छानबिन समिति बन्दै, प्रतिवेदन थन्क्याउँदै

काठमाडौं, २६ भदौ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन सञ्चालक मुकेश काफ्लेको संयोजकत्वमा रहेको समितिले ०६६ सालमा प्राधिकरणले खरिद गरेका अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको छ ।
प्रतिवेदनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको वर्कसप निर्माण गर्नुपर्ने तथा त्यसका लागि प्राधिकरणको लैनचौर र हेटाँैडाको वर्कसपलाई ट्रान्सफर्मरको जाँच गर्नसमेत सक्ने गरी अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने सुझाव दिएका हो । पछिल्ला सञ्चालकले त्यो प्रतिवेदनलाई वेवास्ता गर्दै थन्काइदिए । त्यो प्रतिवेदनलाई कार्यान्वयन गरेको भए अहिले प्राधिकरणभित्र गुणस्तरहीन ट्रान्सफर्मर प्रकरण मच्चिने थिएन ।
पुन: २५ चैत ०६८ मा प्राधिकरण सञ्चालक सदस्य डा.केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन गर्न अर्को समिति बन्यो । समितिले ०६४ सालयता नेपाल आयात गरेका अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन रहेको प्रतिवेदन दियो । प्रतिवेदनमा नेपाल एकरात इन्जिनियरिङ पिभिटी नेपाल र निङगा एयुएस हाइ टेक्नोलोजी कम्पनी चीनको एक सय केभिएका ट्रान्सफर्मर गुणस्तरयुक्त भए पनि उक्त कम्पनीकै ५० केभिएका ट्रान्सफर्मर तथा हु वेई सनलाइट इलेक्ट्रिक कम्पनी, एसभिआर इलेक्ट्रिक कम्पनी भारत, सेनियाङ डोङनेङ इलेक्ट्रिक कम्पनी र सहाभान्त इलेक्ट्रिक कम्पनी थाइल्यान्डका ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा करिब साढे ६ हजार ट्रान्सफर्मर गुणस्तरहीन रहेको उल्लेख छ ।
ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदनपछि प्राधिकरणले पुन: वितरण तथा ग्राहकपूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्माको संयोजकत्वमा गत असार ५ गते अर्को समिति बनायो । समितिले २४ असारमा प्रतिवेदन दिएपछि फेरि ट्रान्सफर्मर प्रकरणमा कर्मचारीको संलग्नताबारे छानबिन गर्न प्राधिकरण सञ्चालक समितिले पुन: सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा असार २५ गते अर्को समिति गठन गर्‍यो । समितिले प्रतिवेदन नदिँदै प्राधिकरण सञ्चालक समितिले वितरण तथा ग्राहक शाखा पश्चिमका महाप्रबन्धक उपेन्द्रदेव भट्टको संयोजकत्वमा एक हप्ताअघि अर्को समिति गठन गरिएको छ । ०६६ सालमा एउटा र त्यसपछि ट्रान्सफर्मर गुणस्तरबारे छानबिन गर्न चार समिति बनिसकेका छन् । ‘लाखौँ खर्चेर एउटा समितिले प्रतिवेदन बनाउँछ, फेरि त्यो थन्किन्छ, फेरि अर्को बनाइन्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले थपे, ‘काफ्ले प्रतिवेदन नथन्काएको भए अहिले ट्रान्सफर्मर प्रकरणबाट प्राधिकरणको बेइज्जत हुने थिएन, फेरि दुलालको प्रतिवेदन आएपछि धेरै समिति बनाउनुपर्ने आवश्यकता थिएन ।’
करिब १६ करोडमा टेन्डर भई चीनको हु वेईमामार्फत ल्याइएका ट्रान्सफर्मरमा तामा प्रयोग गर्नुपर्ने भए पनि भित्र आल्मुनियम हालेर बदमासी गरिएको भेटिएपछि ट्रान्सफर्मर प्रकरण चर्किएको छ । अहिले प्राधिकरणभित्र यसमा संलग्नमाथि कारबाहीको माग बढेको छ । ‘अहिले त प्राधिकरणमा प्रतिवेदनको चाङ बढेको छ, प्रतिवेदनभन्दा पनि ऋणमा डुबेको प्राधिकरणलाई माथि उठाउनका लागि तुरुन्तै कारबाही गर्नुपर्छ, अहिलेका प्रतिवेदन विगतमा जस्तो थन्किने प्रतिवेदन बन्नु हुँदैन, समितिमाथि समिति गठन गर्दै गएर कतै प्रतिवेदन थन्काउन खोजेको त होइन भन्ने आशंका बढेको छ, अब त्यस्तो नहोस्,’ उनले भने । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर गुणस्तरहीन प्रकरणमा चासो दिएकोले बदमासी हुनेमाथि कारबाही हुने आशामा प्राधिकरणका धेरै कर्मचारी छन् ।
०६४ साल यता प्राधिकरण खरिद गरेका अधिकांश ट्रान्सफर्मरको छानबिन भए पनि दुई कम्पनीबाट ल्याइएका ट्रान्सफर्मर छानबिनमा नपरेको प्राधिरकरण स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ट्रान्सफर्मर गुणस्तरहीन रहे पनि चीनको पिपल्स एप्लाइङ चाइन नेसनल कम्पनीबाट ०६५/६६ मा ल्याइएका १०७३ थान र ०६७/६८ मा सिचुवान डङफाङबाट ल्याइएका ५७५ थान ट्रान्सफर्मर छानबिनमा नपरेका हुन् । ती ट्रान्सफर्मरसमेत छानबिन गर्नुपर्ने माग प्राधिकरणभित्र बढ्न थालेको छ ।
प्राधिकरणका उच्च व्यक्ति पर्ने हुनाले चीनकै सिचुवाङडङफोङ कम्पनीबाट ल्याइएका ट्रान्सफर्मर समितिको छानबिनमा नपरेको उनीहरूको दाबी छ । डा. दुलालको प्रतिवेदनमा समेत ट्रान्सफर्मर परीक्षणका लागि उपलब्ध नभएकाले छानबिन नभएको उल्लेख छ ।

अख्तियारको २४ घन्टे पत्र

काठमाडांै : ट्रान्सफर्मर खरिदमा अनियमितताको आशंका गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फाइल मगाए पनि नेपाल विद्युत् प्राधिकरणले अटेर गरेको भन्दै सोमबार २४ घन्टे पत्र पठाएको छ ।
चीनको हुबेई सनलाइट इलेक्ट्रिक कम्पनीमार्फत आयात गरिएका ट्रान्सफर्मर गुणस्तरहीन र कमसल भेटिएपछि गत भदौ १७ गते फाइल मगाएको थियो तर तीन दिनभित्र बुझाउन अख्यितारले दिएको निर्देशन प्राधिकरणले अटेर गरेपछि अख्तियारले अर्को पत्र पठाएको हो । ‘हामीले २४ घन्टाभित्र फाइल पठाउन पुन: पत्र लेखेका छौँ,’ अख्तियारका एक अधिकारीले भने । सञ्चालक सदस्य पन्तको संयोजकत्वमा रहेको ट्रान्सफर्मर प्रकरणमा संलग्न कर्मचारीबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन दिइसकेकाले त्यो प्रतिवेदनसहित प्राधिकरणले मंगलबार अख्तियारमा बुझाउने कार्यक्रम रहेको छ ।

समितिले प्रतिवेदन बुझायो

काठमाडौं : गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा कर्मचारीको संलग्नताबारे छानबिन गर्न प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले सोमबार प्रतिवेदन बुझाएको छ ।
गत २५ चैतमा प्राधिकरण सञ्चालक सदस्य डा.केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन गर्न गठित समितिले अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन रहेको प्रतिवेदन दिएपछि पन्तको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले ट्रान्सफर्मर प्रकरणमा दोषी कर्मचारीको नामावलीसहित पेस गर्न भनिएको थियो ।
समितिले सोमबार प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जासचिव हरिराम कोइरालालाई प्रतिवेदन बुझाएको समिति स्रोतले जनाएको छ । तर, दोषी कर्मचारीको नामावली भने अतिगोप्य राखिएको छ । अतिगोप्य राखिएको उक्त प्रतिवेदन मंगलबार हुने प्राधिकरण सञ्चालक समितिको बैठकमा पेस गर्ने स्रोतले बताएको छ । प्रतिवेदनमा ट्रान्सफर्मर जाँचका लागि विदेश गएका तथा त्योबेलाका सम्बन्धित विभागका प्रमुखलाई काुबाहीका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ । सबै नाम भने गोप्य राखिएको छ ।

प्रतिक्रिया