‘एसएमएस’ पछि गठबन्धनको बैठक स्थगित

काठमाडौं, २१ भदौं । सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी दलहरुको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
एमाओवादीको पार्टी मुख्यालय कोटेश्वरमा आजका लागि बोलाईएको गठबन्धनको बैठक अनिश्चितकालका लागि स्थगित भएको समिति सदस्य तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट)की अध्यक्ष रुक्मीणि चौधरीले जानकारी दिईन । ‘आजका लागि तय भएको गठबन्धनको बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित भएको एसएमएस मोबाईलमा आएको छ,’ उनले भनिन्, ‘अर्को बैठक कहिले बस्छ केही भनिएको छैन ।’
बैठकमा मुलुकको निकास तथा गठबन्धनका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुसँग गरेका सम्वाद र परामर्शका बिषयमा छलफल हुने कार्यक्रम थियो ।
उता, राष्ट्रपति डा.रामवरण यादवसँग गठबन्धनका साना आठ दलहरुले भेट गरेकोमा एमाओवादी अध्यक्ष दाहाल असन्तुष्ट भएका छन् ।
गठबन्धनका साना दलले राष्ट्रपति डा.यादवलाई बुधबार भेट गर्न जानथालेको सुईको पाएपछि दाहालले दलित जनजाति पार्टीका अध्यक्ष विश्वयन्द्र पाश्वानलाई मोवाईलमा फोन गरेर नभेट्न दबाव दिएको स्रोतले जनाएको छ । दाहालको दबाव पछि पाश्वानले आफूहरुलाई आशंका नगर्न आग्रह गरेका थिए ।
दाहालको दबावको वेवास्ता गर्दै साना आठ दलका अध्यक्ष र तिनका प्रतिनिधिहरुले डा.यादवसँग बुधबार शीतल निवासमा भेटगरेर मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श गरेका थिए ।
भेटमा डा.यादवले आफू अध्यादेशबाट मुलुक चलाउन दिने पक्षमा नरहेको धारणा राखेको एक सदस्यले जानकारी दिए ।
‘मैले अध्यादेश जारी गर्न नमान्दा पनि सरकारले सिफारिस गरेको गरै छ,’ आफ्ना अभिव्यक्ति सार्वजनिक नगर्न राष्ट्रपति डा.यादव गरेको आग्रहलाई उदृत गर्दै एक सहभागीले भने, ‘मुलुकलाई निकास दिन र दलहरुलाई दबावमा राख्न सबै मिलेर केही गर्नै पर्छ ।’
डा.यादवले संविधानका विवादित विषयमा सहमति जुटाएर नयाँ संविधान जारी गर्ने भएमा सबै दलहरुलाई राष्ट्रपति कार्यालय परिसमै बस्ने व्यवस्था मिलाएर सहयोग गर्न तयार रहेको समेत साना दलहरुसँग धारणा राखेको स्रोतको भनाई छ ।
बुधबार राष्ट्रपति डा.यादवसँग भेट गर्न दलित जनजाति पार्टीका अध्यक्ष विश्वयन्द्र पाश्वान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट)की अध्यक्ष रुक्मीणि चौधरी, जनता दल युनाईटेडका उपाध्यक्ष किरण थापा मगर, चुरे भावर राष्ट्रिय एकता पार्टीका हिमालयभक्त प्रधानाङग, नेकपा माले समाजवादीका प्रतिनिधिलगायतका दल र तिनका प्रतिनिधिहरु गएका थिए ।

प्रतिक्रिया