पाँच बुँदेलाई आधार मान्न कांग्रेसको प्रस्ताव

काठमाडौं, ३० भदौ । विपक्षी दल कांग्रेसले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुका बीच बिगतमा भएको पाँच बुँदे सहमतिलाई आधार मानेर जानुपर्ने निष्कर्ष निकालेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको वैठकले पाँच बुँदे सहमति अनुरुप अघि बढे मात्र मुलुकले सही निकास पाउने ठहर हो । सोही आधारमा दलहरुसँगको बार्तालाई अघि बढाउने निष्कर्ष निकालिएको कांग्रेस उप–सभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
उनले भने, ‘पाँच बुँदेकै जगमा सहमतिको प्रयास खोज्ने निणर्य गरेका छौं ।’ कांग्रेसले पाँच बुँदेका आधारमा सरकारको नेतृत्व पनि आफूले पाउनुपर्ने जनाएको छ ।
कांग्रेसले राजनीतिक निकासका लागि संविधानसभाको पुनःस्थापना वा नयाँ निर्वाचन भन्ने विषयमा भने टुंगो लगाएको छैन ।
बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस नेता शेरबहादुर देउवाले संबिधानको पुनःस्थापनामा आफ्नो अडान कायमै रहेको बताए । उनले नयाँ निर्वाचनमा जानका लागि अन्तरिम संविधान संशोधन आवश्यक रहेको भन्दै संविधान पुनःस्थापना नै उत्तम विकल्प रहेको दोहराए ।

प्रतिक्रिया