक्याम्पमा झिकाइएको थियो । त्यहाँ बेसक्याम्प प्रमुखले किटानी जाहेरी नभएको भन्दै १५ हजार रुपियाँ दिएर घर फर्काइदिएको पीडितले बताएकी छन् ।
‘यदि बलात्कार भएको थिएन भने सेनाले किन पैसा दियो ?’ आफन्त चेम्जोङले भने, ‘यो घटनालाई ढाकछोप गर्ने दाउ मात्रै हो ।’
पीडित महिलाका तीन छोरी र एक छोरा छन् । उनकी एक छोरीको ०६१ साल फागुनमा बेवारिसे बम विस्फोटमा परी देब्रे आँखा गुमेको थियो । स्थानीय नागरिक समाजका अगुवा सूर्य चेम्जोङ र अधिवक्ता बलिराज नेम्वाङले पीडित महिलालाई न्याय र दोषीलाई कारबाही गराउन सक्दो प्रयास गरिने बताएका छन् ।
घटनासम्बन्धमा गणका मेजर नरेश केसीसित सोध्दा उनले सेनाबाट बलात्कार नभएको जिकिर गरे । ‘सामान्य दुव्र्यवहार मात्र भएको हो, अहिले कुरा मिलिसक्यो,’ उनले सौर्यसँग टेलिफोन सम्पर्कमा भने । घटनामा संलग्न सैनिकको पहिचान नभएको भन्दै उनले यसबारे आन्तरिक छानबिन गरिने बताए । पीडितलाई पैसा दिएर थुम्थुम्याइएको कुरा पनि उनले अस्वीकार गरे ।

प्रतिक्रिया