चित्रमा धार्मिक संवेदना

एउटा अमेरिकी कम्पनीले उत्पादन गरेका जुत्तामा भगवान गौतम बुद्धको तस्बिर अंकित गरिएको विषयले ठूलो विवाद उत्पन्न गर्‍यो । बुद्ध जन्मेको देश नेपाललाई त्यो विषय निकै बिझायो । धार्मिक भावनामा आघात पुर्‍याएको भन्दै  सरकारले त्यो कम्पनीका जुत्ता नेपालमा बेच्न नदिने निर्णय नै गरेको छ । जनस्तरबाट पनि विरोधका स्वरहरू तीव्ररूपमा आइरहेका छन् । धर्मसित जोडिएका विषयहरू कति संवेदनशील हुन्छन् भन्ने उदाहरण हो यो । धार्मिक भावनामा ठेस पुग्दा–पुर्‍याइँदा उत्पन्न हुन सक्ने सम्भावित प्रतिक्रियाको कुनै आँकलन गर्न सकिँदैन ।
प्रसंग सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनका लागि राखिएका चित्र र त्यसमा प्रशासनले गरेको सिलबन्दीको हो । ११ दिनदेखि चलिरहेको ‘द राइज अफ कोलाट्रल’ शीर्षक प्रदर्शनीमा कलाकार मनीष हरिजनका ११ वटा चित्र राखिएका थिए । चित्रमा हिन्दूधर्मका देवीदेवतालाई पात्र बनाइएको छ । कलाकारले पूर्वीय र पश्चिमी कलाको संमिश्रणका रूपमा आफूले यी चित्रहरू बनाएको बताएका छन् । तर हिन्दूवादीहरूको संगठन विश्वहिन्दू महासंघले भने ती चित्रहरूबाट हिन्दूधर्मको अपमान भएको भन्दै विरोध जनाएको छ । विशेषगरी देवीको औँलाले अश्लील इसारा गरेको देखाइएकोमा उसको आपत्ति छ । धर्मसित जोडिएको विषय भएकाले चित्रकारले व्यावसायिकता मात्र नहेरेर निकै संयम र संवेदनशीलता पनि देखाउनुपथ्र्यो । तर, उनी अलिकति चुकेका छन् । चित्रमा देवीदेवताहरूलाई अस्वाभाविक र विवादास्पद भंगीमामा प्रस्तुत गरिएको छ । यसबाट हिन्दूधर्मका कट्टरपन्थीहरू उत्तेजित बनेका छन् भने सरकारले प्रहरी नै पठाएर ग्यालरीलाई सिल गरेको छ ।
पछिल्लो समय नेपालमा अभिव्यक्ति स्वतन्त्रताको व्यापकरूपमा दुरुपयोग भइरहेको चर्चा बेलाबेला चल्ने गरेको छ । ०४६ सालमा प्रजातन्त्र पुन:स्थापनापश्चात् नेपालमा अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास हुन थालेको हो । चित्र पनि अभिव्यक्तिकै एउटा माध्यम भएकाले मन लागेको चित्र बनाउन पाउनु पनि निश्चितरूपमा अभिव्यक्ति स्वतन्त्रताभित्रै पर्छ । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा अर्काको धार्मिक भावनामाथि ठेस पुग्ने किसिमका विचार प्रवाह गर्नुलाई उचित मान्न सकिँदैन । यसमा कलाकारको स्व:नियन्त्रण आवश्यक छ । यद्यपि, यिनै चित्रहरूका कारण कलाकारलाई ज्यान मार्नेसम्मको धम्की आइरहेको पनि सार्वजनिक भएको छ । विश्वहिन्दू महासंघका जिम्मेवार व्यक्तिबाटै धम्की आएको कलाकारले बताएका छन् । महासंघका अध्यक्ष आफै ग्यालरीमा पुगेर धम्की दिएको उनको भनाइ छ । यदि सत्य हो भने यो आफैमा भत्र्सनायोग्य कार्य हो । कुनै पनि विषय र विवादलाई प्रक्रियागतरूपमा सुल्झाउन सकिन्छ । कुनै पनि विषयलाई लिएर कसैलाई ज्यानको धम्की दिनु कानुनी शासनमा अक्षम्य छ । प्रहरी र प्रशासनले यसलाई गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्छ । चित्रहरू कस्ता थिए भन्ने प्रश्न दोस्रो हो ।
भारतमा देशको राष्ट्रियताविरोधी आपत्तिजनक कार्टुन बनाएको आरोपमा एक कार्टुनिस्टलाई जेलमा राख्दा त्यसले विश्वव्यापी तरंग उत्पन्न गर्‍यो । यसले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै चौतर्फी दबाब आएपछि सरकार बाध्य भएर कार्टुनिस्टलाई जेलबाट रिहा गर्न तयार भयो । नेपालमा पनि सानो विवादले पछि गएर ठूलो रूप लिएका उदाहरण प्रशस्तै छन् । विभिन्न स्वार्थ बोकेर बसेका राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति एवं समूहहरूले धमिलो पानीमा माछा मार्न यस्तै संवेदनशील मुद्दाहरूको खोजी गर्ने गर्छन् । बेलैमा प्रक्रियागतरूपमा हल नगरे यो प्रकरणले पनि ठूलो रूप नलेला भन्न सकिन्न । कलाकारलाई धम्क्याइएको र ग्यालरीमा ताला लगाइएको विषयलाई लिएर कलाकारहरूले आपत्ति जनाएका छन् । यस विषयमा प्रहरीले तत्कालै छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्छ ।
नेपाल धार्मिक सहिष्णुताका लागि विश्वमै चिनिएको छ । विभिन्न धर्म मान्ने समुदाय यहाँ घुलमिल र मिलजुल भएर बसिरहेका छन् । यो सद्भाव भड्काउने प्रयास बेलाबेलामा नभएको होइन तर जनस्तरको सुझबुझबाट यस्तो दुष्प्रयास अहिलेसम्म सफल भएको छैन । धर्मको विषयलाई लिएर एकअर्काप्रति विद्वेष फैलाउने तत्वलाई पहिचान गरी समाजबाट अलग्याउन ढिलाइ गर्नुहँदैन ।

प्रतिक्रिया