कार्टुनिस्ट रिहा

नयाँदिल्ली : देशद्रोहको आरोपमा पक्राउ गरिएका भारतका कार्टुनिस्ट असिम त्रिवेदीलाई रिहा गरिएको छ । कार्टुनिस्ट पक्राउको  सर्वत्र विरोध भएपछि उनलाई रिहा गरिएको हो । बुधबार बम्बई हाई कोर्टले पाँच हजारको बिगो तिराएर त्रिवेदीलाई रिहा गर्न आदेश दिएपछि मुम्बईको अर्थर रोड जेलबाट उनी रिहा भएका हुन् । भारतका राष्ट्र चिह्नको अपमान गरी राष्ट्रद्रोह गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । भारतको संविधान, राष्ट्रिय झन्डा र संसद्को अपमान गरेको आरोपसमेत उनलाई लगाइएको थियो । उनलाई २४ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिने तय भए पनि अदालतले बिगो तिराएर मुक्त गर्न निर्देशन दिएको हो । जेलमुक्त भएपछि त्रिवेदीले भारतमा विद्यमान दुरावस्था चित्रण गर्ने उद्देश्यले आफूले कार्टुन बनाएको दाबी गरेका छन् । साथै उनले मुलुकमा देशद्रोहसम्बन्धी कानुन परिवर्तन  गर्न माग गरेका छन् । निर्दोषलाई राष्ट्रघाती करार दिन खोज्ने कानुन अन्त्य गर्न अब आफू अग्रसर  हुने उनले प्रस्ट पारे । त्रिवेदीमाथि लागेको आरोप प्रमाणित भए उनलाई तीन वर्षको जेल सजाय हुनेछ । मुम्बईका अधिवक्ताले उजुरी हालेपछि त्रिवेदीलाई पक्राउ गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया