राष्ट्रपतिद्वारा सहमति बनाउन पुनः आग्रह

काठमाडौं, ३१ भदौ । राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुसँग राजनीतिक सहमतिबाट मुलुकलाई निकास दिन पुनः आग्रह गरेका छन् ।
उनले आवश्यक परे आफूले जस्तो सुकै सहयोग गर्न तयार रहेको आश्वासन समेत दिएका छन् । सरकारले सहमति विनानै अध्यादेश सिफारिस गरेकोमा असन्तुष्ट डा.यादवले आफ्नो पनि बाध्यता बुझ्न नेताहरुलाई आग्रह गरे ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा डा.यादवले छिटो सहमति जुटाउन आग्रह गरेको नेताहरुले बताएका छन् । प्रमुख दलका शीर्ष नेताले मुलुकको गम्भीरतालाई ध्यान नदिएको भन्दै राष्ट्रपति डा.यादवले असन्तुष्टि समेत जनाएका थिए ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले मुलुक हेरक क्षेत्रबाट समस्यामा परेको भन्दै सहमतिको विकल्प नरहेको बताए । उनका अनुसार राष्ट्रपति डा.यादवले जसरी हुन्छ जनताले चाहेको संविधान ल्याउन आग्रह गरेका छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले सहमतिका लागि आजदेखि छलफलको सुरुवात गरिने बताए ।
भदौ महिना भित्रै सहमति खोज्ने जनाएका प्रमुख दलहरुले सहमतिका लागि खासै चासो नदेखाए पछि राष्ट्रपति डा.यादवले शीर्ष नेताहरुलाई बोलाएर निकास खोज्न दबाव दिएका हुन् । यस अघि पनि डा.यादवले प्रमुख दलका शीर्ष नेतालाई भदौ भित्रै सहमति खोज्न दबाव दिएका थिए ।
राष्ट्रपति डा.यादवको आग्रह पछि प्रमुख दलका शीर्ष नेताहरुले गम्भीरताका साथ सहमति खोज्ने जनाएका छन् । उनीहरुले संविधानका विवादित विषयमा सहमति खोजेर आवश्यक परेमा संविधानसभा पुनःस्थापनामा समेत जान सकिने उल्लेख गरेका छन् । सहमति नभए नयाँ निर्वाचनमा जाने उनीहरुको भनाई छ ।
राष्ट्रपति डा.यादवसँगको भेटबार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका नेता समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छेदारको सहभागी रहेका थिए ।

प्रतिक्रिया