प्रहरी पुगेपछि आन्दोलनकारीले खोले न्याम्सको ताला

काठमाडौं : एमाओवादीनिकट कर्मचारी संगठनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा लगाएको ताला नौ दिनपछि प्रहरी घेराबीच खोलिएको छ ।
सर्वोच्च अदालतले ताला तत्काल खोल्न सोमबार नै अन्तरिम आदेश दिए पनि आन्दोलनरत पक्षले भने आदेशको पालना गरेका थिएनन् । अदालतको मानहानि गरेको भन्दै एमाले र कांग्रेसनिकट कर्मचारी संगठनले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि बिहीबार सुरक्षाकर्मीको बीचमा आन्दोलनरत पक्षले नै ताला खोलेका हुन् ।
अधिवक्ता कमलनारायण दासको एकल इजलासले सोमबार अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कुनै किसिमको बाधाअड्काउ हुन नहुने भन्दै न्याम्स कार्यालयमा लगाएको ताला खोल्न तत्काल आदेश दिएको थियो । आन्दोलनरत संगठनका प्रतिनिधिले भने बिहीबार दिउँसोसम्म पनि अदालतको पत्र नआइपुगेको भन्दै तालाबन्दीलाई निरन्तरता दिएका थिए ।
ताला खोलिएसँगै न्याम्सका उपकुलपति डा. दामोदर पोखरेल नौ दिनपछि प्रहरी घेराबाटै कार्यालय प्रवेश गरेका छन् । उपकुलपतिको राजीनामा माग्दै आएका कर्मचारी संगठनले अवरोध पुर्‍याउने थाहा पाएपछि उपकुलपति डा. पोखरेल प्रहरी भ्यानमै कार्यालय प्रवेश गरेका हुन् । न्याम्सका रेक्टर डा. श्रीकृष्ण गिरी र वीर अस्पतालको ग्यास्ट्रो विभागका डा. जैनेन्द्र चौधरीबीच हात हालाहाल भएको विषयमा एमाओवादीसम्बद्ध संगठनले १२ गतेदेखि न्याम्स कार्यालय बन्द गरेका थिए । (सौस)

प्रतिक्रिया