पत्रकार खड्काको मृत्यु

कैलाली : शनिबार भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका बझाङका पत्रकार नरेश खड्काको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
अचेत अवस्थामा रहेका खड्काको अन्नपूर्ण न्युरो अस्पतालमा बुधबार साँझ मृत्यु भएको हो । समाचार संकलन तथा सम्प्रेषणका लागि हेमन्तबाडास्थित घरबाट सदरमुकाम चैनपुर गइरहेको बेला पानकोट पुलनजिक भीरबाट खसेको ढुंगा खसेर खड्काको टाउकोमा लागेको थियो । अचेत अवस्थामा रहेका खड्कालाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा ल्याइएको थियो ।
खड्काको मंगलबार साँझ डाक्टर वसन्त पन्त नेतृत्वको चिकित्सकको टोलीले टाउकोमा जमेको रगत निकालेर शल्यक्रिया गरे तापनि टाउकाको गम्भीर चोटका कारण २४ वर्षको अल्पायुमै मृत्यु भएको छ ।
०६२ मा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित सहकर्मी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका खड्का नयाँ पत्रिका दैनिकमा स्थापनाकालदेखि तथा माउन्टेन टेलिभिजन र धनगढीको दिनेश एफएममा कार्यरत थिए । उनी नेपाल पत्रकार महासंघ बझाङका सचिव र प्रेस चौतारी बझाङका उपाध्यक्ष हुन् । खड्काका पत्नी, नौ वर्षका छोरा र चार वर्षकी छोरी छन् । (सौस)

प्रतिक्रिया