टेबलटेनिस पदक विजेता पुरस्कृत

काठमाडौं : भारतको सिलोङमा भएको दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई अखिल नेपाल टेबलटेनिस संघले मंगलबार नगद पुरस्कारबाट सम्मानित गरेको छ । उक्त प्रतियोगितामा नेपालले २ रजत र ३ कांस्य जितेको थियो । जुनियर ब्वाइज टिममा विलोश श्रेष्ठ, मणि लामा र अनिश श्रेष्ठ तथा जुनियर ब्वाइज डबल्समा मणि र अनिशले रजत जितेका थिए । त्यस्तै जुनियर गल्र्स टिममा काजोल रौनियार, मनिता चित्रकार र सुनीता लामा, जुनियर गल्र्स डबल्समा काजोल र सुनीता तथा क्याडेट गल्र्स टिममा सोनु थापा मगर र स्वीकृति श्रेष्ठले कांस्य जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले रजतधारीलाई ५ हजार तथा कांस्यलाई ३ हजार नगद प्रदान गर्नुका साथै पदक पनि लगाएका थिए । उक्त कार्यक्रममा खेलाडीका अविभावकले पदक नलिई प्रतियोगिता आयोजना स्थलबाट टोली फर्केकोमा असन्तुष्टि जाहेर गरेका थिए ।
सदस्य–सचिव लामाले उक्त घटना अत्यन्तै दुखपूर्ण भएकोले संघले सार्वजनिक रुपमै कमी कमजोरी भएको स्वीकार गर्नुपर्ने बताउदै गल्ती गर्नेलाई प्रकृयागत रुपमा कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरे । टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंहले घटनाका सम्बन्धमा बैठक बस्ने र त्यसमा अविभावकलाई पनि बोलाएर छलफल गर्ने बताए ।
आउने टिकट पहिलै नै बुक भइसकेको र प्रतियोगिताको समापन जुन १९ तारिख अपरान्ह ५ बजेका लागि तोकिएकोमा अतिथिको आगमनमा केहि समय ढिला भएकोले सोही दिन साँझ ७:२५ बजेसम्म पनि कार्यक्रम नसकिएको हुँदा टिम फर्कनु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । (सौस)

प्रतिक्रिया