‘अस्पतालमा संक्रमण फैलनुमा पानी र ग्लोब्समा समस्या’

काठमाडौं, १ असोज । थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालको अपरेसनवार्डमा फैलिएको संक्रमण फैलनुमा अस्पतालमा वितरित पानी र ग्लोब्स (हातमा लगाउने पञ्जा) का कारक रहेको पाइएको छ ।
अस्पतालको शल्यकक्ष (अपरेसन) र पोस्टवार्डमा बिहीबार बेलुकादेखि फैलिएको संक्रमणका कारण एकैपटक ८ जना सुत्केरी महिला बिरामी भएका थिए । संक्रमणका कारण सुत्केरीहरू बिरामी पर्न थालेपछि अस्पतालले अपरेसनका लागि आएका बिरामीलाई अन्यत्र पठाएको छ भने शनिबारदेखि अस्पतालको आकस्मिक र अपरेसन सेवा ठप्प छ ।
अस्पतालको अपरेसनवार्डमा संक्रमण फैलुनको कारण पत्ता लगाउन गरिएको ल्याब परीक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार अस्पतालमा वितरित पानी र अस्पतालमा प्रयोग भइरहेका ग्लोब्समा समस्या भएर हुन सक्ने निष्कर्ष निकालिएको छ । अस्पतालका अनुसार आइतबार रातिसम्ममा पानीका लाइन सबै परिवर्तन गर्न लगाइएको छ भने ग्लोब्सलगायतका अपरेसनकक्षमा भएका उपकरण, सामग्री, औषधि, कपडा, पर्दालगायत सामग्रीको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा लगिएको छ । प्रयोगशालाको प्रतिवेदन ४८ घन्टामा मात्र आउने प्रयोगशालाले जानकारी दिएको छ ।
अस्पतालकी निर्देशक डा. शीला बर्माले अस्पतालमा संक्रमण फैलिएको स्वीकार गर्दै अस्पतालमा के कारणले संक्रमण फैलिएको हो भन्ने विषयमा ल्याब परीक्षणपश्चात् मात्र भन्न सकिने बताइन् । उनले अपरेसनकक्षमा भएका सामग्रीको नमुना परीक्षणका लागि केन्द्रीय ल्याबमा पठाइएकोले प्रतिवेदन नआई भन्न नसकिने जानकारी दिइन् । उनका अनुसार संक्रमण फैलिएको कक्षमा निर्मलीकरणको काम भइरहेको छ ।
‘संक्रमण फैलिएको पक्का हो,’ उनले भनिन्, ‘हामीले संक्रमण फैलिएको स्थानमा निर्मलीकरणको काम सुरु गरिसकेका छौँ ।’ उनले ३ गतेदेखि पुन: सेवा सञ्चालनमा आउने जानकारी दिइन् ।
अस्पताल स्रोतका अनुसार अपरेसनवार्डमा संक्रमण फैलिएलगत्तै अस्पतालकै ल्याबमा गरिएको परीक्षणले पानी र ग्लोब्सका कारण संक्रमण फैलिएको देखाएको हो । यसका साथै अपरेसनकक्षलाई समयमा नै सफा नगरिएको, जथाभावीरूपमा औषधि राखिएकोले पनि संक्रमण फैलनमा सहयोग पुगेको अस्प्तालकै ल्याब रिपोर्टबाट प्रमाणित भइसकेको स्रोतको भनाइ छ ।
‘संक्रमण फैलनुमा सबैभन्दा बढी दोषी अस्पताल नै हो,’ स्रोतले भन्यो, ‘समयमा नै अपरेसनकक्षलाई सफा नगर्दा र कम गुणस्तरको ग्लोब्स प्रयोग गर्दा समस्या आएको हो ।’
अस्पतालमा संक्रमण फैलिएको विषयमा जानकारी लिन गएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. तीर्थराज बुर्लाकोटीले पनि अस्पतालले पानी र ग्लोब्सका कारण संक्रमण फैलिएको जानकारी गराएको बताए । उनले अस्पतालले समयमा नै संक्रमणका बारेमा थाहा पाएर बिरामीलाई अन्यत्र पठाएर ठूलो क्षतिबाट जोगाएको जानकारी दिए ।
अस्पतालमा संक्रमण फैलिएपछि अस्पतालले शनिबार सूचना टाँसेर अपरेसन थिएटरमा संक्रमण फैलिएकोले निर्मलीकरण गर्न सेवा बन्द रहने जानकारी दिएको छ । अस्पतालका प्रशासन प्रमुख अमर अमात्यले संक्रमणका विषयमा ल्याबपरीक्षणका लागि पठाइएकाले ४८ घन्टापछि रिपोर्ट आएपछि मात्र के भएको भन्न सकिने बताए ।
अस्पतालमा सेवा बन्द भएपछि दैनिक अपरेसनका लागि आउने २५ भन्दा बढी बिरामी भने अन्यत्र अस्पतालमा जान बाध्य भएका छन् । अस्पतालका अनुसार अस्पतालमा शनिबार बेलुकादेखि आइतबार साँझसम्म ६ महिला सामान्य सुत्केरी भएका छन् । अस्पतालमा अपरेसन बन्द भएपछि अस्पतालले अपरेसन गर्नुपर्ने अवस्थाका १२ महिलालाई अन्यत्र पठाइसकेको छ ।
बिहीबार र शुक्रबार सिजरिङ गरी (अपरेसनबाट) सुत्केरी भएका नवजात शिशुका आमाहरू टाउको दुख्यो भन्दै मुर्छा पर्न थालेपछि अस्पतालले हतारहतार बिरामीलाई अन्य अस्पतालमा पठाएको थियो । अस्पतालले एकैपटक ८ जना सुत्केरी बिरामी भएपछि थापाथलीको ब्लुक्रस अस्पताल, सिनामंगलको काठमाडांै मेडिकल कलेज, तीनकुनेको कान्तिपुर अस्पताल, महाराजगन्जको त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायतमा ती बिरामीलाई रिफर गरेको थियो ।

प्रतिक्रिया