‘निजी अस्पतालका तुलनामा सुमेरु सस्तो छ’

सुमेरु अस्पतालबारे के भन्नुहुन्छ ?
सुमेरु अस्पताल आजभन्दा चार महिना अघिदेखि सञ्चालनमा आएको हो । यसले सम्पूर्ण सेवा दिन थालेको एक महिना मात्र भएको छ । आवश्यक दक्ष जनशक्ति र पूर्वाधार विस्तारमा अस्पताल जुटेको छ । ललितपुरको धापाखेल–१ सञ्चालनमा रहेको यस अस्पतालले ललितपुरका ग्रामीण भेगका लाखौँ सर्वसाधरण अस्पतालको उच्च सुविधा पाउने छ । विरामीलाई टाढा पुर्‍याइरहँदा जोखिम हुने भएकाले यस क्षेत्रका बिरामीका लागि लक्षित गरी स्थापना गरेका हौँ । हाल अस्पताल एक सय शैय्या सञ्चालन गर्ने स्वीकृति पाएअनुसार सञ्चालनमा ल्याएका छाँै ।
कस्तो सेवाप्रदान गरेको छ त ?
नेपालमा उपचार हुने सबैजसो सेवा प्राप्त गर्न सक्छन् । सम्पूर्ण रोगको एउटै छानामुनि सेवा पुर्‍याउने उद्देश्यअनुरूप हामीले सेवा दिँदै आएका छौँ । अस्पतालबाट मुटुरोग, छाती रोग, नाक, कान, घाँटी, पिसाब तथा युरोलोजी सेवा, क्यान्सर रोग, बाल रोग, हाड जोर्नी, दन्त रोग, आँखा, नशा छाला रोगको सेवा उपलब्ध छन् । त्यस्तै उच्च रक्तचाप, मधुमेह, पित्त थैलीको पत्थरी, मृगौला एवं पिसाब नलीको पत्थरी, स्त्री तथा प्रसूति सेवाका साथै जनरल मेडिकल तथा सर्जिकल स्वास्थ्य परीक्षणसम्बन्धी सेवा रहेका छन् ।
अस्पताल सञ्चालनको मुख्य उद्देश्य के हो ?
अस्पताल नाफामूलक नभई सेवामूलक संस्था हो । ललितपुर जिल्लाको सहरी र ग्रामीण क्षेत्र सबैजसो क्षेत्रलाई लक्षित गरी सञ्चालन गरेको छ । मध्यमवर्गका लागि सञ्चालनमा ल्याइएको यस अस्पताल अन्य निजी अस्पतालभन्दा सेवामा गुणस्तर र सस्तो पनि छ । सहरी भिडमा भन्दा पनि शान्त वातावरणमा बिरामीलाई उपचार गराउन पर्छ भन्ने मान्यताले धापाखेलमा स्थापना गरेका हौँ । नाफा कमाउनभन्दा पनि सेवा पुर्‍याउनु पर्छ भन्ने हाम्रो मान्यता रहेकाले गुणस्तर र सस्तो सेवा दिनेमा हामी प्रतिबद्ध छौँ । कोही पनि मानिस उपचार नपाएर अकालैमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।
बृहत् नि:शुल्क स्वास्थ्य परीक्षण चलाइरहेको यस अस्पतालमा बिरामीको सहभागिता कस्तो रहेको छ ?
