ट्राफिक बन्न रहर लाग्थ्यो

भाइबहिनी हो, मेरो जन्म विसं. २००८ असार ३१ गते कालिम्पोङमा भएको हो । दुई गुँड (दुई आमा) तिरबाट एक दिदी, एक बहिनी अनि आठ दाजुभाइमध्ये म जन्तरे (छैटौँ) हुँ । आफ्नी आमातर्फको चाहिँ जेठो सन्तान हुँ । बुबा आर्मीमा हुनुहुन्थ्यो । म सानो हुँदाको कालिम्पोङमा बास्ना छर्थे मानिसहरू । अहिले कालिम्पोङ मात्र होइन, जताततैका मानिस प्राय: आफूभित्र मगमगे फूल र काँडे सिउँडी दुवै लिएर हिँड्छन् । आवश्यकताअनुसार गुलाब झिकेर बास्ना छर्न खोज्छन् तर ती त पलाँसझैँ हुन्छन्, बास्ना नै नभएका । अनि तिनले सिउँडीझैँ घोच्न थाल्छन् । होस गर्नु है भाइबहिनी † त्यस्ता मानिस तिमीहरूले पनि गाउँघरमा पक्कै भेटेको हुनुपर्छ । धन्दा नमान, जतिसुकै शीतल पाटीमा बसे पनि एक दिन खराब विचार र सोच हुने मानिसले आफैँभित्र होलिका जलाउँछ ।

स्कुल जीवनमा पढाइमा म औसत खालको विद्यार्थी थिएँ । अरू विषयमा ठीकै भए पनि गणितको कक्षामा जहिले पनि त्राहिमाम । स्कुल पढुन्जेल कहिले पनि ढुक्कले सास फेर्न सकिनँ । बस्तीकै स्कुलमा एनके तिमिल्सिना सरले भुइँमा खरीले कखरा लेख्न र चिन्न सिकाउनुभो ।
मेरो उमेर ११–१२ वर्षको थियो, एक जना दाजु मडुवा खैनी खान्थे । खैनी बनाउनचाहिँ कुन्नि किन हो, मलाई लगाउँथे । बनाउँदाबनाउँदै एक दिन मलाई पनि खैनी खान मन लाग्यो । दाजुले थोरै खैनी दिए, मैले ओठको तल लगेर खैनी च्यापेँ । त्यसपछि ओठ र गिजा परपर्‍याउन थाल्यो, रमाइलो मानेँ । बिस्तारै मुख खैनीको रसले भरिन थाल्यो । मैले निल्नुपर्ने होला भनेर घुटुक्क निलेँ । अनि त बेस्सरी रिँगटा चल्यो, टाउको दुख्यो । दाजुले थुक भनेपछि बाँकी खैनी थुक्दै थिएँ, पेट हुँडलिएर आयो । त्यसपछि के भनूँ भाइबहिनी हो, मेरो बिजोग नै भयो । उँभोबाट उल्टी र उँधोबाट टट्टी सँगसँगै पो हुन थाल्यो । तिमीहरूले यस्तो बानी नलिनू है कहिले पनि ।
बच्चामा म लजालु स्वभावको थिएँ । माथि कमिज तल हाफपाइन्ट भिरेर कपडाको झोलामा किताबकापीको थुप्रो बोकी न चप्पल न जुत्ता खाली खुट्टा एसयुएमआई स्कुल पढ्न जान्थेँ । खुट्टाले जुत्ता पाँच कक्षामा पुगेपछि मात्रै लगाउन पायो । कक्षामा सरहरूले विद्यार्थीलाई हात हाल्ने चलन थिएन । बरु गल्ती गरेमा धाप दिँदै सम्झाउँथे । धेरै गृहकार्य दिएर बच्चाहरूलाई दिक्क लगाउने काम सरहरूले गर्दैनथे । बरु अड्कलेर ठिक्क