लिलामीमा अध्यक्ष पद

नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष बन्न करोडौँको चलखेल सुरु भएको खबर प्रचार–प्रसार भएका छन् । चलचित्रकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिसमेत बोर्डको अध्यक्ष बनेर फाइदा लुट्ने सोचले विभिन्न शक्तिकेन्द्र धाउने गरेको खुलासा भएको छ । चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन र विस्तार गर्ने उद्देश्यले स्थापित बोर्ड अब बिस्तारै कमाउ अड्डामा रूपान्तरित भएको बुझिन्छ । यसैले गर्दा नाम चलेका डन र ठेकेदारहरूसमेत अध्यक्ष बन्न लालायित बनिरहेका छन् । राजनीतिक नेता र कार्यकर्ता, प्रधानमन्त्रीका आफन्त र मन्त्रीका आसेपासे अथवा सिधै सम्बन्धित मन्त्रीलाई नजराना टक्र्याएर आकर्षक आम्दानी हुने पद हत्याउने चलन स्थापित भएपछि अहिले बोर्ड अध्यक्ष पदको ‘टेन्डर’ बढाबढ भएको हो । नीति, नियम र मापदण्ड सबै भत्काएपछि जसले सक्छ उसले जे गर्दा पनि हुने अवस्था विद्यमान छ । त्यसमा पनि वर्तमान सरकारका प्राय: सबै सदस्य एक मात्र कमाउने उद्देश्य लिएर सत्तामा बसेका हुनाले जुनसुकै पद बिक्रीमा राखिएको छ । यसको ज्वलन्त उदाहरण हो, नेपाल प्रहरीमा देखिएको महानिरीक्षक काण्ड । यसले के स्पष्ट गर्छ भने सबै प्रमुख पदहरू लिलामीमा राखिएको छ । वरिष्ठता, योग्यता, क्षमता होइन ‘थैलो’ र ‘दैलो’ का आधारमा निर्णय गरिन्छ । अहिले चलचित्र विकास बोर्डको अध्यक्ष बन्न लालायित व्यक्तिहरूले सरकारको उक्त फर्मुला बुझेका छन् । त्यही कारण उनीहरूले थैलो बोकेर दैलो धाउँदै छन् । जबसम्म सरकारमा बस्नेहरूमा मूल्य, मान्यता, नैतिकता र कर्तव्यबोध हुँदैन, तबसम्म यहाँ सबै पद सुक्रीबिक्री भइरहन्छन् ।
नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदप्रति अहिले एक्कासि किन यति बिघ्न आकर्षण बढ्यो ? यसको जवाफ खोज्न जरुरी छ । ठेकेदार, डन, व्यापारी, भुरे नेता र चलचित्रकर्मी उक्त पदका लागि करोडौँ खर्च गर्न तयार छन् ? के उनीहरू प्रतिष्ठानका लागि पद किन्दैछन् ? पक्कै होइन, त्यसका कैही निश्चित कारण छन् । निकट भविष्यमा नै सरकारले दोलखा जिल्लामा फिल्म स्टुडियो निर्माणका लागि करोडौँ बजेट छुट्याउने भएको छ । यही निकट भविष्यमा छुट्याउन लागिएको बजेटमाथि अर्जुनदृष्टि दिँदै अहिले करोडसम्म खर्च गरेर चलचित्र विकास बोर्डको अध्यक्षको पद हत्याउन चलखेल सुरु भएको हो । फिल्म स्टुडियो निर्माणका लागि दोलखा जाने ‘पैसो’ माथि वर्चस्व कायम गर्ने निहित उद्देश्य राखेर पद हत्याउन खोज्नेहरूले चलखेल गर्नु अनौठो होइन । तर, बोर्डको अध्यक्ष बन्न डन, गुन्डा र ठेकेदारको शरणमा पुग्नु भने अनौठो मानिएको छ । भविष्यमा निर्माण हुने स्टुडियोको रकम ठेकेदार र डनहरूको हातमा पुग्ने ठहरसहित दूरदृष्टि राखेकाहरूले अहिले डन र ठेकेदारलाई आफ्नो पक्षमा लिने नयाँ शैली अपनाएका छन् । यो घीनलाग्दो र लाजमर्दो दृश्य चलचित्र विकास बोर्ड अध्यक्ष पदका हकमा मात्र होइन, सबैतिर हेर्न पाइन्छ । यस्ता कार्य अहिले नै रोकिने अवस्था छैन । यसका लागि मानिसको सोच, व्यवहार र नीतिमा परिवर्तन आउनुपर्छ ।
बोर्डको अध्यक्ष कस्तो व्यक्ति बन्ने ? विधानमा के छ ? मापदण्ड के हो ? नैतिकता र जिम्मेवारी कसले बोध गर्ने ? विभिन्न सवालहरू उठ्ने गरेका छन् । तर, यस्ता महत्त्वपूर्ण सवालको सुनुवाइ हुने र जवाफ दिने कुनै निकाय छैन । जसले गर्दा पदको सुक्रीबिक्री सामान्य कार्य भएको छ । नेपाल चलचित्र विकास बोर्डको काम के हो ? कर्तव्य र अधिकार कति छ भन्ने थाहा नभएको व्यक्ति पनि थैली खोलेर अब अध्यक्ष बन्न सक्छ । किनभने यो एउटा सामान्य पद हो । अहिले विभिन्न संस्थान, निजामती कर्मचारी प्रशासन, प्रहरी संगठनमा मात्र होइन, वर्तमान सरकार संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा समेत चलखेल सुरु गर्नेवाला छ । बाधा अड्काउ फुकाउने अध्यादेश जबरजस्ती राष्ट्रपतिकामा पेस गर्नुपर्ने निहित उद्देश्य नै यही हो । तसर्थ, नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष बन्न पैसो भएका विभिन्नखाले व्यक्ति लालायित हुनु स्वाभाविकै हो । तर, यस्ता विकृति, विसंगति र गैरजिम्मेवार कार्य कसरी रोक्ने ? स्वाभिमानी नेपालीले सोच्नुपर्छ । राजनीति गर्ने व्यक्तिहरू सबै पदका लागि मापदण्ड तयार गर्न रुचाउँदैनन् । यसका लागि चलचित्रकर्मीहरूले नै ठूलो दबाब सिर्जना गर्नुपर्छ । नीति र मापदण्डमार्फत बोर्ड पदाधिकारी नियुक्त गर्ने प्रक्रिया अवलम्बन गरिए मात्रै अहिले देखिएजस्तो अति चलखेल रोकिन सक्छ । अन्यथा चलखेल सधैँको रोग बनेर रहिरहनेछ ।

प्रतिक्रिया