सुन व्यापारी एक सातादेखि बेपत्ता


विराटनगर : मोरङको बयरवनका एक व्यापारी एक सातादेखि परिवारको सम्पर्कबाहिर छन् । बयरवन–७ रमाइलोस्थित निवासदेखि उपचारका लागि भन्दै १६ भदौमा झापाको दमकतर्फ लागेका सुन व्यवसायी ४८ वर्षीय इन्द्र गहतराज अझै घर फर्किएका छैनन् । दमकस्थित आम्दा अस्पतालमा उपचार गराउन भन्दै त्यसतर्फ गएका गहतराज अहिलेसम्म घर नफर्किएका र आफन्तको सम्पर्कमा पनि नरहेको उनकी पत्नी मीनाले बताइन् ।
बेपत्ता गहतराजका परिवारले पत्रकार सम्मेलन गरी उनको खोजी गरिदिन प्रहरीलगायत सञ्चारकर्मी तथा अधिकारकर्मीलाई आग्रह गरेको छ । उनी अपहरणमा परेको हुनसक्ने परिवारको आशंका छ । उनका दाजु कुलबहादुरले भाइ मिलनसार रहेको उल्लेख गर्दै अहिलेसम्म उनको कोहीसँग सामान्य विवादसमेत नपरेको दाबी गरे । गहतराज बेपत्ता भएपछि पत्नी मीना समयसमयमा मुर्छा पर्ने र खानासमेत नखाने गरेकाले चिन्ता थपिएको भाइ खगेन्द्र बराइलीले बताए ।
यसैबीच गहतराज बेपत्ता भएको विषयमा अनुसन्धानका लागि भन्दै इलाका प्रहरी कार्यालय पथरीले कालीगड पथरी–२ का ३८ वर्षीय उत्तम गतहराजलाई नियन्त्रणमा लिएको छ । (सौस)

प्रतिक्रिया