नि:शुल्क स्वास्थ्यपरीक्षण सुरु भएको पहिलो दिन (मंगलबार) करिब २५ सय जनाले नाम दर्ता गराएका छन् । यो सहभागिता उल्लेख्य रूपमा हो । बिरामीको उल्लेख्य सहभागिताले १२ बजेदेखि नै नाम दर्ता रोक्नुपर्ने अवस्था आयो । पहिलो दिन १८८५ जनाको उपचार भएको छ । भोलिबाट (बुधबार) डाक्टरको संख्यालाई बढाएर बढीभन्दा बढी बिरामीको उपचार गर्ने छौँ । यक्त शिविरमा बाल रोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, दन्त रोग, नाक, कान, घाँटी आँखा, छाला, मुटु, नशा, छाती, पिसाब तथा युरोलोजी, क्यान्सर, पित्त थैलीको पत्थरी, मृगौला, जनरल मेडिकल, उच्च रक्तचाप तथा मधुमेहसम्बन्धी रोगबाट पीडित बिरामीको स्वास्थ्यपरीक्षण, परामर्श एवं उपचार दिएका छौँ । पहिलो दिन १८ जना डाक्टरले परीक्षण गराएकामा दोस्रो दिनबाट ३० जनाले उपचार गराउने छौँ । बिरामीलाई पाँच दिनसम्मको नि:शुल्क औषधि पनि वितरण गरेका छौँ । जसमा एक सय ५० जना बिरामीको जटिल शल्यक्रिया पनि गर्ने छौँ । त्यो पनि नि:शुल्क रूपमा । यो शिविर २६ भाद्रदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
यो सेवा सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?
बृहत् स्वास्थ्यपरीक्षण सेवा सञ्चालनका हाम्रा खास उद्देश्य छन् । यो अस्पताल सहरभन्दा अलि टाढा छ । अस्पताल केही समयअघि मात्र सञ्चालनमा आएका कारण सबै मानिसले यसबारे कमै थाहा हुनसक्छ । अस्पतालबाट प्रदान गरिने सेवा र अस्पतालबारे प्रचार–प्रसार गराउने उद्देश्य पनि हामीले यसमा आखेका छौँ । गरिब जनताले पनि सेवा पाउन सकुन् भन्ने उद्देश्य पनि यसमा रहेको छ । पैसा नभएर रोग लुकाएर बसेकालाई मध्यनजर गरी नि:शुल्क रूपमा जटिल अप्रेसन गर्ने हाम्रो योजना पनि यसमा रहेको छ ।
अस्पतालको संरचना कस्तो छ ?
संरचनामा हामी निजी स्तरबाट सञ्चालन भएका अस्पतालमध्ये उत्कृष्ट पाँचभित्र रहेका छौँ । हामीसँग दक्ष, अनुभवी डाक्टर तथा नर्स रहेका छन् । १५ रोपनीको क्षेत्रफलमा आफ्नै सुविधासम्पन्न भवन छ । बिरामीले कम मूल्यमा गुणस्तरीय सेवा पाउने छन् । सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको दुईवटा एम्बुलेन्स रहेका छन् र अस्पतालले त्यसैलाई प्रयोग गर्ने छ ।
अस्पतालको लगानी कति छ ?
अस्पताल सञ्चालनका लागि एक अर्बभन्दा बढीको लगानी रहेको छ । समयअनुकूल लगानी बढाई सेवामा जोड दिनेछौँ । करिब २० करोडको लागतमा सुमेरु सिटी सेन्टर पनि रहेको छ । एक सय शैय्या रहेकामा यसलाई तीन सय पुर्‍याउने र लगानी बढाउने सोच छ ।
अस्पतालको भावी योजना के छ ?
एक सय शैय्यालाई क्षमता वृद्धि गरी तीन वर्षभित्रमा तीन सय पुर्‍याउने योजना छ । पाँच वर्षभित्रमा सुमेरु मेडिकल कलेज खोल्ने योजना छ । जसका लागि जग्गा खरिद प्रक्रिया अघि बढिसकेको छ । जसमा विभिन्न विषयमा एक सयजना विद्यार्थीको सिट हुनेछ । त्यस्तै अस्पतालका लागि आवश्यक एम्बुलेन्स दुईवटा अपुग रहेकाले यसको खरिद प्रक्रियामा पनि रहेको छ । विभिन्न समयमा नि:शुल्क स्वास्थ्यशिविर कार्यक्रमको आयोजना गर्दै लैजाने योजना छ ।
प्रस्तुति : काजी श्रेष्ठ

प्रतिक्रिया