छानबिन भएन दर्ता चलानीमा किर्ते प्रकरण

राजविराज, ३१ भदौ । बीचमा खाली ठाउँ राखेर चालु आर्थिक वर्षमा समेत गत वर्षको दर्ता–चलानी रजिस्टर प्रयोग गर्दै आएको राजविराज नगरपालिकाका कर्मचारीमाथि छानबिन भएको छैन । नगरपालिकाले दुवैखाले दर्ता–चलानी रजिस्टर प्रयोग गरी गैरकानुनी रूपमा काम गर्दै आएको रहस्य सार्वजनिक भएको एक महिना बित्नसमेत छानबिन सुरु नभएको हो ।

कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठलगायत केही कर्मचारीको निर्देशनमा नगरपालिकाले दुईवटा दर्ता–चलानी रजिस्टर प्रयोग गरिरहेको विषय ६ भदौमा सार्वजनिक भएको हो । घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रशासन कार्यालयले दर्ता–चलानी रजिस्टर नियन्त्रणमा लिएर कार्यालयमा थन्क्याएको छ । यसबाहेक अन्य कुनै कारबाही अघि बढ्न सकेको छैन । दुईवटा दर्ताचलानी रजिस्टर प्रयोगका विषयमा पहिलोपटक जिल्ला प्रशासन कार्यालय सप्तरीले सोधेको स्पष्टीकरणमा भूलवश खाली ठाउँ रहेको जवाफ पठाएको नगरपालिकाले दोस्रोपटक आएको स्पष्टीकरणलाई दराजमा थन्क्याइदिएपछि अन्य प्रक्रियामा पूर्णविराम लागेको हो । जवाफ चित्तोबुझ्दो नभएको भन्दै प्रशासनले दोस्रो पत्र लेखेर वास्तविक कारण लेखेर पठाउन नगरपालिकालाई आदेश गरेको थियो ।
सुरुआतमा निकै चासो देखाएको प्रशासनले पछिल्लो समयमा घटनाप्रति चासो नदिएका कारण छानबिन प्रक्रिया प्रभावित भएको छ । ‘प्रशासन कार्यालयको पत्रअनुसार नगरपालिकाले १९ भदौमा जवाफ पठाउनुपर्ने थियो,’ एक कर्मचारीले भने, ‘तर जवाफ नआएको विषयमा कार्यालयले हालसम्म खोजी गरेको छैन ।’ कार्यालय प्रमुखकै निर्देशनमा कानुन मिच्ने काम भएको पुष्टि हुँदा पनि कारबाही प्रक्रिया अगाडि नबढाउनु शंकाको विषय भएको भन्दै कर्मचारी स्रोतले भन्यो, ‘कारबाही त टाढाको कुरा छानबिनसम्म नहुनुले जिल्ला प्रशासन कार्यालयसमेत शंकाको घेरामा तानिएको छ ।’
सिडिओ हरिराज पन्तले दोहोरो दर्ता–चलानी किताब प्रयोगको विषयमा सोधिएको प्रश्नको जवाफ नगरपालिकाले चार दिनअघि नै पठाइसकेको जनाए । नगरपालिकाले पठाएको पत्रमा उल्लिखित कुरा भने सिडिओ पन्तले हालसम्म सार्वजनिक गरेका छैनन् । तर सोही कार्यालयको दर्ता र मुद्दा फाँटले भने शुक्रबारसम्म नगरपालिकाले पत्रको जवाफ नपठाएको दाबी गरेका छन् । ‘शुक्रबारसम्म नगरपालिकाको कुनै पत्र कार्यालयमा आएको छैन,’ शाखा अधिकृत विष्णुरञ्जन बरालले भने, ‘त्यसबारे अगाडि के गर्ने भन्ने विषयमा पनि कुनै निर्देशन छैन ।’

प्रतिक्रिया