एमाओवादी जनवर्गीय संगठनमा तीव्र विवाद

काठमाडौं, ३० भदौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर कार्यकर्ताबीच विवाद चर्किएपछि जनवर्गीय संगठनहरूको सम्मेलन अनिश्चित भएको छ ।
सम्मेलनको मिति तय भएपछि जनवर्गीय संगठनमा अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराई पक्षका कार्यकर्ताबीच विवाद चर्किएकाले पार्टीले सम्मेलन स्थगन गरेको हो । होटल तथा रेस्टुराँ मजदुर संगठनमा त दुई पक्षले छुट्टाछुट्टै सम्मेलन गर्ने घोषणासमेत गरेका थिए । उनीहरूले छुट्टाछुट्टै समिति पनि बनाएका थिए । पार्टीले भने सम्मेलन सार्नुको कारण प्राविधिक भएको जनाएको छ ।
पार्टी प्रवक्ता अग्नि सापकोटाले शुक्रबार विज्ञप्तिमार्फत अर्को निर्णय नभएसम्म सम्मेलन स्थगन गरिएको जनाएका छन् । ‘कतिपय प्राविधिक र अन्य जटिलताका कारण जनवर्गीय संगठनको निर्धारित सम्मेलन स्थगन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्मेलनको अर्को मिति जनवर्गीय संगठनका फ्रयाक्सन इन्चार्ज र सम्बन्धित संगठनका पदाधिकारीसँग सल्लाह गरेर तोकिनेछ ।’
मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी यसअघि एमाओवादीले जनवर्गीय संगठनहरूको सम्मेलनको मिति तोकेको थियो । २४ देखि २६ मंसिरसम्म अखिल नेपाल महिला संघको सम्मेलन चितवनमा, २५ देखि २८ मंसिरसम्म दलित मुक्ति मोर्चाको काठमाडौंमा, २७ देखि ३० मंसिरसम्म अखिल नेपाल ट्रेड युनियन महासंघको काठमाडौंमा, ८ देखि १० मंसिरसम्म तमु मुक्तिमोर्चाको पोखरामा र १२ देखि १४ मंसिरसम्म तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सम्मेलन काठमाडौंमा गर्ने निर्णय पार्टीले गरेको थियो ।
त्यस्तै, १५ देखि १७ मंसिरसम्म योङ कम्युनिस्ट लिग (वाइसिएल)को काठमाडौंमा, ९ देखि ११ मंसिरसम्म अखिल नेपाल शिक्षक संगठनको काठमाडौंमा, १६ देखि १८ मंसिरसम्म अखिल नेपाल जनसांस्कृतिक महासंघको सम्मेलन नेपालगन्जमा गर्ने निर्णय पार्टीले गरेको थियो ।

प्रतिक्रिया