गृहकार्य दिन्थे । बच्चाहरू बेलैमा गृहकार्य गरेर भ्यागुताझैँ ट्यार्रटुर्र गर्दै उफ्रीउफ्री रमाएर घरायसी कार्यमा सघाउन र मज्जाले खेल्न पनि भ्याउँथे । स्कुलको कार्यक्रममा भाग लिन्थे र साथीहरूलाई पनि भाग लिन लगाउँथे । कक्षाको मनिटर थिएँ । भलिबल, बास्केटबलमा ठीकै तर फुटबलमा चाहिँ म उल्टोबाट ‘लेपे’ होइन भाइबहिनी हो, सुल्टोबाट पेले नै थिएँ । हामी दाजुभाइ सकेसम्म बाआमालाई काम गर्न दिन्नथ्यौँ । गाईबस्तुलाई डालेघाँस काटेर ल्याउने, भकारो सोहोर्ने, गाईलाई नुहाइदिई सिङ र खुरमा तेल लगाएर चिटिक्क र राम्री पारिदिन्थ्यौँ । स्कुलमा खाजा खाने वा लाने चलन थिएन । बेलुका घर आएर खान्थ्यौँ । स्कुल आउँदाजाँदा बाटोमा ट्राफिक पुलिसलाई देख्थेँ र हेरेको हेर्‍यै हुन्थेँ । साथीले हल्लाएपछि झसङ्ग हुन्थेँ । माथि ब्यान्ड मास्टरको जस्तो नीलो रंगको लुगा, तल ब्रिटिस खालको पाइन्ट, खुट्टामा कालो बुट, टाउकोमा रिसल्लाले लगाउने रंगीचंगी टोपी ढल्काई मुखमा सिठी च्यापेर प्यार्रपुर्र बजाएको र हातले गाडीलाई रोकिदिने तागत देख्दा मलाई पनि सानो बेलामा ट्राफिक पुलिस बन्न रहर लाग्थ्यो ।
‘राजाले चिन्ने र प्रजाले जान्ने हुनू’ भनेर दसैँमा बाआमाले टीका लगाई आशीष दिनुहुन्थ्यो । त्यस्तो मानिस को होला, म सोच्थेँ । मेरो कलिलो दिमाग हत्तू हुन्थ्यो । तर, जति सोचे पनि उही र उस्तै हात लाग्यो शून्य । अर्को दसैँ आयो, बाआमाले फेरि त्यही आशीष दोहोर्‍याउनुभो । एक दिन मैले पत्ता लगाएँ, राजाले चिन्ने र प्रजाले जान्ने त पक्कै फिल्मको हिरो पो हुन्छ । हिरो त बन्न सकिनँ भाइबहिनी हो, तर फिल्मको निर्देशकचाहिँ बाआमाको आशीर्वादले बनिछाडेँ । म खुसी छु ।
मैले सानो बेलामा सुनेको थिएँ, जिन (भूत) सेतो घोडा चढेर, सेतै लुगा लगाएर साँझ परेपछि हिँड्छ र जसले माग्यो उसलाई केही नबोली थपक्क पैसा दिन्छ । एकपटक फुटबल खेल्दाखेल्दै अबेला भयो । बस्तीमा पुग्न लागेको थिएँ, झमक्क साँझ पर्‍यो । यसो हेर्छु त अलि पर अगाडि नै मैले सेतो घोडामा सेतै लुगा लगाएर जिन मैतिर आउँदै गरेको देखेँ । म मख्ख र छक्क दुवै परेँ । पैसा पाउने भएँ भनेर मक्ख परेँ । अनि छक्कचाहिँ जिनलाई के भनेर बोलाउने सोचेर परेँ । मेरो कलिलो दिमागलाई के गर्ने भन्ने थाहा थिएन । जिन छेउमै आयो । म मनमनै सोच्न थालेँ– दाजु भनूँ कि, काका भनूँ कि, सर भनूँ कि अरू नै केही भनूँ । जिन मेरो छेउमै आइपुगेपछि मैले हात फैलाएँ । मेरो मुखबाट एक्कासि निस्कियो– ‘जिन साहेब, मलाई पनि पैसा देऊ न ।’ जिनले उल्टै मतिर हेरेर अर्ती पो दियो– ‘नानी पैसा माग्ने बानी नराम्रो, काम गरेर पैसा कमाउने है †’ जिन आफ्नो बाटो लाग्यो । मेरो सानो मन खिन्न भयो । धेरै पछि चाल पाएँ, त्यही सेताम्मे व्यक्ति त जिन नभएर सेन्ट जोसेफ स्कुलका फादर पो रहेछन् ।
बाह्र वर्षको थिएँ, साथी र मैले स्कुलछेउको बगैँचामा पसेर खजुर चोरेर खाने निधो गर्‍यौँ । साथीको काँधमा चढेर रूखको खजुर साथीलाई दिन थालेँ । टिपिसकेपछि दुवै भाइ मिलेर ठाँटले खजुर खायौँ र स्कुल गयौँ । भोलिपल्ट प्रिन्सिपलले मलाई र साथीलाई कोठामा बोलाएर सोध्न थाल्नुभयो–
– तिमीहरू झूटो बोल्छौ ?
– बोल्दैनौँ सर ।
– तिमीहरू नचाहिने काम गर्छौ ?
– गर्दैनौँ सर ।
– तिमीहरू चोरी गरी खान्छौ ?
– खान्नौँ सर ।
कोठामा भएको येशुको ठूलो तस्बिर देखाउँदै भन्नुभयो– ‘लु त्यो प्रभुलाई हेरेर भन त, हामी साँच्चै चोरी खान्नौँ भनेर ।’ ईश्वरलाई देखाएपछि हामी चुप लाग्यौँ । केही बोल्ने सकिएन । ‘हो सर, हिजो स्कुलछेउको बगैँचामा खजुर चोरेर खाएका थियौँ’ भन्न पनि भएन । क्या फसाद पर्‍यो । हामी चुपचाप नै थियौँ । सरले आफू बसेको मेचतर्फ बोलाउँदै फोटो देखाउनुभयो । एउटा फोटोमा म साथीको काँधमा बुइ चढेर खजुर टिप्दै थिएँ अनि अर्कोमा चाहिँ हामी खजुर खाइरहेका थियौँ । चोरीका प्रमाण देखेर हाम्रो प्राण नै जालाजस्तो भयो । खलखल पसिना आउन थाल्यो । हातगोडा काम्न थाल्यो, हाम्रो दशा देखेर सरले भन्नुभयो– ‘कहिले पनि ढाँट्नु, झूटो बोल्नु हुन्न । ल अब गएर राम्ररी पढ्ने ।’ हामी कक्षामा गयौँ । बाल्यकालमा सरको अगाडि नौनारी गलेको त्यो घटना म अहिले पनि फुर्सदमा दाह्री कन्याउँदै सम्झन पुग्छु भाइबहिनी हो ।
भाइबहिनीहरू, तिमीहरूलाई एउटा खुसीको खबर पनि भन्छु है त † नेपालमा अहिलेसम्म बालफिल्म बनाउने छुट्टै संस्था थिएन । हामीले चिल्ड्रेन फिल्म सोसाइटीको स्थापना गरेका छौँ । अब चाँडै नै बालमनोविज्ञानमा आधारित फिल्म पनि बनाउँछु । तिमीहरूले पनि हेर्नू है ।
२०२७ सालमा एसयुएमआई स्कुलबाट ११ कक्षा उत्तीर्ण गरेपछि मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो । प्रस्तुति : अनुक्रमराज

(बालबालिकाहरुको स्तम्भ सुनारीका लागि तयार पारिएको लेख)

प्रतिक्रिया