कार्टुनिस्ट पक्राउको सर्वत्र विरोध

नयाँदिल्ली : भारतका भ्रष्टाचारविरोधी कार्टुनिस्ट असिम त्रिवेदीलाई पक्राउ गरेको घटनाको सर्वत्र आलोचना हुन थालेको छ । भारतको राष्ट्रिय चिह्नको अपमान गरी राष्ट्रद्रोह गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
भारतीय संविधानको अवमूल्यन गरेको र आफ्नो वेबसाइटमा देशद्रोही सामग्री प्रकाशन गरेको आरोप उनीमाथि लागेको छ । उनलाई २४ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिने सोमबार तय भएको छ । भारतको राष्ट्रिय झन्डाको अपमान गरेको आरोपसमेत उनीमाथि लागेको छ । आइतबारको एक भारतीय पत्रिकामा उनले भारतमा भ्रष्टाचार व्यापक भएको र भारतीय संसद् ठूलो शौचालयजस्तो भएको चित्रण हुनेगरी कार्टुन बनाएका थिए । उनीमाथि सरकार र संसद्को मानहानी गरेको अरोपसमेत लागेको छ ।
भारतका भ्रष्टाचारविरोधी अभियान्ता अन्ना हजारेको नेतृत्वमा आरम्भ भएको भ्रष्टाचारविरोधी आन्दोलनमा कार्टुनिस्ट त्रिवेदीले सक्रिय सहभागिता जनाउँदै आएका थिए । हजारे समूहले सरकारको चर्को आलोचना गरिरहेका सन्दर्भमा त्रिवेदीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध लिने उद्देश्यले चालिएको कदमसँग धेरैले तुलना गरेका छन् ।
भारतीय प्रेस काउन्सिलका प्रमुख मर्कन्डे कट्जुले त्रिवेदीले गैरकानुनी काम नगरेकाले उनलाई पक्राउ गर्नु ठीक नभएको बताएका छन् । ‘निर्दाेष व्यक्तिलाई पक्राउ गर्नु भारतको दण्ड संहिताअन्तर्गत अपराध हो । त्यसैले त्रिवेदीलाई पक्राउ गर्नेलाई पनि पक्राउ गर्नुपर्छ,’ उनले भने । भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका कट्जुले कार्टुन बनाउनु अपराध नभएको बताउँदै राजनीतिज्ञमा आलोचना सहने स्वभावको विकास हुनुपर्ने उल्लेख गर्दै जथाभावी पक्राउ गरी स्वेच्छाचारिता प्रदर्शन गर्ने काम प्रजातन्त्रमा स्वीकार्य नहुने प्रस्ट पारेका छन् ।
त्रिवेदीलाई पक्राउ गरी सरकारले निरंकुशता प्रदर्शन गरेको भन्दै संसद्को स्वस्थ आलोचना गर्न पाउने छुट हुनुपर्ने माग भारतमा उठ्न थालेको छ । भ्रष्टाचारको विरोधमा लागेका मानिसले त्रिवेदी पक्राउको चर्को आलोचना गरेका छन् । पत्रकारलाई पक्रेर सरकारले भ्रष्टाचारविरोधी अभियानमा लागेकालाई तर्साउन खोजेको आरोप उनीहरूले लगाएका छन् ।
हिरासतमा रहेका त्रिवेदीले भने, ‘यदि सरकारले मलाई साँचो कुरा लेखेको र सत्य चित्रण गरेको आरोपमा देशद्रोही ठहर गर्छ भने ठीक छ, म सजाय भोग्न तयार छु ।’ देश र जनतालाई भ्रष्टाचारजस्तो जघन्य अपराधबारे सुसूचित गराउने काममा संलग्नलाई देशद्रोही साबित गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको जिकिर गर्दै उनले आफ्नो कामका लागि माफी नमाग्ने प्रस्ट पारेका छन् ।
त्रिवेदीमाथि लागेको आरोप प्रमाणित भए उनलाई तीन वर्षको जेल सजाय हुनेछ । मुम्बईका अधिवक्ताले उजुरी हालेपछि त्रिवेदीलाई पक्राउ गरिएको थियो । त्रिवेदीका कार्टुन भारतविरोधी भएको जिकिर गर्दै ती अधिवक्ताले उजुरी हालेका थिए । त्रिवेदीको कार्टुन प्रकाशन गर्ने एउटा वेबसाइटमाथि यस वर्षको आरम्भमै प्रतिबन्ध लगाइएको थियो । यसअघि गत अप्रिलमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि व्यंग्य गरी कार्टुन बनाएको आरोपमा एक प्राध्यापकलाई पक्राउ गरिएको थियो । पक्राउको सर्वत्र आलोचना भएपछि उनलाई रिहा गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया