कांग्रेस नेतृत्वमा नयाँ सरकारः गौतम

बाँके, २८ भदौ । एमाले उपाध्यक्ष वामदेव गौतमले कामचलाउ सरकारको बहिर्गमन पछि कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् ।
नेपालगञ्जमा आज आयोजित कार्यक्रममा उनले एमाले कांग्रेसकै पक्षमा रहेको बताए । उनले असंवैधानिक रूपमा कुर्सीमा बसिरहेका कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई पदत्याग गर्न सुझाव दिए । भट्टराईको बहिर्गमन पछि मुलुकले सहमतिको सरकार पाउने गौतमको भनाई थियो ।
‘कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने पक्षमा एमालेको प्रस्ताव छ,’ उनले भने, ‘कांग्रेसले कसको नाम अघि सार्छ त्यो उसको आन्तरिक विषय हो ।’
उपाध्यक्ष गौतमले एकल जातीयताका आधारमा संघीय राज्य निर्माण हुन नसक्ने दोहराएका छन् । उनले एकल जातीय राज्यले मुलुकमा द्वन्द्व निम्ताउने बताए ।
‘बहुभाषिक, बहुजातीय र बहुधार्मिक संस्कृतिको मुलुकमा एकल जातीय राज्य निर्माण गर्नु हुँदैन,’ उनले भने, ‘एकल जातीय राज्य भयो भने आफूले खनेको खाल्डोमा नेताहरु आफै पर्ने छन् ।’

प्रतिक्रिया