नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं, ३१ भदौ । नेप्से परिसूचक ११ अंकले बढेको छ । गत साता कारोबार बन्द हँुदा परिसूचक चार सय १८ दशमलव २८ मा पुगेको हो । योभन्दा अघि चार सय ७ दशमलव २८ अंकमा परिसूचक रहेको थियो ।
राजनीतिक दलबीच सहमतिको संकेत देखिएपछि बजारमा केही चहलपहल बढेको छ । योसँगै बैंकको नाफा पनि अघिल्लो बर्षका तुलनामा बढेपछि लगानीकर्ता बजारप्रति केही आकर्षित भएका छन् । योसँगै चाडपर्व नजिकिने क्रम भएकाले पनि बजारमा सेयर खरिदबिक्रीको माहोल सिर्जना भएको छ ।
गत साता स्टक एक्सचेन्जमा एक सय ३० कम्पनीको कारोबार भएको थियो । जसमा सात हजार सात सय ९८ कारोबारबाट ३६ करोड ९९ लाख ६९ हजार हजार रुसपयाँ बराबर ११ लाख ७१ हजार ३३ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
योभन्दा अघि एक सय २७ कम्पनीको कारोबार भएको छ । जसमा आठ हजार ६ सय ४७ कारोबारबाट ३४ करोड १८ लाख १८ हजार रुपियाँ बराबर १३ लाख तीन हजार पाँच सय ७८ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा अघिल्लो साताको तुलनामा ८ दशमलव २४ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र २२ करोड २८ लाख रुपियाँ बराबर कारोबार भएको छ । यो कुल कारोबारको ६० दशमलव २५ प्रतिशत हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि पहिलो दिनका तुलनामा २ दशमलव ८७ अंकले वृद्धि भई १ सय ६ दशमलव ४१ अंकमा पुगेको छ । गत साता कारोबार रकम चार करोड ९८ लाख रुपियाँका आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर एक लाख ३४ हजार दुई सय ४० कित्ताको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । कारोबार संख्यामा एक हजार ५७ वटाका आधारमा हामा मर्चेन्ट एन्ड फाइनान्स अग्रस्थानमा रहेको छ ।
साताको उत्कृष्ट पाँच कम्पनीमा चिलिमे हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, नबिल बंैक र नेपाल बंगलादेश बैंक रहेका छन् । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार हुन नसकेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया