बल्ल बाघको वास्तविक तथ्यांक आउने

काठमाडौं, २९ भदौ । पाटेबाघको सबैभन्दा भरपर्दो तथ्यांक सन् २०१३ मा प्राप्त हुने भएको छ । बाघ पाइने राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्र एवं सामुदायिक वनमा सन् २०१३ मा एकसाथ बाघ गणना गरिने भएको छ ।
अहिलेसम्म देशभरका बाघको एकसाथ गणना भएको छैन । सबैभन्दा धेरै बाघ पाइने चितवन राष्ट्रिय निकुञ्जमा सुरुमा, त्यसको दुई वर्षपछि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा र त्यसपछि पर्सा वन्यजन्तु आरक्षमा बाघको गणना गरिएको थियो । पछिल्लोपटकको गणना पर्सामा सन् २००८, चितवनमा २०१० र बर्दिया एवं शुक्लाफाँटामा २०१२ मा भएको थियो ।
दुई वर्षसम्ममा बाघका धेरै बच्चा (डमरु) जन्मिसक्ने, डमरु वयस्क भइसक्ने, वयस्कले सन्तानोत्पादन गरिसक्ने र बूढाखाडा मरिसक्ने हुँदा अघिल्लो र पछिल्लो तथ्यांक मिलाएर तयार गरिएको एकमुष्ट तथ्यांकलाई भरपर्दो मानिँदैन । त्यसमा पनि बीचमा चोरी–सिकारबाट पनि बाघको संख्या घटेको हुन सक्छ । त्यसैले सन् २०१३ मा बाघ गणनाबाट एकसाथ आउने तथ्यांक अहिलेसम्मकै वास्तविक हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
‘अघिल्लामा जस्तो ग्याप नगरी एकसाथ गर्न लागिएकाले अबको गणनाबाट देशभरका बाघको वास्तविक तथ्यांक आउँछ,’ विभागका प्रवक्ता एवं संरक्षण शिक्षा अधिकृत कमलजंग कुँवरले सौर्यसँग भने, ‘पर्सादेखि शुक्लाफाँटासम्म एकसाथ गणना गर्ने तयारी भइरहेको छ ।’
उनले पूर्वमा पर्सा वन्यजन्तु आरक्षको रौतहटदेखि चितवन राष्ट्रिय निकुञ्ज, नवलपरासी, बाँके राष्ट्रिय निकुञ्जको केही भाग, बर्दिया राष्ट्रिय निकुञ्ज, वसन्ता, शुक्लाफाँटा वन्यजन्तु आरक्ष हुँदै डडेल्धुराको जंगलमा र पर्सादेखि डडेल्धुराबीचका क्षेत्रमा बाघ पाइने सामुदायिक वनमा पनि गणना गरिने जानकारी गराए ।
एकमुष्ट गणनामा ६० लाख रुपियाँ खर्च हुने अनुमान विभागले गरेको छ । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष गरी चार क्षेत्रलाई बाघको मुख्य वासस्थान मानिन्छ । यीमध्ये सबैभन्दा बढी बाघ चितवनमा पाइन्छन् । सन् २०१० को गणनामा चितवनमा एक सय २५ वटा बाघ फेला परेका थिए ।
त्यसबेला एक ठाउँको मात्रै गणनाबाट जम्मा एक सय २५ बाघ पाइएको भए पनि सन् २००८ को बर्दियाको १८, शुक्लाफाँटाको ८ र पर्सा वन्यजन्तु आरक्षका ४ गरी ३० वटा थपेर बाघको संख्या एक सय ५५ भनिएको थियो । सन् २०१० र २००८ को तथ्यांकलाई जोडेर एकमुष्ट भनिएको एक सय ५५ मा सन् २०१२ मा बर्दियामा बढेको १९ र शुक्लाफाँटामा बढेको २ गरी २१ थपेर बाघ बढेर एक सय ७६ पुगेको भनिएको छ ।
सबै ठाउँमा एकसाथ बाघ गणना गर्दा पुरानै विधि क्यामेरा ट्रयापिङ अपनाइने विभागले जनाएको छ । फरक–फरक वर्षमा गणना गरिए पनि सबैतिर बढेको बाघको संख्या, वासस्थान सुधार, चोरी–सिकार कम गर्न सक्नुलगायतले अबको गणनाबाट बाघको संख्या थपिने विश्वास गरिएको विभागका प्रवक्ता कुँवरको भनाइ छ ।
पछिल्लो तथ्यांकअनुसार बर्दियामा ३७ र शुक्लाफाँटामा १० वटा बाघ छन् । चितवनमा सन् २०१० पछि गणना भएको छैन । त्यसबेलाको तथ्यांकअनुसार त्यहाँ एक सय २५ बाघ छन् । पर्सामा २००८ पछि गणना भएको छैन, पुरानो तथ्यांकअनुसार त्यहाँ चारवटा बाघ थिए ।

प्रतिक्रिया