स्वास्थ्य चौकी भवन निर्माण नहुँदा समस्या

पाँचथर, २४ भदौ । रानीटार गाउँ विकास समितिमा रहेको उपस्वास्थ्य चौकी भवन निर्माण कम्पनीले निर्माण नगर्दा सेवाग्राही मारमा परेका छन् । भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय इलामअन्तर्गत रहेर एक करोड ६६ लाख रुपियाँको लागतमा गौरी–पार्वती नीलगिरि जेभी निर्माण कम्पनीले ०६७ मै निर्माणको जिम्मा पाएको थियो । ४ साउन ०६८ मा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको ठेकेदार कम्पनीले भवन निर्माण सम्पन्न नगर्दा स्वास्थ्य सेवा वितरणमा समस्या उत्पन्न भएको छ ।

निर्माण कम्पनीले बीचैमा काम छाडेपछि भवन खण्डहर बनेको छ । भवन निर्माण नभइसकेकोले स्वास्थ्य चौकीले व्यक्तिका घरमा सानो कोठा भाडामा लिएर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । बिरामी बढ्ने यो सिजनमा स्वास्थ्य सेवा दिने काममा असहजता उत्पन्न भएको उपस्वास्थ्य चौकीका प्रमुख दयाशेखर मिश्रले बताए । सानो कोठामा काम गर्नुपर्दा काममा असहजता भएको उनले बताए ।
भवन निर्माणपछि प्रसूति सेवासमेत प्रदान गर्ने तयारी भएको थियो । निर्माण कम्पनीले भवनको पहिलो तलाको निर्माण आधासम्म पुर्‍याएर काम छाडेको छ । भवन निर्माण रोकिँदा विकासको काम अवरुद्ध हुनुका साथै स्थानीयले सहज वातावरणमा पाउनुपर्ने मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा पाउन कठिनाइ उत्पन्न भएको गाविस सचिव जंगबहादुर राईले बताए । राईका अनुसार प्रसूति सेवाका लागि छुट्टयाएको रकमसमेत फ्रिज भएको छ ।
तत्काल भवन निर्माणको काम थालिनुपर्ने स्थानीयको माग छ । ‘सम्बन्धित निकायले पहल गरेर भवन निर्माणको काम सुचारु गर्नुपर्छ,’ स्थानीय नूतन गुरुङले भने, ‘जनतालाई सहज स्वास्थ्य सेवा लिने कामबाट विमुख पारिनुहँुदैन ।’
भवन नहुँदा औषधिलगायतका सामग्री राख्न पनि असहज भइरहेको चौकीका कार्यालय सहायक बालानन्द बाँस्कोटा बताउँछन् ।

प्रतिक्रिया