पहिलो रोटरी पौडी सम्पन्न

काठमाडौं, २४ भदौ । ६ स्वर्ण र १ रजत जित्दै पाठशाला स्कुलकी राशिका पौडेल लेक्स फिटनेस सेन्टरमा शनिबार आयोजना भएको पहिलो अन्तररोटरी पौडी प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी छन् । काठमाडौंका १५ विद्यालयका ४४ खेलाडीसहित रोटरियनका १० केटा–केटी सहभागी यस प्रतियोगितामा राशिकाले १२ वर्षमुनि र ओपन प्रतिस्पर्धामा कुल ७ पदक जितिन् ।
रोटरी क्लब अफ दरबारमार्गको आयोजनामा एकदिने यस प्रतियोगितामा पाठशाला स्कुलकी अनसिता गिरीले १० वर्षमुनि उमेरसमूहमा २ स्वर्ण र २ रजतसहित ४ पदक जितिन् । यस प्रतियोगितामा १० वर्षमुनि पुरुष स्पर्धामा भ्याली भ्युका तरुण भण्डारीले स्वर्ण जिते । १२ वर्षमुनि ५० मिटर फ्री–स्टाइलमा हिम्सका छिरिङ छोम्बी पहिलो भए । यसै स्पर्धाको खुलातर्फ देवेश मानन्धरले स्वर्ण जिते । रोटरी डिसी योगेन्द्रमान प्रधानले लन्डन ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल श्रेया धिताललाई यसै अवसरमा सम्मान गरेका थिए ।

प्रतिक्रिया