पतिबाट कुटिएकी गर्भवती जीवनमरणको दोसाँधमा

नेपालगन्ज, २८ भदौ । पतिबाट निर्घात पिटिएकी बाँके साईगाउँ–४ की गर्भवती किशोरी अस्पसना कवाडिया जीवनमरणको दोसाँधमा छिन् । नेपालगन्ज शिक्षण अस्पतालमा उपचार गराइरहेकी किशोरी बुधबार साँझसम्म होस खुलेको छैन ।

आइतबार पतिले निर्घात कुटेपछि भेरी अञ्चल अस्पताल भर्ना भएकी कवाडियालाई चिकित्सकले ठीक भएको भन्दै मंगलबार डिस्चार्ज गरेका थिए । उनलाई त्यही दिन साँझ अस्पतालबाट घर लगिएको थियो । तर, बुधबार बिहान चोट बल्झिएर उनी बेहोस भएको किशोरीका बाबु इसाक कवाडियाले जानकारी दिए । ‘बिहान एक्कासि बेहोस भई,’ इसाकले भने, ‘शरीरमा पानी छम्किँदा पनि होस नखुलेपछि अस्पताल ल्याऔँ ।’ इसाकका अनुसार किशोरीको गुप्तांगबाट सेतो पानी बगिरहेको छ ।
बेहोस भएपछि गाउँले मिलेर किशोरीलाई भेरी अञ्चल अस्पताल ल्याइएको हो । त्यहाँका चिकित्सकले बिरामीको अवस्था गम्भीर रहेको र आफूहरूले बचाउन नसक्ने भनेपछि उनलाई नेपालगन्ज शिक्षण अस्पतालमा लगिएको हो ।
‘डाक्टरले के भयो भन्ने खुलाएका छैनन् । अवस्था गम्भीर छ मात्र भन्छन्,’ किशोरीका बाबुले सुनाए । किशोरीको दिनभर होस नखुलेपछि परिवार र आफन्त आत्तिएका छन् । किशोरीको अवस्था बुझ्न उनीहरू अस्पतालमा आएका थिए । किशोरीलाई भेट्न परिवारका सदस्य भने आएका छैनन् । अस्पसनालाई निर्घात कुट्ने पति १८ वर्षीया मोहमद राई फरार छन् । राईका बाबु इद्रिस प्रहरी हिरासतमा छन् । विवाहपूर्व अवैध सम्बन्ध राखेको भन्दै गाउँलेहरू मिलेर दुवैको विवाह गरिदिएका थिए ।
तर, किशोरीले यसअघि नै आफूलाई राईले जबर्जस्ती करणी गरेर गर्भ रहेको र उसलाई बचाउन गाउँलेले जबर्जस्ती विवाह गरिदिएको आरोप लगाएकी थिइन् । अस्पसनालाई घर लगेदेखि नै पतिले दु:ख दिँदै आएका थिए । बाबु इसाकले भने, ‘उसले छोरीलाई कहिल्यै पत्नीको व्यवहार गरेन । सधैँ पिट्ने र भोकै राख्ने गथ्र्यो ।’
छोरीलाई पिटेको देखेपछि बचाउन गएका बाबुलाई समेत राईका परिवारले कुटेका थिए । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । यता प्रहरीले अस्पसनामाथि कुटपिट गर्ने उनका पति र काका ससुरालाई पक्राउ गर्न सकेको छैन । पीडित किशोरीका परिवारले प्रहरीले दोषीलाई कारबाही गराउनुको साटो मिलाउने प्रयास गरिरहेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसन्धान अधिकृत शिवबहादुर सिंहले घटनाको अनुसन्धान गरिरहेको र दोषीलाई कानुनअनुसार कारबाही भइछाड्ने बताए ।

प्रतिक्रिया