नेपालको उपाधि भिडन्त फेरि भारतसित

काठमाडौं, ३०  भदौ । नेपाली महिला फुटबल टिम लागातार दोस्रोपटक  साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कोलम्बोमा शुक्रबार भएको सेमिफाइनमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गर्‍यो । नेपालका लागि अनु लामा, दीपा अधिकारी र लक्ष्मी पौडेलले गोल गरे । जितका बावजुद पहिलो २० मिनेटमा अग्रता कायम गर्ने र तीन गोलको अग्रता लिएपछि रक्षात्मक हुने नेपालको नीति भने पूर्णरूपमा असफल भयो । नेपालले पहिलो अग्रता लिन नै दोस्रो हाफ कुर्नुपरेको थियो । सन् २०१० मा बंगलादेशमा भएको साग खेलकुदमा नेपालसँग ८–० ले पराजित भएको श्रीलंका अहिले भने निकै सुधारिएको अवस्थामा देखिएको थियो ।
४८औं मिनेटमा सजना रानाको प्रहार साइडबारमा लागेर फर्केपछि अनुले रिबाउन्डमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएकी थिइन् । ७६औं मिनेटमा दोस्रो गोलमा पनि सजनाको भूमिका महत्त्वपूर्ण रह्यो । उनको प्रहार श्रीलंकाली गोलरक्षक साखुराले फुत्काएपछि दीपाले पनि रिबाउन्डमा गोल गरिन् । नेपालले इन्जरी समयको अन्तिम मिनेटमा तेस्रो गोल पेनाल्टीमार्फत गरेको थियो । श्रीलंकाली रक्षक महेसिकाले अनुलाई फल प्रहार गरेपछि लक्ष्मीले गोल गरिन् । लामो प्रहारका लागि समेत परिचित लक्ष्मी ८४औं मिनेटमा मात्र निरु थापालाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेकी थिइन् ।
नेपालले गोलको सबैभन्दा राम्रो अवसर भने पहिलो हाफमै पाएको थियो । ३९औं मिनेटमा श्रीलंकाली रक्षकले डिबक्समा हयान्ड गरेपछि प्राप्त पेनाल्टीलाई जमुना गुरुङले खेर फालेकी थिइन् । गोलको पहिलो अवसर श्रीलंकाले पाएको थियो । छैटौँ मिनेटमा एर्‍यान्डीले पाएको सहज अवसर गुमाइन् । १३औं मिनेटमा निरुकै पासमा जमुनाले पाएको सहज मौका गुमाइन् । एर्‍यान्डीले अर्को अवसर पनि गुमाइन् । लगातार अवसर गुमाउने क्रममा निरुले दोस्रो हाफमा एउटा सहज अवसर गुमाइन् भने अनुले पनि त्यत्तिकै राम्रा अवसर गुमाइन् । अब उपाधिका लागि नेपालले भारतविरुद्ध आइतबार खेल्नेछ ।
गोल नेपाल डटकमले दिएको जानकारीअनुसार, डिफेन्डिङ च्याम्पियन भारतले शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा अफगानस्तिानलाई ११–० ले पराजित गर्‍यो । अफगानस्तिानका लागि मणिपुरे स्ट्राइकर बमबमदेवी र कमलादेवीले हयाट्रिक गरे । यसैगरी, पछिल्लो दुई वर्षदेखि सानदार प्रदर्शन गर्दै आएकी सस्मिता मल्लिकले दुई गोल गरिन् । मल्लिकले प्रतियोगिातको पहिलो संस्करणमा पनि सानदार प्रदर्शन गरेकी थिइन् । उनकै फ्रिकिक गोलमा भारतले फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । परमेश्वरी देवी, पिंकी भोमाल र रोमा देवीले पनि गोल गरे ।

प्रतिक्रिया