डिसेम्बरदेखि एकमुष्ट बाघ गणना

काठमाडौं, १ असोज । नेपालमा पहिलोपटक गर्न लागिएको एकमुष्ट बाघ गणना आगामी डिसेम्बरदेखि सुरु हुने भएको छ । गणनाका लागि क्यामेरा ट्रयापिङका लागि आवश्यक पर्ने क्यामेरा जुटाउने काम भइरहेको छ ।

एकमुष्ट बाघ गणना आगामी डिसेम्बरबाट हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट डा. महेश्वर ढकालले बताए । ‘डिसेम्बरदेखि नै बाघ गणना सुरु गर्ने हिसाबले तयारी भइरहेको छ,’ वरिष्ठ इकोलोजिस्ट डा. ढकालले सौर्यसँग भने, ‘त्यसो गर्दा गणनाको नतिजा छिट्टै निकाल्न सजिलो हुन्छ ।’ यसपटक अघिल्ला गणनाजस्तो छुट्टाछुट्टै ठाउँमा वर्ष बिराएर नगरी एकैचोटि सबै ठाउँको गणना गर्न लागिएको उनले बताए । एकैचोटि बाघ गणना गर्दा बाघको अहिलेसम्मकै वास्तविक तथ्यांक आउने उनको दाबी छ । नेपालका चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष गरी चार क्षेत्रलाई बाघको मुख्य वासस्थान मानिन्छ ।
यीमध्ये सबैभन्दा बढी बाघ चितवनमा पाइन्छ ।
नेपालमा देशभरका बाघको एकैचोटि गणना अहिलेसम्म भएको छैन । अहिलेसम्म सबैभन्दा धेरै बाघ पाइने चितवन राष्ट्रिय निकुञ्जमा सुरुमा, त्यसको दुई वर्षपछि पश्चिमका बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा र त्यसपछि पर्सा वन्यजन्तु आरक्षमा बाघको गणना भएको थियो । पछिल्लोपटकको गणना पर्सामा सन् २००८, चितवनमा सन् २०१० मा र बर्दिया एवं शुक्लाफाँटामा सन् २०१२ मा भएको थियो । दुई वर्षसम्म बाघका धेरै बच्चा(डमरु) जन्मिसक्ने, डमरु वयस्क भइसक्ने, वयस्कले सन्तानोत्पादन गरिसक्ने र बूढाखाडा मरिसक्ने हुँदा अघिल्लो तथ्यांक र पछिल्लो तथ्यांक मिलाएर तयार गरिएको एकमुष्ट तथ्यांकलाई भरपर्दो मानिँदैन । त्यसमा पनि बीचमा चोरी–सिकारबाट पनि बाघको संख्या घटेको हुन सक्छ ।
पूर्वमा पर्सा वन्यजन्तु आरक्षको रौतहटदेखि चितवन राष्ट्रिय निकुञ्ज, नवलपरासी, बाँके राष्ट्रिय निकुञ्जको केही भाग, बर्दिया राष्ट्रिय निकुञ्ज, वसन्ता शुक्लाफाँटा वन्यजन्तु आरक्ष हुँदै डडेल्धुराको जंगलमा र पर्सादेखि डडेल्धुराबीचका सामुदायिक वनमा एकैचोटि गणना गरिने बताइएको छ । सन् २०१० को गणनामा चितवनमा एक सय २५ बाघ फेला परेका थिए । नेपालको सबैभन्दा पछिल्लो सन् २०१२ को तथ्यांकअनुसार बर्दियामा ३७ र शुक्लाफाँटामा १० वटा बाघ छन् । चितवनमा सन् २०१० पछि बाघ गणना भएको छैन ।
त्यस्तै, पर्सामा सन् २००८ यता बाघ गणना भएको छैन । पुरानो तथ्यांकअनुसार त्यहाँ चारवटा बाघ थिए । हाल नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, रसिया, थाइल्यान्ड र भियतनाममा मात्रै बाघ पाइन्छ । विश्व वन्यजन्तु कोषका अनुसार एक लाखको हाराहारीमा रहेको विश्वभरको बाघको संख्या पछिल्लो एक शताब्दीमा घटेर तीन हजार दुई सयको हाराहारीमा पुगेको छ । यसको मुख्य कारण बाघको वासस्थान नासिनु रहेको अधिकारी बताउँछन् ।

प्रतिक्रिया