सिंहको शोकमा सप्तरी बन्द

राजविराज, २९  भदौ । गणतन्त्रका लागि हतियार उठाएका नेता रामराजाप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार गृहजिल्लामा बजार तथा पसल बन्द गरिएको छ । उद्योग वाणिज्य संघ सप्तरीको आह्वानमा बिहीबार बिहानदेखि राजविराजका पसल तथा बजार बन्द भएका हुन् । सिंहको निधनपछि बुधबार राजविराजमा बसेको संघको बैठकले बजार बन्द राख्ने निर्णय गरेको हो ।
सिंहको निधनमा शोक मनाउन जिल्ला र पुनरावेदन अदालतमा मुद्दा सुनुवाइ स्थगन गरिएको थियो । स्वर्गीय सिंह एकताका सर्वोच्च अदालतमा कानुन व्यवसायीसमेत रहेकाले एक दिनका लागि मुद्दा सुनुवाइ बन्द गरिएको पुनरावेदन अदालत बार इकाइ राजविराजका अध्यक्ष हेमनारायण चौधरीले बताए ।
सदरमुकाम राजविराजका शिक्षण संस्थासमेत बन्द गरिएका छन् । देश र जनताका लागि सिंहले दिएको योगदानको कदरस्वरूप एक दिन पठनपाठन बन्द गरिएको निजी तथा आवासीय विद्यालय अगनाइजेसन, नेपाल (प्याब्सन) सप्तरीका अध्यक्ष अनिल झाले बताए ।
यसैगरी विभिन्न संघसंस्थाले समेत उनको निधनले देश र जनतालाई अपूरणीय क्षति पुगेको जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । स्वर्गीय सिंह एक नि:स्वार्थ क्रान्तिकारी योद्धा भएको जनाउँदै गणतन्त्रका निम्ति उनले देखाएको बाटो सबैका लागि मार्गदर्शक हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया