अलेप्पोमा पानीको हाहाकार

अलेप्पो : गृहयुद्धको दुश्चक्रमा फँसेको सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरियाली सैनिकले खानेपानीको पाइप नष्ट गरेपछि खानेपानीको हाहाकार मच्चिएको बताइन्छ । सहरमा विगत केही महिनायता सरकारी सैनिक र विद्रोहीबीच भीषण भिडन्त जारी छ । सहरको उत्तरी क्षेत्रमा रहेको खानेपानी आपूर्ति गर्ने ठूलो पाइपलाइन ध्वस्त भए पनि नगरमा पानी आपूर्ति ठप्प
भएको बेलायतसँग आबद्ध ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले जनाएको छ ।
स्थानीय मानवअधिकारवादीहरूका अनुसार विद्रोही र सैनिकबीच भिडन्त जारी रहँदै गर्दा सरकारी सैनिकले पाइपलाइनमा हवाई आक्रमण गरेको थियो । पानीको पाइप फुटेपछि स्थानीय घरघरका छिँडी र आँगनभरि खोला बगेको समाचारमा उल्लेख छ । युद्ध चर्किरहेकाले पाइप फुटेको स्थानमा मर्मतकर्मी पठाउन सकिने अवस्था छैन । त्यसले खानेपानीको आपूर्ति कहिले सुचारु हुन्छ भन्ने विषयमा तत्काल केही भन्न नसकिने स्थानीय खानेपानी कार्यालय प्रमुखले जनाएका छन् ।
सिरियामा शनिबार एक सय ३५ व्यक्तिको ज्यान गएको थियो । मारिनेमध्ये ६३ सर्वसाधारण, ३३ विद्रोही र ३९ सैनिक रहेको जनाइएको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलनमा २६ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अलेप्पो सहरका गभर्नरले भने खानेपानीको हाहाकार मच्चिएको र पानीमा विष मिलाइएको भन्ने समाचारको खण्डन गरेका छन् । गभर्नर मोहम्मद अकादले दुईवटा पानीका कल बिग्रिएकाले तिनीहरूको मर्मत भइरहेको जानकारी दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया