भारतमा एसपी–तस्कर वार्ता

रौतहट, २५ भदौ । जिल्लामा भर्खरै सरुवा भएर आएका सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक र संगठित तस्करहरूबीच तस्करीको लाइन सञ्चालन सम्बन्धमा भारतको मोतीहारीमा गोप्य वार्ता भएको खुलासा भएको छ । महिनौँदेखि बन्द रहेको तस्करी खुलाउन संगठित तस्करहरूले लामो समयदेखि प्रयास गर्दै आएका थिए ।

सशस्त्र सीमा सुरक्षा बल कार्यालय रौतहटका प्रमुख एसपी प्रेमराज पोखरेलले सीमापारि भारतको मोतीहारीमा गई वार्ता गरेको स्रोतले बतायो । बिहान साढे पाँच बजे भारतीय सिमाना काटेका पोखरेलले मोतीहारी जान भारतीय नम्बरकै गाडी प्रयोग गरेका थिए । त्यहाँ दुई घन्टा लामो वार्ता ‘सकारात्मक’ भएपछि तस्करहरूसँगै भारतीय सामान खरिदारी गरी पोखरेल अबेर साँझ रौतहट फर्किएका थिए ।
प्रहरी उपरीक्षक पोखरेल भारत गएको बारे उच्चाधिकारीलाई औपचारिक जानकारी थिएन । ‘प्रउ पोखरेल विभागलाई थाहा नदिई भारत गएको जानकारी पाएका छाँै,’ मध्यक्षेत्र रुद्र बाहिनीका डिआइजी सुशील श्रेष्ठले भने । कार्यालयलाई जानकारी नदिई भारत जानुपर्ने कारण खुलाई जवाफ पठाउन स्पष्टीकरण काटिएको उच्च प्रहरी स्रोतले बतायो । जिल्लामा रहेका उच्चाधिकारीहरूले जिल्ला छाड्नुपर्दा आफ्ना सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने प्रावधान छ । नयाँ एसपी आएसँगै रौतहटमा तस्करको मोलतोल बढ्ने गर्छ । सुरुमा निकै कडा देखिएर तस्करी हुन दिन्न भन्दै उनीहरू आफ्नो मोल बढाउँछन् । ‘आइजिपी तथा एआइजीको खास मान्छे हुँ भन्दै व्यापारी र पत्रकारलाई तर्साउने गरेको सुनेको छु,’ डिआइजी श्रेष्ठले भने ।

महिनावारी हिसाबमा सदरमुकामबाहिरको बाटो भएर कारोबार गर्ने सहमति सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले जनाएको स्रोतको भनाइ छ । सहमतिपछि अहिले निर्वाध रूपमा तस्करीको माध्यमबाट धमाधम मालसामान नेपाल भित्रिने कार्य तीव्र बनेको छ । सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले अहिले रातभरि रौतहटका विभिन्न नाकाबाट अवैध भारतीय सामान ओसारपसार गरिराखेका छन् । भारतीय चिनी, लत्ताकपडा, मोटरपार्टसलगायत अन्य सामान भन्सार नै नकाटी रौतहटका विभिन्न नाकाबाट ट्रयाक्टरमा ओसारिरहेका छन् ।
नेताहरू लाइन खोलाउन असफल भएपछि तस्करले आफँै एसपी पोखरेलको राजीखुसीमा गत १७ गते शनिबार भारतको मोतीहारीमा वार्ता गर्ने सहमति भएको थियो । शनिबार बिहान साढे पाँच बजे पोखरेल सदरमुकाम गौरको भन्सार कार्यालय हँुदै बैगनियाको बाटो मोतीहारी गएका थिए ।
पोखरेल सादा पोसाकमा विनासुरक्षागार्ड सीमापारि गइरहेको देख्दा भारतीय सञ्चारकर्मीले मोतीहारीसम्म पछ्याएको स्रोत बताउँछ । आफ्नै एक सिपाहीको भारतीय नम्बरको मोबाइल सेट बोकेर उनी भारत गएका थिए । यता सोही समय उनको कार्यालयको फोन नम्बर ०५५५२१३४६ मा फोन सम्पर्क गर्दा एसपी पोखरेलका अंगरक्षक सशस्त्र प्रहरी हवल्दार प्रेम राणाले जिल्लामा रहेका बिओपीहरू निरीक्षण गर्न जानुभएको बताइरहेका थिए ।

प्रतिक्रिया