“बलिउड अन्धविश्वासी”

बलिउड अभिनेत्री विपाशा बसुले बलिउड फिल्म उद्योगमा धर्म र अन्धविश्वास व्याप्त रहेको बताएकी छन् । फिल्म रिलिज हुनुअघि अभिनेता, अभिनेत्रीले धार्मिक मठमन्दिर, मस्जिदआदि भ्रमण गर्ने गरेको प्रसंग कोट्याउँदै उनले बलिउडलाई धार्मिक र अन्धविश्वासीको संज्ञा दिएकी हुन् ।
मधुर भण्डारकरको फिल्म ‘हिरोइन’ का गीत मुम्बइस्थित सिद्धिनायक मन्दिरबाट सार्वजनिक गर्ने तयारी भइरहँदा विपाशाले यस्तो टिप्पणी गरेकी हुन् । यसअघि एकता कपुरले ‘क्या सुपर कुल हे हम’ फिल्म सार्वजनिक गर्नुअघि अजमेर सारिफ दर्गाह दर्शन गरेकी थिइन् । फिल्मप्रति विभिन्न धर्मालम्बीको समर्थन जुटाउन बलिउडकर्मीले यस्तो भ्रमण गर्ने गरेका छन् ।
यसबारे टिप्पणी गर्दै विपाशाले भनिन्, ‘धर्म र अन्धविश्वास हाम्रो देशमा गडिएर रहेका छन् । व्यापार व्यवसायमा पनि यसले प्रभाव जमाएको छ । हामी कलाकार बढी पूजा आराधाना गर्छौँ । फिल्म सार्वजनिक गर्नुअघि मन्दिर, मस्जिद धाउने गरेका छौँ ।’ यस्ता कार्यले कलाकारको कमजोर पाटो उजागर भएको उनको कथन छ । ‘हामी स्वार्थी मानिस नहुन सक्छौँ । तर, हामी ख्याति कमाउने उद्देश्यले त्यहाँ गएका हुन्छौँ,’ उनले भनिन् । यद्यपि, यसलाई आफूले नराम्रो रूपमा नलिएको भने उनले प्रस्ट पारिन् । (एजेन्सी)

प्रतिक्रिया